Logo

विश्वभरका अंग्रेजी शिक्षकहरूको कुम्भ मेला नेपालमा, अंग्रेजी भाषासम्बन्धी ज्ञान बढेको सहभागिको भनाई

विश्वभरका अंग्रेजी शिक्षकहरूको कुम्भ मेला नेपालमा, अंग्रेजी भाषासम्बन्धी ज्ञान बढेको सहभागिको भनाई



काठमाडौं । ललितपुरको डीएभी स्कुलमा विश्वभरका अंग्रेजी शिक्षकहरूको कुम्भ मेला लागेको छ । टिसोल–नेल्टा क्षेत्रीय सम्मेलनमा सहभागी हुन नेपाललगायत २६ देशका १ हजार अंग्रेजी शिक्षकहरू भेला भएका हुन् ।

सम्मेलनमा सहभागी विज्ञहरूले गुणस्तरीय अंग्रेजी शिक्षाको विकासका लागि कार्यपत्र प्रस्तुत गरेका छन् । सम्मेलनमा अंग्रेजी कसरी पढाउने ? कस्तो अंग्रेजी शिक्षा आवश्यक छ ? भाषाको माध्यमबाट देशको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा ज्ञान पाएको नेपाली शिक्षकहरूले जानकारी दिएका छन ।

‘विश्वभरबाट अंग्रेजी शिक्षकहरू आउनुभएको छ । एकअर्को देशमा अंग्रेजी कसरी पढाइन्छ ? राम्रो शिक्षक बन्ने आइडिया सम्मेलनबाट थाहा पाएँ,’ सम्मेलनमा काभ्रेबाट सभागिता जनाएकी कल्पना थापाले भनिन् ।

‘विश्वमा अंग्रेजीको प्राक्टिक्स कस्तो भइरहेको छ ? नेपालले अंग्रेजीमा सुधार गर्नुपर्ने विषयबारे सम्मेलनबाट सिक्न पाइयो,’ अर्का सहभागी अग्नि ज्ञवालीले भने ।
‘टिसोल–नेल्टा सम्मेलन नेपालमा पहिलोपटक भएको हो,’ नेल्टाका उपाध्यक्ष जयराम खनालले भने, नेपालका लागि यो गौरवको विषय हो ।’

उनका अनुसार पहिलो दिन बुधबार नेल्टा सिम्पोजियम भएको छ । दोस्रो दिन बिहीबार सम्मेलनको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरेका छन् । सम्मेलनमा शनिबारसम्म आठवटा की–नोट, १७ वटा प्लेनरी तथा २ सयभन्दा बढी कार्यपत्र प्रस्तुत गरिनेछ ।

‘अंग्रेजी भाषाको माध्यमबाट नेपालको कला संस्कृति विश्वमा चिनाउन सकिन्छ,’ उपाध्यक्ष खनालले भने, ‘विश्वका अरू देशले नेपाली भाषा बुझ्दैनन् । त्यसैले नेपालको प्रमोट गर्न पनि अंग्रेजी भाषा आवश्यक छ ।’

विदेशी भाषा नजानेका कारण नेपाल विकासमा पछि परेको उनले बताए । ‘भाषा नजानेका कारण विदेशीलाई कन्भेन्स गर्न सकेका छैनौं,’ उनले भने, ‘अंग्रेजी भाषाबाट पनि देशको विकास गर्न सकिन्छ ।’

नेपाल अंग्रेजी भाषा शिक्षक संघ ‘नेल्टा’ र अंग्रेजी भाषा शिक्षकहरूको अन्तर्राष्ट्रिय संघ टिसोल (अमेरिका) को आयोजनामा टिसोल–नेल्टा क्षेत्रीय सम्मेलन नेपालमा भएको हो । सम्मेलन शनिबारसम्म चल्नेछ ।

नेल्टा नेपालमा अंग्रेजी शिक्षाको विकासका लागि सन् १९९२ मा स्थापना भएको गैरनाफामूलक संस्था हो । नेपाली विद्यार्थी एवं शिक्षकहरूलाई अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी सुनाइ, बोलाइ र लेखाइमा गुणस्तर कायम गर्न खोलिएको संस्था हो ।

प्रतिक्रिया दिनुहोस्
MBL