Logo

एक दिनमै विक्री हुन्छ १४ हजार थान मोवाइल, ३४ प्रतिशतले बढ्यो आयात

एक दिनमै विक्री हुन्छ १४ हजार थान मोवाइल, ३४ प्रतिशतले बढ्यो आयात


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । पछिल्लो समय मोवाइल फोन आयात उच्च रुपमा बढेको छ । हाल दैनिक १४ हजार थान मोवाइल फोन विक्री हुने गरेको छ ।

laxmi

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको चैतसम्ममा कुल ३८ लाख ३९ हजार थान मोवाइल सेट भित्रिएको छ । यसलाई आधार मान्दा प्रतिदिन उक्त संख्यामा मोवाइल फोन विक्री हुँदै आएको छ ।

चालू आवमा गत आवको सोही अवधिको तुलनामा झण्डै १० लाख थानले बढी मोवाइ फोन नेपाली बजारमा भित्रिएको छ । नेपालमा गत आवको सोही अवधिमा २८ लाख ६२ हजार थान मोवाइल आयात भएको थियो । यो संख्या ३४ प्रतिशतले बढी हो ।

यसैगरी, सो अवधिमा १३ अर्ब १८ करोड रुपैयाँ बरावरको मोवाइल सेट आयात भएको छ । यो रकम गत आवको तुलनामा ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा कुल १० अर्ब ११ करोड रुपैयाँ बरावरको मोवाइल फोन आयात भएको थियो ।

नेपाल भित्रने कुल मोवाइल फोन मध्ये झण्डै ९० प्रतिशत मोवाइल फोन चीनबाट आयात हुँदै आएको छ । कुल ३८ लाख ३९ हजार सेटमध्ये चीनबाट ३४ लाख ५४ हजार मोवाइल फोन आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यसैगरी, भेतनामबाट दोस्रो बढी ३ लाख २६ हजार थान सेट फोन भित्रिएको थियो भने भारतबाट ५५ हजार थान मोवाइल फोन भित्रिएको छ ।

पछिल्लो समय नेपालीहरुमा मोवाइल फोन अत्यावश्यक बस्तु भएकाले आयात बढिरहेको सामसुङ मोवाइलको आधिकारीक विक्रेता आईएमएस ग्रूपमा अध्यक्ष दिपक मलहोत्राले बताए । साथै मोवाइल फोन फेसनको रुपमा पनि प्रयोग हुन थालेकाले आयात बढ्न गएको उनी बताउँछन् । ‘पहिला एउटा फोन ३÷४ वर्ष चलाउथे तर, अहिले बढीमा १ वर्षमा परिवर्तन गर्ने ट्रण्ड बढेको छ,’ उनले भने, ‘जसले गर्दा आयात बढेको हो ।’

यसैगरी पछिल्लो समय स्मार्टफोनमा प्रयोग हुने विशेषता छिटो छिटो परिवर्तन हुने भएकाले पनि नयाँ फोन किन्ने क्रम बढेको हो । जसले गर्दा नयाँ विशेषता भएको फाने आउनेवित्तिकै पुरानो फोन परिवर्तन गर्ने क्रम बढेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL