Logo

नबिल र नेपाल बंगलादेश बैंकको आजदेखि हुने भनिएको एकीकृत कारोबारमा ढिलाई

नबिल र नेपाल बंगलादेश बैंकको आजदेखि हुने भनिएको एकीकृत कारोबारमा ढिलाई



काठमाडौं । बैंक तथा वित्तीय संस्था एकापसमा गाभिने क्रम पछिल्ला दिनमा वृद्धि भएको छ । नेपालको बैंकिङ इतिहासमा विशिष्ठ पहिचान बनाएको नबिल बैंकले अर्को ‘क’ वर्गको बैंक नेपाल बङ्गलादेश बैंकलाई गाभेको छ ।

एकापसमा गाभिएका बैंकले ‘नबिल बैंक लिमिटेड’ को नाममा आजदेखि एकीकृत कारोबार गर्ने भनिएपनि ढिलाई हुने भएको छ । दुवै बैंकको ग्राहक कारोबारको तथ्यांक सफ्टवेयरमार्फत एकीकृत गर्नको लागि डाटा माइग्रेशनको कार्य जारी रहेको हुँदा बैंकले सोमबार पनि बैंकका सम्पूर्ण सेवा तथा कारोबार बन्द रहने जानकारी गराएको हो ।

सो अनुसार दुवै बैंकको एकीकृत कारोबार आज सुरु नहुने भएको हो । उक्त समयमा दुवै बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने सूचनामा जनाइएको छ। नेपाल राष्ट्र बैंकको नियमन विभागले बैंकलाई यही असार २७ गतेदेखि एकीकृत कारोबारका लागि अनुमति प्रदान गरेको थियो ।

“बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने-गाभिने (मर्जर) तथा प्राप्तिसम्बन्धी नियमावली, २०७३ बमोजिम’ केन्द्रीय बैंकले एक सूचनामार्फत जानकारी दिएको थियो ।

यही असार १५ गतेमात्रै केन्द्रीय बैंकले एकीकृत कारोबारका लागि अन्तिम अनुमति दिएको थियो । सोही अनुमतिका आधारमा नेपाल बङ्गलादेश बैंकको सम्पूर्ण दायित्वसमेत अब नबिल बैंकले लिने भएको छ । नबिलले नेपाल बङ्गलादेश बैंकलाई प्रतिशेयर रु ४३ का दरले गाभेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL