Logo

गौतमबुद्ध विमानस्थलको निर्माण कार्य तिब्र रुपमा अघि बढ्यो, रातमा पनि काम गरिँदै

गौतमबुद्ध विमानस्थलको निर्माण कार्य तिब्र रुपमा अघि बढ्यो, रातमा पनि काम गरिँदै


रक्षा रेग्मी
27
Shares

काठमाडौं । नाकाबन्दी र तराइ अन्दोलनका कारण निर्माणकार्य बन्द भएको भैरहवाको गौतमबुद्ध विमानस्थलको निर्माणका कार्य पुनः अघि बढ्को छ । करीव ४ महिना निर्माणकार्य बन्द विमानस्थलको स्तरोन्नतीको तिव्र रुपमा अघि बढेको आयोजना निर्देशक ओम शर्माले बिजखबरलाई बताए । ‘तराई बन्द तथा नाकाबन्दीले सो विमानस्थलको निर्माणकार्य ठप्प थियो,’ उनले भने, ‘तर अहिले तिव्र रुपमा अघि बढाएका छौं ।’

शर्माका अनुसार इन्धन सहज हुन थालेसँगै निर्माण अघि बढेको हो । हाल विमानस्थलमा टर्मिनल भवन निर्माण भइरहेको छ । त्यस्तै रनवेको माथिल्लो भागको माटो (टप सोइल) काट्ने काम समेत भइरहेको उनले जानकारी दिए ।

त्यसैगरी, विमानस्थल स्तरोन्नती लागि थप १ सय ४० विघा जग्गा अधिग्रहणको प्रक्रिया समेत अघि बढेको शाहले जानकारी दिए । ‘सो प्रक्रियाका लागि मन्त्रिपरिषद्मा फाइल पुगेको छ,’ उनले भने, ‘स्वीकृति भएर आउनै वित्तिकै जग्गा अधिग्रहण गछौं ।’

भुकम्प तथा नाकाबन्दीले गर्दा निर्माण कार्य ढिलो हुने भन्दै सकेसम्म छिटो सम्पन्न गर्न राती पनि काम गर्न लागिएको छ । ‘राती काम गर्न मोवाइल जेनेरेटर खरीद गरिसकेका छौं’ उनले भने, ‘अव रातमा पनि काम शुरु हुनेछ ।’ भुकम्प तथा नाकाबन्दीले लामो समय निर्माण कार्य रोकिएपछि सो विमानस्थल निर्माण समय सीमा भित्र सम्पन्न गर्न कठिन हुने शर्माको भनाइ छ ।

gautambuddha-airport

सम्झौता अनुसार विमानस्थलको स्तारोन्नती २०१७ जुनमा सकेर २०१८ को जनवरीदेखि सञ्चालनमा आउने भनिएको थियो । तराई बन्द तथा भारतीय नाकाबन्दीले ४ महिना निर्माण कार्य ठप्प भएकाले नसिकने भएको छ । त्यस्तै निर्माणकार्यमा अधिकांश कामदार नुवाकोट, धादिङ तथा सिन्धुपाल्चोकका भएकोले भुकम्पका बेलामा पनि पूर्ण रुपमा काम नभएको उनले जानकारी दिए ।

विमानस्थलको स्तरोन्नती गत माघदेखि शुरु गरिएको हो । सो विमानस्थल निर्माणका लागि करीव ८ अर्व ५५ करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । एशियाली बिकाश बैंकको आर्थिक सहयोगमा चिनिया कम्पनी नर्थ वेष्ट सिभिल एभियसन एयरपोर्ट कन्स्ट्रक्सनले विमानस्थल निर्माण गर्न थालेको हो ।
सो विमानस्थलमा ६ ओटा अन्तराष्ट्रिय र चारवटा आन्तरिक उडानका जहाज पार्क गर्न सकिने सुविधा हुनेछ । त्यस्तै विमानस्थलमा ६ वटा अन्तरराष्ट्रिय उडान भर्ने जहाज र ४ वटा आन्तरिक उडान भर्ने जहाज पार्किङ गर्न मिल्ने छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) को वैकल्पिक विमानस्थलको रुपमा  सो विमानस्थल  निर्माण गर्न लागिएको हो । सो विमानस्थल सञ्चालनमा आएसँगै हाल टीआईएमा अवतरण गरिरहेका सबै जहाज उक्त विमानस्थलमा पनि अवतरण गर्न सक्ने बताइएको छ । पछिल्लो समय मुलककै एकमात्र अन्तरराष्ट्रिय विमानस्थल टिआईए व्यस्त भएर कतिपय समयमा अन्तरराष्ट्रिय विमानहरु भारतमा लगेर ल्याण्ड गर्नुपर्ने बाध्यता छ । स्तरोन्नतीसँगै सो बाध्यता हट्ने छ ।

गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएपछि टिआईएबाट हाल अवतरण भइरहेकामध्ये १० प्रतिशत जहाज सो स्थानबाट अवतरण गर्ने अनुमान गरिएको छ । त्यसैगरी, जिल्लाबाट वैदेशिक रोजगारीमा जानका लागि काठमाडौंसम्म धाउनुपर्ने बाध्यता समेत हट्ने छ भने लुम्बिनी भ्रमण गर्न आउने पर्यटक सिधै जान सक्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL