Logo

कतिसम्म पुग्ला नेपालमा सुनको मूल्य ? व्यवसायी भन्छन–अहिले लगानी गरेर कमाउने उचित समय हो

कतिसम्म पुग्ला नेपालमा सुनको मूल्य ? व्यवसायी भन्छन–अहिले लगानी गरेर कमाउने उचित समय हो



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरसको महामारी र यसले निम्त्याएको आर्थिक संकटसँगै विश्व अर्थतन्त्र धराशायी अवस्थामा पुगेको छ । करीब ६ महिना लामो समयदेखि जारी महामारीको असरले विश्व व्यापार श्रृङ्खला नै ध्वस्त भएको छ । त्यस्तै कोरोना महामारीका कारण सिर्जित अवस्था तथा लकडाउनका कारण विश्वका ठूला खानीहरुमा पनि गम्भीर असर परेको छ ।

laxmi

यसरी ब्यापार श्रृङ्खलामा परेको असर र खानीसम्बन्धी काममा कमी आउँदा विश्व बजारमा पहेलो धातुको रुपमा परिचित सुनको मूल्यले भने आकास छोएको छ र यो क्रम जारी छ । विश्वबजारमा सुनको भाउ बुधबार प्रति औंस १८ सय ६० डलर पुगेको छ । नेपालकै हकमा हेर्ने हो भने पनि सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ । ३ महिनाअघि मात्रै प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बुधबार प्रतितोला ९४ हजार रुपैयाँको उचाइमा पुगेको छ ।

विश्व बजारमा सन् २०२० कै अन्त्यसम्म प्रतिऔंस (एक आउन्स बराबर २८ दशमलव ३४ ग्राम) २ हजार डलर पुग्ने प्रक्षेपण गरिएको छ । नेपालको सन्दर्भमा भने नेपाल सरकारले चालु आर्थिक बर्षको बजेटमा सुन आयात गर्दा लाग्ने भन्सारमा वृद्धि गरेपछि पनि सुनको मूल्यमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनिकरत्न शाक्य बताउँछन् ।

विश्वबजारमा चुलिएको आर्थिक संकटसँगै बढेको डलरको भाउ र अर्थतन्त्रमा परेको प्रभावका कारण सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको उनको भनाई छ । ‘सुनको मूल्य बढ्ने क्रम जारी रहँदा अबको छोटो समयमै नेपालमा सुनको मूल्यले प्रतितोला १ लाखको सिमा नाघ्नेछ,’ उनले भने, ‘ अब सुनको मूल्य पुरानै अवस्थामा आउन असम्भव जस्तै भएको छ ।’
सुनको मूल्य बुलिस ट्रेन्डमा गइरहेको अवस्थालाई नियाल्दा सुनको मूल्यले नेपालमा दिनहुँ नयाँ रेकर्ड बनाउने प्रक्रिया कहिलेसम्म चलिरहन्छ भन्न सकिने अवस्था नरहेको व्यवसायी बताउँछन् । तर, अर्थतन्त्रमा परेको प्रभाव र अर्थतन्त्र पुर्नस्थापित हुन समय लाग्ने भएका कारण लामो समय मूल्यवृद्धीको क्रम नरोकिने पक्का भएको शाक्य बताउँछन् ।

यसरी दिनहुँ मूल्य बढिरहँदा बजारमा सुन किन्नेको संख्यामा ठुलो गिरावट आएको समेत उनले जानकारी दिए । उनका अनुसार ३ महिना अगाडिको तुलनामा सुन किन्ने र बेच्नेको तुलना गर्ने हो भने बेच्ने ग्राहकहरु धेरै छन् । यस्तै अहिले सुनको बेसिजन भएकाले पनि सुनको व्यापार कम छ । यसैगरी सुनको मूल्य बढिरहँदा लगनको महिना मंसिरसम्ममा सुनको मूल्यले १ लाख २० हजारको सिमा नाघ्ने देखिएको सुन कारोबारी बताउँछन् ।

हाल नेपालमा बैंकमा रहेको र बजारमा भएको गरी ३ सय किलो सुनले मंसिरसम्मलाई धान्ने प्रक्षेपण गरिएको छ । हाल बजारमा र विभिन्न बैंकमा गरी ३ सय किलोभन्दा बढी सुन स्टक छ । मूल्य बढिरहेकाले थप सुन भित्र्याउने अवस्था नरहेको शाक्य बताउँछन् ।

लगानीका हिसावले सुन कत्तिको लाभदायी ?

नेपालमा सुनलाई गरगहनाको लागि मात्रै प्रयोगमा ल्याउने चलन छ । विश्वका धनी देशहरुले जस्तो सुनमा लगानी गरी फाईदा कमाउने प्रचलन नेपालमा छैन । तर, लकडाउन अघि सुन किनेर राखेका लगानीकर्ताहरुले हालसम्म १० प्रतिशत बढी लाभ उठाईसकेका छन् ।

भविष्यमा अझै सुनको मूल्य बढ्ने प्रक्षेपण गरिएकाले हाल सुनमा लगानी गरेर रामै्र फाईदा उठाउन सकिने शाक्य बताउँछन् । नेपालमा पनि सुनमा लगानी गर्ने नीति हुनुपर्ने उनको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL