काठमाडौं । राष्ट्रिय सभाले बुधबारको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ पारित गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
ती विधेयकमाथि सुझाव दिन चाहने राष्ट्रियसभाका सदस्यहरूले विधेयक शाखामा सुझाव पेस गर्न सकिने जनाइएको छ । आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेका छन् ।
बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत बजेट लोकतन्त्र र गणतन्त्रको मर्मअनुसार ल्याइएको बताएका छन् ।
अर्थमन्त्री पौडेलका अनुसार बजेट तजबिज ढंगले होइन, स्थापित प्रणाली र प्रक्रिया अन्तर्गत तयार गरिएको हो । उनले संसदले पारित गरेपछि बजेट कार्यान्वयनको चरणमा प्रवेश गर्ने जानकारी गराउँदै बजेट कर्मकाण्डी नभई तथ्यमा आधारित रहेको बताए ।
पौडेलले ऋणको दायरा असिमित नहोस् भन्नेमा सरकार सचेत रहेको र उत्पादन तथा पूँजीगत खर्चमा सदुपयोग सुनिश्चित गर्न विशेष ध्यान दिइएको उल्लेख गरे । साथै, कर प्रणाली सुधार, चुहावट नियन्त्रण, सूचना प्रविधिको प्रयोग र राजस्व प्रशासनलाई प्रभावकारी बनाउने योजनाबारे जानकारी दिँदै, निर्धारित राजस्व लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गरे ।
नेपाल फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे लिस्टबाट बाहिरिनु आवश्यक रहेको भन्दै उनले सम्पत्ति शुद्धिकरणमा विशेष ध्यान दिइने बताए । विलासिता करमा रहेको थ्रेसहोल्ड हटाइएको र सुनका गहना कारोबारमा संलग्न व्यवसायीहरूको गुनासोबारे छलफल चलिरहेको भन्दै साझा निष्कर्षमा पुगिने विश्वास उनले व्यक्त गरे। यस्तै आजैको राष्ट्रियसभा बैठकबाट प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक पनि पारित भएको छ ।