Logo

किन जाँदैनन् विकसित देशमा नेपाली कामदार

किन जाँदैनन् विकसित देशमा नेपाली कामदार


रामराजा श्रेष्ठ
0
Shares

“व्यवसायीले बढी लागत खर्च लिँदा समस्याः राज्यमन्त्री गुरुङ”

रामराजा श्रेष्ठ

२४ कात्तिक, काठमाडौं । सरकारले युरोय लगायत विभिन्न १ सय ९ वटा देशमा नेपाली कामदारलाई रोजगारीमा जान खुला गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार नेपालका म्यानपावर व्यवसायीहरुले यूरोप, क्यानडा, जापान, इजरायललगायत अन्य विकशित मुलकबाट नेपाली कामदारका लागि मात्र पत्र ल्याएका छन् । तर, ती देशमा म्यानपावर कम्नपीले कामदार पठाउन सकेका छैनन् ।

केही समय यता नेपाली कामदारका लागि मागपत्र ल्याएका पोर्चुगल, पोल्याण्ड, क्यानडा, जापानलगायतका देशहरुमा व्यवसायीहरु कामदार पठाउन असफल भएका छन् । नेपालका दजर्नौं म्यानपावर कम्पनीले पोल्याण्ड कामदार पठाउनका लागि हजारौंको संख्या मागपत्र ल्याएका थिए । ती मागपत्रमा कामदार रोजगारीमा जानुको सट्टा ठगिन पुगे । व्यवसायीले पोल्याण्डको रोजगारीमा पठाइदिने नाममा हजारौं कामदारलाई अलपत्र पारे ।

पछिल्लो समय युरोपियन मुलुक पोर्चुगलबाट पनि नेपालका म्यानपार कम्पनीले १ हजारभन्दा बढी कामदारको माग पत्र ल्याएका थिए । माग पत्र ल्याएपनि झण्झटिलो प्रक्रियाका कारण कामदार पठाउन नसकिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष तथा एसओएस म्यानपावरका निर्देशक सोमलाल बाटाजूले बताए । ‘ठूलो मिहिनेत गरेर पहिलो पटक पोर्चुगलबाट मात्र ल्याएका थियौं,’ उनले भने, ‘तर, रोजगारीमा पठाउन सकिएन ।’ पोर्चुगल कामदार पठाउनका लागि भारत जाने तथा आउने काममा ६ महिनाभन्दा बढी समय लाग्यो तर, भिसा लागेन,’ उनले भने ‘पोर्चुगलको कामगर्दा कमाइहुनुका सट्टा आफ्नै ३० लाख रुपैयाँभन्दा बढी खर्च भएको छ ।’ साथै, पोर्चुगतल तथा अन्य विकशित मुलुकमा कामदार पठाउने काम त्यति सहज नभएको समेत उनले जानकारी दिए । विभागको तथ्याङ्क अनुसार व्यक्तिगत र संस्थागत गरि हालसम्म ८६ जना कामदार पोर्चुगलको रोजगारीमा पुगेका छन् ।

Toront city of canada
विकशित मुलुकबाट नेपाली कामदारका लागि मागपत्र आएपनि नेपालका म्यानपावर व्यवसायी तथा सम्बन्धित देशमा एजेन्टको खराव आचरणका कारण त्यस्ता देशमा कामदार पठाउन नसकिएको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ बताउँछन् । ‘विकशित देशले कम लागत खर्चमा कामदार माग गरेका हुन्छन्,’ उनले भने, ‘तर, नेपालका म्यानपावर व्यवसायीले रोजगारदाताले निर्धारण गरेभन्दा बढी लागत खर्च लिने गरेका छन् ।’ नेपाली म्यानपावर कम्पनीले तोकिएभन्दा बढी लागत खर्च लिएकै कारण जापान, पोल्याण्ड, इजरायल लगायतका देशको रोजगारीमा कामदार पठाउन नसकिएको उनको दावी छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्ले भने विकसित देशमा म्यानपावर कम्पनीको पहुच नुपुेका कारण सोचे अनुरुप कामदार पठाउन नसकिएको बताउँछन् । ‘विकसित मुलुकमा सहज र सस्तो लागतमा कामदार पठाउन सम्बन्धित कम्पनीको मालिकसँग लबिङ गरेर मागपत्र ल्याउन सक्नुपर्छ,’ उनले भने, ‘तर, नेपालका व्यवसायीले कम्पनीको मालिकसँग नभइ मध्यस्तकर्ता वा एजेण्टसँग सहकार्य गरी मागपत्र ल्याउने गरेका छन् ।’ एजेन्टसँग सहकार्य गरेर भिसा ल्याएकै कारण व्यवसायीले जापान, इजरायल, पोल्याण्ड, क्यानडालगायतका देशमा कामदार पठाउन नसकेको उनको भनाइ छ ।

यसैगरी विकसित मुलुकको भिसा ल्याउन नेपाल सरकारले सहजिकरण गर्नु पर्नेमा सरकारले त्यस विषयमा चासो नै नदिएको समेत उनले जानकारी दिए । ‘अन्य देशका प्रधानमन्त्री, मन्त्री तथा सचिवहरु कामदार मागपत्र ल्याउन सम्बन्धित देशको सरकारसँग छलफल गर्न जान्छन्,’ उनले भने, ‘तर, नेपाल सरकारले भने व्यवसायीले ल्याएको मागपत्रमा कामदार पठाउनका लागि समेत सहयोग गर्दैन ।’ सरकारी सहयोग नभएकै कारण व्यवसायीहरु विकसित मुलुकमा कामदार पठाउन असफल भएको उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL