Logo

वैदेशिक रोजगारीमा जान खुला : पुराना डिमाण्डमा श्रम स्वीकृति नदिईने, श्रम स्वीकृति लिन कामदारको अनिवार्य पीसीआर

वैदेशिक रोजगारीमा जान खुला : पुराना डिमाण्डमा श्रम स्वीकृति नदिईने, श्रम स्वीकृति लिन कामदारको अनिवार्य पीसीआर



काठमाडौं । सरकारले बैदेशिक रोजगारीमा जान खुला गरेको छ । विश्वभर फैलिएको कोरोनाका कारण वैदेशिक रोजगारीमा जान स्थगित गरेकोमा आईतबार बसेको मन्त्रिपरिषदको बैठकले खुला गरेको हो ।

सरकारले नेपाली युवालाई वैदेशिक रोजगारीमा पढाउनका लागि पूर्व तथा अन्तिम श्रम स्वीकृति दुबै खुला गरेको हो । यस अघि पुनःश्रम स्वीकृति खुला गरेको सरकारले हाल आएर नयाँ श्रम स्वीकृति पनि खुला गरेको हो । पछिल्लो समय देशमा भित्र्ने रेमिटान्स घटेसँगै सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई प्रोत्साहन गर्ने बताएको थियो ।

हाललाई सरकारले पूर्व तथा अन्तिम श्रम स्वीकृति खुला गरेपनि सरकारी कार्यालयहरु सामान्य अवस्थामा संचालनमा नआएसम्म कार्यान्वनयमा नल्याईने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । ‘अहिले सरकारले अत्यावश्यकीय सेवा मात्र प्रदान गर्दै आएको छ यस्तो अवस्थामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति प्रदान गर्न सकिँदैन,’ उनले भने, ‘यो निर्णयले यस अघि लगाएको प्रतिबन्ध हट्यो तर अब जहिले निषेधाज्ञा खुलेर सरकारी कार्यालयहरु सामान्य रुपमा खुल्न थाल्छन् त्यसपछि मात्र पूर्व तथा अन्तिम श्रम स्वीकृति प्रदान गर्नेछौं ।’

यसैगरी अबका दिनमा वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिनु पूर्व अनिवार्य रुपमा पीसीआर रिपोर्ट पेश गर्नुपर्ने छ । वैदेशिक रोजगारीमा जाने कामदारका लागि ल्याइएको स्वास्थ्य सम्बन्धी मापदण्ड तथा सम्बन्धित रोजगार दाता देशले बनाएको मापदण्ड अनुरुप मात्रै वैदेशिक रोजगारीमा जाने कामदालाई श्रम स्वीकृति दिइने समेत उनले जानकारी दिए ।

तर विभागले पुराना मागपत्रमा भने पूर्व तथा अन्तिम श्रम स्वीकृति नदिएको छ । कोभिडका कारण विदेश स्थित कतिपय कम्पनी नै बन्द भैसकेको र कतिपय कम्पनीले कामदार लिन नसक्ने अवस्थामा पुगेको हुँदा कोरोना सुरु हुनुभन्दा अघि ल्याएको मागपत्रको आधारमा श्रम स्वीकृति नदिईने समेत दाहालले जानकारी दिए । ‘कामदारमै सुरक्षाका लागि कोरोना सुरु हुनुभन्दा अघि आएको डिमान्टमा सम्बन्धित कम्पनीसँग भेरिफाई गरेर मात्र पूर्व तथा अन्तिम श्रम स्वीकृति दिने छौं,’ उनले भने, ‘जसका लागि म्यानपावर कम्पनीले सम्बन्धित रोजगारदाता कम्पनीसँग नो अब्जेक्सन लेटर (एओसी) ल्याउनु पर्ने हुन्छ ।’ सम्बन्धित रोजगारदाता कम्पनीले आफुलाई कामदार चाहिन्छ भनेर पुन सहमति दिएर माग गरेको खण्डमा मात्र श्रम स्वीकृति दिईने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL