Logo

कोल्ड ड्रिंक बजारमा नयाँ प्रतिस्पर्धा, रिलायन्स र चौधरी ग्रुपको साझेदारीमा नेपालमा क्याम्पा कोला उत्पादन सुरु

कोल्ड ड्रिंक बजारमा नयाँ प्रतिस्पर्धा, रिलायन्स र चौधरी ग्रुपको साझेदारीमा नेपालमा क्याम्पा कोला उत्पादन सुरु



काठमाडौं । भारतको बहुराष्ट्रिय औद्योगिक समूह रिलायन्स इन्डस्ट्रीजले नेपालका लागि चौधरी ग्रुपसँग सहकार्य गर्दै चर्चित कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा कोला’ को उत्पादन सुरु गरेको छ। उपभोक्ताबीच नमीठो प्रतिस्पर्धामा चलिरहेको पेय पदार्थ बजारमा यस सहकार्यले नयाँ तरंग ल्याउने विश्वास गरिएको छ।

क्याम्पा कोला रिलायन्स इन्डस्ट्रीजको फास्ट–मुभिङ कन्ज्युमर गुड्स (एफएमसीजी) इकाई रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल) अन्तर्गतको उत्पादन हो। यो ब्रान्डले भारतीय बजारमा इण्डियन प्रिमियर लिग (आईपीएल) जस्ता प्रतिष्ठित इभेन्टहरूको प्रायोजनमार्फत आफ्नो उपस्थितिलाई बलियो बनाउँदै आएको छ।

रिलायन्सले सन् २०२२ मा क्याम्पा कोला ब्रान्ड अधिग्रहण गरेको हो। त्यसपछि कम्पनीले २०२३ बाट पुनः यसको व्यावसायिक उत्पादन सुरु गर्‍यो। एक समय लोकप्रिय भए पनि हराउँदै गएको यो ब्रान्डलाई रिलायन्सले पुनः बजारमा स्थापित गर्न सफल भएको दाबी कम्पनीको छ।

नेपालमा भने क्याम्पा कोलाको उत्पादन र वितरणको जिम्मा चौधरी ग्रुपले लिएको छ। चौधरी ग्रुपसँगको सहकार्यमा नेपालमै उत्पादन हुने मोडलमा क्याम्पा कोला बजारमा ल्याइएको हो। “चौधरी ग्रुपजस्तो विश्वासिलो साझेदारसँग मिलेर नेपालमा क्याम्पा ल्याउन पाउँदा हामी उत्साहित छौं,” आरसीपीएलका कार्यकारी निर्देशक केतन मोदीले भने, “५० वर्षभन्दा पुरानो यो हेरिटेज ब्रान्ड धेरै पुस्तासँग भावनात्मक सम्बन्ध राख्छ। हामी नेपालमा दीर्घकालीन लगानीका साथ आएको हो।”

नेपालमा बजार प्रवेशसँगै सुरुवाती चरणमा क्याम्पा पोर्टफोलियो अन्तर्गत ‘क्याम्पा कोला’, ‘क्याम्पा लेमन’, ‘क्याम्पा अरेन्ज’, ‘क्याम्प इनर्जी गोल्ड बुस्टर’ र ‘इनर्जी बेरी किक’ उपलब्ध हुने जनाइएको छ। २५० मिलिलिटरको कोला, लेमन र अरेन्ज भेरियन्टको खुद्रा मूल्य ३० रुपैयाँ तोकिएको छ भने इनर्जी ड्रिङ्कहरू ४० रुपैयाँमा उपलब्ध हुनेछन्।

रिफ्रेशिङ स्वाद, आकर्षक प्याकेजिङ र सस्तो मूल्यसहित क्याम्पा कोलाले नेपाली बजारमा नयाँ स्वाद र शैली भित्र्याउने अपेक्षा गरिएको छ। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, “रिलायन्ससँग सहकार्य गर्नु हाम्रो समूहका लागि मात्र होइन, समग्र देशकै लागि गर्वको विषय हो। नेपाली उपभोक्तालाई ऐतिहासिक र गुणस्तरीय पेय पदार्थको स्वादमा रम्न दिने अवसर यस साझेदारीले दिनेछ।”

उनका अनुसार चौधरी ग्रुपले आफ्नो बलियो वितरण च्यानल र बजार अनुभव प्रयोग गरी क्याम्पा ब्रान्डलाई नेपाली उपभोक्ताबीच लोकप्रिय बनाउने रणनीति लिएको छ।

आरसीपीएलले अन्तर्राष्ट्रियस्तरका उत्पादनहरूलाई स्थानीय स्वाद र आवश्यकतानुसार परिमार्जन गरी नेपाली बजारमा प्रस्तुत गर्ने जनाएको छ। कम्पनीले नवप्रवर्तन, गुणस्तर र उपभोक्ता सन्तुष्टिलाई प्राथमिकतामा राख्दै उपयुक्त मूल्यमा उत्पादन उपलब्ध गराउने नीति लिएको बताएको छ।

यसअघि खाडी सहयोग परिषद् अन्तर्गतका विभिन्न मुलुकमा समेत क्याम्पा ब्रान्ड स्थापित भइसकेको छ। अब नेपालमा पनि यो ब्रान्डको पुनरागमनसँगै कोल्ड ड्रिंक बजारमा नयाँ प्रतिस्पर्धा सुरु हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्