Logo

प्रतिबन्धित तास : जेठमै साढे ८६ लाखको आयात, बैशाखमा भन्दा चार लाख प्याकेट बढी

प्रतिबन्धित तास : जेठमै साढे ८६ लाखको आयात, बैशाखमा भन्दा चार लाख प्याकेट बढी



काठमाडौं । सरकारले विलासिताको वस्तु भन्दै प्रतिबन्धको सूचीमा राखेको तासको आयात जैठमै सबैभन्दा उच्च देखिन्छ । गत बैशाख १३ गते सरकारले तासलगायत १० वस्तुको आयातमा प्रतिबन्ध लगाएपनि त्यसपछि भने झन धेरै तास आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

विभागको तथ्यांक अनुसार जेठ महिनामा मात्रै ८६ लाख ५१ हजार रुपैयाँ बराबरको ४ लाख ४७ हजार प्याकेट तास आयात भएको छ । यो अघिल्लो महिना बैशाखको तुलनामा ७१ लाख ९२ हजार रुपैयाँले बढी हो । बैशाख महिना भरी नेपालमा १४ लाख ५९ हजार रुपैयाँ बराबरका ३० हजार ८५ प्याकेट मात्रै तास आयात भएका थिए ।

गत बैशाख १३ गते उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले व्यापारघाटा न्युनिकरण गर्न भन्दै तासलगायत विलासिताका १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । पछिल्लो समय बढ्दै गएको अनियन्त्रित आयात र यसले अर्थतन्त्रमा निम्त्याएको समस्या समाधानका लागि निश्चित सवारीसाधन, मोबाईल, टेलिभिजन, कुरकुरे, हिरालगायत वस्तुको आयातमा प्रतिबन्ध लगाईएपनि त्यसको प्रत्यक्ष असर भने देखिँदैन ।

प्रतिबन्ध लगाईसकेपछि नै यो बर्षको सबैभन्दा बढी तास आउनु शांकस्पद त छ नै तर, यसले सरकारको व्यापारघाटा घटाउने योजना नै असफल तुल्याईदिएको छ । पछिल्लो समय सरकार र राष्ट्र बैंकले करका दर हेरफेर, आयातमा प्रतिवन्धलगायतका निर्णय गर्दा ठुला घरानाले पहिल्यै सूचना पाउने आरोप धेरैपटक खेपिसकेका छन् ।

झन कुनै वस्तु आयात प्रतिवन्ध लागेको दोस्रो महिना नै सबैभन्दा धेरै आयात हुने शंकास्पद नहुने कुरै भएन । तर, तासको आयातमा प्रतिवन्ध लाग्नु अघि नै प्रतितपत्र (एलसी) खोलीसकेकाले जेठमा सोही अनुसारको मात्रै तास आयात भएको भन्सार विभागका निर्देशक राम प्रसाद रेग्मी बताउँछन् । ‘कसरी आयो भन्दा पनि हाम्रो तथ्यांकमा छ भने सोही अनुसारको तास आयात भएको होला,’ उनले भने, आजसम्म आउने तास त प्रतिवन्ध लाग्नुअघि नै प्रतितपत्र खोलिसकिएको हुन्छ सोही अनुसार आयात भएको हो ।’

जेठमा आयात भएको तासमध्ये नेपालले चिनबाट ४ लाख ४६ हजार ९ सय ७६ प्याकेट आयात गर्दा ८६ लाख ३७ हजार खर्च गरेको छ । यस्तै भारतबाट सोहि अवधिमा जम्मा १६ हजार रुपैयाँ बराबरको २२ थान तासको प्याकेट आयात आयात भएको तथ्यांकमा उल्लेख छ ।

जेठमा आयात भएका तासका प्याकेट मध्ये चिनबाट आयात भएका तासबाट ४८ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । त्यस्तै सोहि अवधिमा भारतबाट आयात भएको तासबाट १० हजार रुपैयाँ राजस्व संकलन भएको छ । उक्त अवधिमा नेपालले यी दुई मुलुक बाहेक अन्य मुलुकबाट तास आयात गरेको देखिदैन ।

चालु आर्थिक बर्षको ११ महिना (साउन देखि जेठसम्म) एक करोड २ लाख ८५ हजार ६ सय १० प्याकेट तास आयात गर्दा २० करोड ५६ लाख २१ हजार रुपैयाँ बाहिरिएको तथ्यांकमा उल्लेख छ ।

विभागको तथ्यांक अनुसार चालु आवको ११ महिनामा ५वटा राष्ट्र चिन, फ्रान्स, हंगेरी, भारत र अमेरिकाबाट तास आयात भएको देखिन्छ । उक्त अवधीमा चिनबाट सबैभन्दा धेरै १८ करोड ७३ लाख ५९ हजार रुपैयाँको तास आयात भएको देखिन्छ ।

नेपालमा विदेशीलाई क्यासीनोमा मनोरंजनका लागि तास खेल्न खुला भएता पनि अन्य स्थानमा जुवा खेल्नु प्रतिबन्ध जस्तै छ । नेपालको कानुनले तास खेल्नु पनि एक प्रकारको जुवा हो भनेको छ । जुवा खेल्नु नेपालीका लागि गैरकानुनी मानिए पनि नेपालमा खेल्ने तास किराना पसलदेखि मदिरा पसलसम्मै सजिलै पाईन्छ । उल्लेखित तथ्यांक आधिकारिक रुपमा भित्रिएको मात्र हो । यस बाहेक सिमा नाकाबाट राजस्व छल्नका लागि लुकाएर पनि तास ल्याई बिक्रि हुने गरेको भन्सार विभागका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL