Logo

कोरिया र इजरायल कामदार पठाउने भन्दै अरुण सुमार्गीले गैरकानूनीरुपमा पैसा उठाउन थालेपछि महासंघभित्र विवाद

कोरिया र इजरायल कामदार पठाउने भन्दै अरुण सुमार्गीले गैरकानूनीरुपमा पैसा उठाउन थालेपछि महासंघभित्र विवाद



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरतगको कृषि उद्यम केन्द्रले कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने भन्दै जिल्ला नगर उद्योग वाणिज्य संघ अन्तरगत आफ्ना सदस्यसँग पैसा उठाउन थालेपछि महासंघभित्र विवाद उत्पन्न भएको छ ।

laxmi

विशेषगरी कृषि उद्यम केन्द्रका सभापति अरुण सुमार्गीले केन्द्र र कोरिया तथा इजरायल सरकारबीच सम्झौता भएको सोहीअनुरुप प्रशिक्षार्थी कामदार पठाउने भन्दै प्रत्येक जिल्ला तथा नगर उद्योग वाणिज्य संघका सदस्यसँग राहदानी र पैसा असुली गर्न थालेको आरोप लागेपछि महासंघभित्र विवाद उत्पन्न भएको हो ।

सभापति सुमार्गीले प्रत्येक जिल्ला नगरबाट ५ जनाका दरले प्रशिक्षार्थी कामदार पठाउने र सोका लागि राहदानी र अग्रिम रुपमा प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले पैसा मागेको सम्बद्ध जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षहरु बताउँछन् । ‘सुमार्गीले कतिपय जिल्ला नगरका साथीहरुसँग पैसा र राहदानी संकलन गरिसक्नुभएको रहेछ, हामीसँग पनि मागेपछि हामीले महासंघमा सोधेको थियौं,’ एक जिल्ला नगरका अध्यक्षले भने, ‘तर महासंघले यसविषयमा कुनै प्रक्रिया अघि नबढेको र सो सम्बन्धमा कसैलाई पनि राहदानी र पैसा नबुझाउन भनेपछि हामी रोकिएका छौं ।’

केन्द्रका सभापति सुमार्गीले जिल्ला नगरका सदस्यबाट प्रशिक्षार्थी कामदार पठाउने भन्दै पैसा र राहदानी संकलन गरेको गुनासो आएपछि महासंघले केही समयअघि विज्ञप्ति नै जारी गरेर गम्भिर ध्यानाकर्षण गराएको थियो । साथै महासंघले प्रतिक्षार्थी कामदार पठाउनेबारे आफ्ना कुनै पनि सदस्यलाई आग्रह नगरेको र प्रशिक्षार्थी पठाउने कुनै कार्यक्रमसमेत नरहेको जानकारी दिएको थियो ।

करिव २ महिना अघि सुमार्गीले कृषि उद्यम केन्द्रको सहभागितामा कोरिया र इजरायलमा ६ सय जना कामदार पठाउने बताएका थिए । सोमध्ये ५ सयजना कोरिया र १ सय जना इजरायल पठाउने जानकारी दिएका थिए । साथै तत्कालिन समयमा उनले त्यसरी जाने प्रशिक्षार्थी कामदारको सम्बन्धित जिल्ला नगर उद्योग वाणिज्य संघले छनौट गर्नेसमेत बताएका थिए ।

उक्त हल्ला फैल्याएर कामदार पठाउने सम्बन्धमा कुनै पनि प्रक्रियानै अघि नबढी जिल्ला नगर उद्योग वाणिज्य संघसँग गैरकानूनी रुपमा राहदानी र पैसा असुल्ने काम अघि बढाएको महासंघ स्रोतले जानकारी दिएको छ । साथै जिल्ला नगर उद्योग वाणिज्य संघबाट सो सम्बन्धमा धेरै गुनासो आएपछि बाध्य भएर विज्ञप्ति नै जारी गर्नुपरेकोसमेत महासंघ स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL