GBIME

वाग्मती प्रदेशको आर्थिक अवस्था : पूँजीगत खर्च न्यून, जीडीपीमा सबैभन्दा धेरै योगदान, कृषि क्षेत्र मासियो


बिजखबर संवाददाता
1 December, 2021 3:20 pm

अध्ययनमा वाग्मती प्रदेश : पुँजीगत खर्च न्युन, जीडीपीमा सबैभन्दा धेरै योगदान, कृषि भूमि मासियो

काठमाडौं । वाग्मती प्रदेशमा विकास निर्माणका लागि विनियोजन गरिएको बजेट समयमा नै खर्च गर्न नसक्ने प्रवृत्तिका कारण अपेक्षित लाभ प्राप्त हुन नसकेको पाइएको छ ।

Laxmi
NABIL
Yamaha

पुँजीगत खर्च हुन नसक्ने नेपालको पुरानै प्रवृत्ति भए पनि सङ्घीय राजधानी रहेको यस प्रदेशमा साधन र स्रोतका हिसाबले सहज भए पनि अपेक्षित लाभ प्राप्त हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले मंगलबार साँझ सार्वजनिक गरेको वाग्मती प्रदेशको आर्थिक गतिविधि अध्ययन २०७७ ७८ को वार्षिक प्रतिवेदनमा पुँजीगत खर्च बढाइ आयोजना निर्धारित समय र लागतमा सम्पन्न गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गरिएको छ ।

निर्माणाधिन आयोजनालाई निर्धारित समय र लागतमा गुणस्तरसहित सम्पन्न गरी आर्थिक रुपले सम्भाव्य बनाउनु जरुरी रहेको केन्द्रीय बैंकको अध्ययनमा भनिएको छ । गत असारमा गएको बाढीपहिराका कारण मेलम्ची खानेपानी आयोजना पुनःसञ्चालनमा ल्याउनु चुनौतीको विषय रहेको भन्दै अध्ययनमा समस्याको निकारण गर्न सम्वद्ध निकायले ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

sarbottam

अध्ययनमा भनिएको छ, ‘सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढीपहिराबाट घरलगायत अन्य भौतिक संरचनामा क्षति पुगेको कारण त्यसको पुनःनिर्माण गर्नु चुनौतीपूर्ण छ ।’ पूर्वाधार आयोजनाको योजना निर्माण, सोको कार्यान्वयन र लाभ बाँडफाँट जस्ता सवालमा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गर्नु जरुरी देखिएको जनाइएको छ । मुआब्जा, जग्गा अधिग्रहण, राइट अफ वे, पुनर्वास आदि परियोजनाका पूर्व तयारीसँग सम्वन्धित विषयहरू सम्बोधन गरी स्थानीय अवरोध हटाउनुपर्नेमा जोड दिइएको छ ।

पूर्वाधार परियोजनालाई समयमा नै सम्पन्न गर्न प्रभावकारी नियन्त्रण तथा अनुगमन गर्नु र परियोजनाका अधिकारीलाई आयोजनाको कार्यान्वयन प्रगतिप्रति जवाफदेही बनाउनु जरुरी रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सम्पन्न भई प्रयोगमा रहेका पूर्वाधार आयोजनाको गुणस्तर कायम राख्न यस्ता आयोजनाको मर्मत सम्भार योजना बनाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै अध्ययनले आवश्यक कामदार र विशेषज्ञको उपलब्धता सुनिश्चित गर्न सुझाव दिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कका आधारमा प्रदेशको समग्र आर्थिक अवस्था तुलना गर्दा आव २०७७/७८ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा वाग्मती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३७ दशमलव ७ प्रतिशत रहन पुगेको छ । कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४ प्रतिशतमा सिमित छ । बृहत आर्थिक वर्गीकरणअनुसार कृषि क्षेत्रको उत्पादनमा प्रदेश नं १ को हिस्सा सबैभन्दा धेरै २१ दशमलव ५ प्रतिशत छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ५ दशमलव २ प्रतिशत मात्रै छ ।

औद्योगिक उत्पादनमा वाग्मती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६ प्रतिशत रहँदा कणरली प्रदेश मात्रै ० दशमलव ९ प्रतिशतमा सिमित छ । यसैगरी थोक तथा खुद्रा व्यापार, मोटर गाडी तथा मोटरसाइकल मर्मत, यातायात तथा भण्डारण, घरजग्गा कारोबार र वित्तीय मध्यस्थता जस्ता सेवा क्षेत्रमा वाग्मती प्रदेशको हिस्सा ५६ दशमलव ५ प्रतिशत छ ।

आव २०७७/७८ मा ११ हजार ८३३ थप रोजगारी प्रदान गर्ने उद्देश्यले १ खर्ब ५६ अर्ब ६० करोड बराबरको पुँजी लगानी हुने गरी २ सय ३ नयाँ उद्योग दर्ता भएका छन् । त्यसमध्ये ४३ दशमलव ८ प्रतिशत उद्योग वाग्मती प्रदेशमा दर्ता भएका छन् । कर्णाली प्रदेशमा भने नयाँ उद्योग दर्ता भएको देखिदैन ।

कुल रोजगारीमध्ये ४० दशमलव ७ प्रतिशत वाग्मती प्रदेशमा रहेको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ५ दशमलव १ प्रतिशत रहेको छ । अर्बौंको क्षति पुग्ने गरी सिन्धुपाल्चोकमा आएको बाढीले हेलम्बु, ग्यालथुम, तालामारङ, मेलम्ची बजार क्षेत्रका वन, पुल, बाटो, पार्क, होटल, रिर्सोट लगायतको भौतिक संरचनामा क्षति पग्न गएको छ । विपद्ले खेतीयोग्य जमिन, मेलम्ची खानेपानी आयोजना, पशुपालन, माछापालन तथा अन्य व्यवसायमा समेत नराम्ररी क्षति पुर्‍याएकाले यथास्थितिमा फर्काउनु चुनौतीपूर्ण रहेको अध्ययनले स्पष्ट पारेको छ ।

उपत्यका तथा आसपासका सहरमा सडक मर्मत, ढल व्यवस्थापन, प्रदुषण नियन्त्रण, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास, ट्राफिक व्यवस्थापन र पहाडी इलाकामा बाढीपहिरो लगायतका समस्या समाधान गर्नु अर्को चुनौतीको विषय रहेको देखिएको छ ।

कृषि भूमि मासियो

बढ्दो शहरीकरणका कारण यस प्रदेशको कृषियोग्य भूमि मासिँदै गएको पाइएको छ । जनसङ्ख्या धेरै रहेको तथा अव्यवस्थित शहरीकरणका कारण कृषि भूमिमा चाप परेको अध्ययनले स्पष्ट पारेको छ । मासिँदै गइरहेको कृषि भूक्षेत्रलाई संरक्षण गरी व्यवसायिक कृषि उत्पादनलाई प्रवद्र्धन गर्नु र बाँझो जमीनलाई सदुपयोग गर्ने विषय चुनौतीपूणर् रहेको अध्ययनले देखाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नियमित मर्मतसम्भार र व्यवस्थापन गरी सुविधायुक्त बनाउने तथा बुटिक एयरपोर्टका रूपमा विमानस्थललाई व्यवस्थित पार्नुपर्नेमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय व्यापारमा दोस्रो ठूलो मुलुकका रुपमा रहेको चीनतर्फको नाकामा पारवहनमा समस्या परेको, भूकम्प पश्चात् तातोपानी नाकामा बेला-बेलामा समस्या देखिने गरेकाले रसुवागढी नाकाबाट व्यापार वृद्धि भए पनि नुवाकोटदेखि रसुवासम्मको सडक सुविधायुक्त नहुँदा थप समस्या पैदा भएको छ । कोभिडको कारण बेलाबेला नाका बन्द हुनुलगायतका कारण चीनबाट सामान ल्याउन अत्यधिक समय लाग्ने गरेको छ ।

आव २०७७/७८ मा यस प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल ० दशमलव ५ प्रतिशतले बढेको छ । गत वर्ष यस्तो क्षेत्रफल २ दशमलव ४ प्रतिशतले बढेको थियो । आव २०७७/७८ मा यस प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल ० दशमलव २ प्रतिशतले घटेको छ भने गत वर्ष यस्तो क्षेत्रफल २ दशमलव १ प्रतिशतले बढेको थियो ।

यस्तै धान बालीले ढाकेको क्षेत्रफल २ दशमलव ३ प्रतिशत, कोदो बालीको १.७ प्रतिशत, फापर बालीको २१ दशमलव ४ प्रतिशत, भटमास बालीको २ दशमलव ८ प्रतिशत र दलहन बालीले ढाकेको क्षेत्रफल १ दशमलव ६ प्रतिशतले बढेको छ । मकै बालीले ढाकेको क्षेत्रफल २ दशमलव ७ प्रतिशत, गहुँ बालीको ० दशमलव ५ प्रतिशत, जौ बालीले ढाकेको क्षेत्रफल ११ दशमलव ७ प्रतिशत, उखु बालीको ८ दशमलव ६ प्रतिशत र तेलहन बालीको ० दशमलव ९ प्रतिशतले घटेको अध्ययनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

NTC
MBL