Logo

शौर्य सिमेन्टको सामाजिक उत्तरदायित्व, उदयपुरमा विद्यालय र स्वास्थ्य केन्द्र भवन निर्माण

शौर्य सिमेन्टको सामाजिक उत्तरदायित्व, उदयपुरमा विद्यालय र स्वास्थ्य केन्द्र भवन निर्माण



काठमाडौं । शौर्य सिमेन्ट इन्डस्ट्रीजले विद्यालय र स्वास्थ्य केन्द्रको भवन निर्माण गरी हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो संस्थागन सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोगमा उदयपुर जिल्लाको कटारी नगरपालिका–७ मर्जेतपुरस्थित श्री सरस्वती आधारभूत विद्यालय र वडा नं ८ आहालेस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको हो ।

विद्यालय भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख राजेश चन्द्र श्रेष्ठले शौर्य सिमेन्टको सामाजिक उत्तरदायित्वप्रति प्रशंसा व्यक्त गर्दै विद्यालयको संरचना निर्माणप्रति धन्यवाद ज्ञापन गरे। उनले अब शैक्षिक गुणस्तर सुधारमा अभिभावकहरूको सक्रिय सहभागिता आवश्यक रहेको औंल्याए ।

कार्यक्रममा शौर्य सिमेन्टका सिनियर भाइस प्रेसिडेन्ट राजन झाले सामाजिक उत्तरदायित्वलाई स्थानीय तहसँग सहकार्य गरेर अघि बढाइएको जनाउँदै आर्थिक र राजनीतिक क्षेत्र दुवै सबल हुनुपर्ने विचार व्यक्त गरे। उनले निर्माण क्षेत्रमा देखिएका असरहरू न्यूनीकरण गर्न कम्पनीले इन्जिनियरको टोली परिचालन गरेर आवश्यक अध्ययन र समाधानको पहल गरिरहेको जानकारीसमेत दिए।

त्यसै अवसरमा वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक सुविन ढुंगानाले विद्यालय र सामुदायिक विकासमा निरन्तर सहयोग गरेकोमा कम्पनीलाई धन्यवाद दिँदै खानी क्षेत्रसँग सम्बन्धित सम्भावित जोखिमप्रति पनि सजग रहन सुझाव दिएका थिए।

विद्यालयका प्रधानाध्यापक जयबहादुर तामाङले सन् २०५६ सालदेखि शौर्य सिमेन्टले शिक्षक व्यवस्थापनदेखि भौतिक सामग्रीसम्ममा निरन्तर सहयोग गर्दै आएको स्मरण गर्दै विद्यालय परिवारको तर्फबाट आभार व्यक्त गरे। विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमबहादुर मगरले पनि कम्पनीको सहयोगप्रति कृतज्ञता व्यक्त गरे।

कार्यक्रममा उद्योगले विद्यार्थीहरूलाई शैक्षिक तथा खेल सामग्री वितरण गर्नुका साथै अतिथिहरूलाई मायाको चिनो प्रदान गरेको उद्योगका ब्रान्ड प्रबन्धक अनुज महतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्