Logo

विभिन्न निकायको असहयोगका कारण फोरजी विस्तारमा ढिलाई : एमडी नेपाल टेलिकम

विभिन्न निकायको असहयोगका कारण फोरजी विस्तारमा ढिलाई : एमडी नेपाल टेलिकम



काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक (एमडी) डिल्लीराम अधिकारीले विभिन्न निकायको असहयोगका कारण फोरजी विस्तारमा ढिलाई भएको बताएका छन् । सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले काठमाडौंका घरबेटीदेखि वन मन्त्रालयको असहयोगका कारण उचित स्थानमा टेलिकमको टावर ठड्याउन नपाएपछि फोरजी विस्तारमा ढिलाई भएको बताएका हुन् ।

नेपाल टेलिकमले २०७३ सालमै नेपालभर फोरजी सेवा विस्तार गर्नेगरी सुरु गरेको उक्त कार्य हालसम्म पनि विस्तार हुन सकेको छैन । पोखरा र काठमाडौंका केही स्थानमा मात्रै सिमित भएको उक्त सेवा पुनः नेपालभर विस्तार गर्नका लागि २०७५ सालमा चिनियाँ र हंगकंगका कम्पनीहरुसँग सम्झौता भएको थियो । सम्झौता भएको १ बर्षभित्रमा नेपालका सबै स्थानमा सेवा पुर्याउनेगरी सम्झौता गरिएको भएपनि हालसम्म धेरै स्थानहरुमा फोरजी सेवा पुर्याउन बाँकी नै छ । तर, टेलिकमले गत बर्षको माघ महिनामा नेपालका सबै स्थानीय तहमा फोरजी सेवा पुगिसकेको घोषणा गरेको थियो ।

टेलिकमका अनुसार हालसम्म नेपाल टेलिकमको फोरजी विस्तारको कुल प्रगति फिजीकल साईटको ८५ प्रतिशत र लजिकल साईटको ८८ प्रतिशत छ । हालसम्म कोर नेटवर्क ९७ प्रतिशत स्थानमा जडान भएको छ भने नेटवर्क १ को कुल भौतिक प्रगति ९७ प्रतिशत मात्रै छ । यस्तै नेटवर्क २ को कुल भौतिक प्रगति ८६ प्रतिशत पुगेको टेलिकमले जानकारी दिएको छ । हालसम्म प्रायः स्थानमा पुगिसकेको टेलिकमको फोरजी सेवा केही स्थानमा भने पुगेको छैन ।

स्थानीय अवरोध, उचित पूर्वाधारको पहुँच, सरकारी निकायको असहयोगलगायतका कारण बन क्षेत्र र विकट क्षेत्रहरुमा टावर निर्माण हुन नसकेका कारण यस्तो अवस्था आएको प्रबन्ध निर्देशक अधिकारीले बताए ।

लाईसेन्स शुल्कका कारण डाटा महंगो

कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकमबाट लिने लाईसेन्स शुल्क र इन्टरनेट सेवाप्रदायकबाट लिने लाईसेन्स शुल्कमा फरक हुँदा डाटाको मूल्यमा पनि फरक हुने बताए । उनले टेलिकमलाई लाईसेन्स नविकरण शुल्कबापत अर्वाै रुपैयाँ लिनेगरेको र आईएसपीहरुबाट केही लाख मात्रै लिनाले आईएसपीले दिने डाटा शुल्क सस्तो हुने गरेको बताएका हुन् ।

यदि टेलिकमबाट लिने शुल्क पनि आईएसपीकै आधारमा भए नेपालीहरुले फ्रि वाईफाई खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए । ‘मोबाईल डाटा नै अति कम मूल्यमा पाईने भएपछि किन चाहियो फ्रि वाईफाई?’ उनले भने, ‘तर, यसका लागि लाईसेन्सलगायतका विभिन्न शुल्कहरु भने घट्नुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL