Logo

सडकमा ड्राईभरको दादागिरी : ३६ पटकसम्म नियम उल्लंघन गर्दा पनि हुँदैन कारबाही, व्यवसायीको दबाबमा निलम्बित लाइसेन्स फिर्ता

सडकमा ड्राईभरको दादागिरी : ३६ पटकसम्म नियम उल्लंघन गर्दा पनि हुँदैन कारबाही, व्यवसायीको दबाबमा निलम्बित लाइसेन्स फिर्ता



काठमाडौं । काठमाडौंका सडकमा सवारीसाधन चलाउने चालकहरु धेरैजसो ५ भन्दा बढीपटक कारबाहीमा परिसकेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंकै सडकहरुमा ३६ पटकसम्म नियम उल्लंघन गरिसकेका चालकहरुले सवारीसाधन चलाउँदै आएका छन् ।

laxmi

सडकमा हुने दुर्घटना न्यूनिकरण तथा लापरबाही रोक्न ट्राफिक कार्यालयले ५ पटकभन्दा बढीपटक सडक नियम उल्लंघन गरेका सवारीचालकहरुको अनुमतिपत्र ६ महिनासम्म निलम्बन गर्ने प्रक्रिया गएको मंसिर १ देखि अघि बढाएको थियो । यहि प्रक्रिया अन्तर्गत कार्यालयले यातायात व्यवस्था विभागमा हालसम्म ४ सय २३ जना सवारीचालकको अनुमतिपत्र निलम्बन गर्नेगरी पठाईसकेको छ । तर, विभागले केहि समय अघि मात्रै निलम्बनका लागि ट्राफिकले पठाएका सबै लाइसेन्सलाई पुनः ट्राफिक प्रहरी कार्यालयमै पठाईसकेको छ । यसपश्चात हाल ट्राफिक कार्यालयले निलम्बनमा परेका लाइसेन्सहरु पुनः चालकलाई नै जरिवाना लिएर फिर्ता गर्दै आएको छ ।

गएको पुस ३ गतेदेखि ट्राफिक प्रहरी कार्यालयले विभिन्न कसुरमा पहिलोपटक नै अधिकतम जरिवाना १ हजार ५ सय रुपैयाँ लिने निर्णय गर्याे । त्यसैबेला कार्यालयले विभिन्न २० कसुरहरु ५ पटकभन्दा बढी गरेमा चालक अनुमतिपत्र नै ६ महिनाका लागि निलम्बन गर्ने निर्णय पनि गर्याे । यी सबै निर्णयबाट रुष्ट सार्वजनिक यातायात क्षेत्रका सरोकारवालाहरुले त्यसयता विभिन्न निकायहरु गुहारे । कहिले यातायात व्यवस्था विभाग त कहिले मन्त्रालय, कहिले यातायात कार्यालयहरुमा पनि गुहारेपछि ट्राफिक प्रहरी महाशाखा अधिकतम जरिवानाबाट भने पछि हटेको थियो । तर, ऐनमै भएको नियम भन्दै लाइसेन्स निलम्बनका लागि पठाउने निर्णयबाट भने कार्यालय पछि नहटेपछि यातायात मजदुरहरु नै आन्दोलित बनेका थिए ।

विशेषगरी यातायात व्यवस्था ऐन २०५३ मै विभिन्न २० कसुरहरु कुनै सवारी चालकले ५ पटकभन्दा बढी पटक गरेमा लाइसेन्स निलम्बन हुने व्यवस्था गरिएको छ । सिमित स्रोत र साधनको अभावमा हालसम्म ट्राफिक प्रहरीले मादक पदार्थ सेवा (मापसे) कसुरमा मात्रै यो व्यवस्था कार्यान्वयन गर्दै आएपनि अब भने अन्य कसुरमा पनि उक्त व्यवस्थाको कार्यान्वयन सुरु गरेको थियो ।

सोही अनुसार ५ देखि ३६ पटकसम्म कसुर गरिसकेका ४ सय २३ जना सवारीचालकको लाइसेन्स जफत गरेर कार्यालयले यातायात व्यवस्था विभागलाई पठाएको थियो । त्यसमध्ये धेरैजसो सार्वजनिक सवारीसाधन चलाउने चालकहरु थिए । ट्राफिक प्रहरी कार्यालयका अनुसार निलम्बनका लागि विभागमा पठाएका लाइसेन्स धनीहरु कोही ५ देखि ८, ९, १२, १६, २० २२, २५, ३२, ३० र ३६ पटकसम्म कारबाहीमा परिसकेका थिए ।

तर, यता यातायात क्षेत्रका व्यवसायीहरु भने ट्राफिकहरुले अनावश्यक रुपमा सवारीचालकलाई कारबाही गर्दै आएको बताउँदै आएका छन् । सामान्य रुपमा सडकमा गाडी साइड लगाएपछि पनि ट्राफिकले कारबाही गर्ने गरेकाले आफुहरु रुष्ट भएको यातायात व्यवसायी केन्द्रिय महासंघका महासचिव भरत नेपाल बताउँछन् ।

उनका अनुसार सानातिना गल्तीहरुमा पनि ट्राफिकले कारबाही गर्ने भएकाले यातायात क्षेत्रप्रति नै अन्याय भएको थियो । त्यसपश्चात व्यवसायीहरुले सवारीचालक अनुमतिपत्र निलम्बन नगर्नका लागि ट्राफिक प्रहरीलाई गुहारे ट्राफिकले मानेन । विभागलाई गुहारे विभागले पनि व्यवसायीका कुरा त सुन्ये तर ट्राफिकलाई लिखित निर्णय दिएन र अन्तिममा मन्त्रालयले नै विभागलाई निर्देशन दिएपछि विभागले निलम्बनका लागि आएका लाइसेन्सहरु फिर्ता गरिदिन भन्दै ट्राफिककहाँ बुझाएको थियो । हाल ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित सवारीचालकलाई अधिकतम अर्थात १ हजार ५ सय रुपैयाँ जरिवाना लिँदै लाइसेन्स फिर्ता गर्दै आएको छ ।

यसरी लाइसेन्स निलम्बनको व्यवस्था ऐनमै तोकिएको भएपनि व्यवसायीहरुले उच्च तहसँग लबिङ गरेरै निलम्बनमा परेका लाइसेन्सहरु फिर्ता ल्याउन सफल भए । यसले एकातिर यातायात व्यवस्था ऐनको धज्जी त उडेको छ नै ३६ पटकसम्म कारबाहीमा परिसकेका सवारीचालकले सडकमा अब सवारी चलाउँदा कसरी चलाउलान् भन्ने प्रश्नसमेत खडा गरिदिएको छ । यसै त सडकमा हेलचक्र्याईँ गरेर सवारीसाधन चलाउने सवारीचालकहरु झन कानुन नै नलाग्ने वा एक पटकको लबिङमै लाइसेन्स फिर्ता आउने भएपछि नियम नै नमान्ने समस्या बढ्दै जाने एक यातायात अभियन्ता बताउँछ ।

प्रतिक्रिया दिनुहोस्
MBL