काठमाडौं । झापाको विर्तामोडमा स्टार्टअप तथा नवप्रवर्तन सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम सहजको सहकार्यमा उद्योगी व्यवसायीहरूका लागि मंगलबार उक्त कार्यक्रम आयोजना गरिएको हो ।
उद्योग व्यवसाय क्षेत्रमा सफलता कसरी हासिल गर्ने ? उद्योग व्यवसाय क्षेत्रमा नवप्रवर्तनलाई कसरी अंगिकार गर्ने ? सिर्जनात्मक उद्यमलाई कसरी विकास गर्ने ? विषयमा आधारित रहेर कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा स्टार्टअप तथा नवप्रवर्तन सम्बन्धी विज्ञ निरज खनाल र अनिल पराजुलीले सहजीकरण गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी श्यामले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा स्टार्टअप प्रवद्र्धनका सम्भावना र चुनौती बारे स्थानीय तह र नीजि क्षेत्रका सहभागीहरुले आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुबेदीले स्टार्टअप सम्बन्धी अभिमुखिकरण कार्यक्रमका लागि धन्यवाद दिँदैं यस प्रकारका कार्यक्रमले नीजि क्षेत्र र स्थानीय सरकारबीच सहकार्य बढेर जाने बताए । नीजि क्षेत्रका तर्फबाट दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले व्यवसायिक नवप्रवर्तनको लागि यो कार्यक्रमले सहयोग पुर्याएको बताएका थिए ।
झापाको विर्तामोडमा भाद्र ३ र ४ गते र विराटनगरमा छ र ७ गते यो कार्यक्रम गर्ने योजना रहेको छ । मंगलबार भएको कार्यक्रममा मेची करीडोरका स्थानीय तह र उद्योग वाणिज्य संघ गरी ३० जनाको सहभागिता रहेको थियो भने भोलि पनि ३० जना को सहभागिता रहने कार्यक्रम रहेको छ । यसैगरी विराटनगरमा हुने कार्यक्रममा पनि दुई दिन गरी ६० जनाको सहभागिता हुने कार्यक्रम रहेको छ ।