Logo

भारतीय अबरोधका कारण १ बर्षदेखि जडिबुटी निकासी अन्यौलमा, गोदाममै थन्कियो १५ हजार टन

भारतीय अबरोधका कारण १ बर्षदेखि जडिबुटी निकासी अन्यौलमा, गोदाममै थन्कियो १५ हजार टन



काठमाडौं । भारतको प्लान्ट क्वारेन्टाइनको अवरोधका कारण एक वर्षदेखि रोकिएको नेपाली जडिबुटीको निकासी अझै सुरु हुन सकेको छैन । भारत सरकारले २०१९ अक्टोबर १ २०७६ असोज १४ गते राजपत्रमा सूचना जारी गरी विदेशबाट आयात गर्ने जडिबुटीको नयाँ सूची जारी गरेको थियो ।

laxmi

नयाँ सूची जारी गरेसँगै एक वर्षदेखि रोकिएका नेपाली जडीबुटीको निकासीका लागि कानूनी बाटो खुले पनि त्यसको कार्यान्वयन नहुँदा समस्या भएको नेपाली जडीबुटी व्यवसायीको गुनासो छ । भारत सरकारका कारण जडीबुटी निकासीमा अनेकौँ समस्या खेप्नुपरेको सम्बद्ध व्यवसायीहरुको गुनासो रहेको छ ।

भारतको रुपैडियास्थित प्लान्ट क्वारेन्टाइन कार्यालयले भारत सरकारको केन्द्रीय प्लान्ट क्वारेन्टाइन कार्यालयबाट नयाँ सूचीअनुसार जडीबुटीको निकासी खुल्ला गर्नु भन्ने लिखितपत्र नआएको बताउँदै नेपाली जडीबुटीको निकासी रोकिदिएको जडीबुटी व्यवसायी संघ बाँकेका पूर्वअध्यक्ष राजेश जैनले बताए ।

तर राजपत्रमा भने जारी भएकै मितिदेखि कार्यान्वयन हुने भनेर प्रष्टरुपमा लेखिएको छ । उक्त व्यवस्था कार्यान्वयन नहुँदा नेपाली जडिबुटी निकासी गर्ने व्यवसायीलाई कर्मा परेको छ । ‘भारत सरकारले अक्टोबर १ मा जारी गरेको राजपत्र १ सय २२ किसिमका जडीबुटीको सूची थप गरिएको छ’, भारतीय व्यवसायी वकिल अहमद गुड्डुले भने, ‘नयाँ सूचीमा नेपालमा उत्पादन पखानबेद, सताबर, अमला, पदमचाल, चिराइतो, कमलबेद, अतिस, कालादाना, रिठा र सिकाकाइ, टिमुर, कुट्कीलगायतका अधिकांश जडिबुटीको नाम समाबेश गरिएको छ ।’

नयाँ सूची कार्यान्वयनमा आएपछि एक वर्षदेखि रोकिएको नेपाली जडीबुटीको निकासी खुल्ने जडिबुटी व्यवसायीले बताएका छन् । भारत सरकारको प्लान्ट क्वारेन्टाइन विभागले विदेशबाट आयात गर्ने जडिबुटीको नयाँ सूचीमा जारी गरेपछि नेपालगञ्ज नाकाबाट निकासी हुँदै आएका जडीबुटीको निकासीमा २०७५ मङ्सिरदेखि समस्या उत्पन्न भएको थियो ।

भारतको प्लान्ट क्वारेन्टाइनको अवरोधका कारण पखानबेद, सताबर, अमला, पदमचाल, चिराइतो, कमलबेद, अतिस, कालादाना र सिकाकाइ रिठा, टिमुर, कुट्कीलगायतका करिब ६० किसिमका जडिबुटी निकासी रोकिएको थियो । भारतको प्लान्ट क्वारेन्टाइनले निकासीमा अवरोध गरेपछि करिब १५ हजार टन जडिबुटी थन्किएको व्यवसायीले बताएका छन् ।

सरकारको प्रष्ट नीति नहुँदा अझै पनि किसानले आफ्नो खेतबारीमा जडिबुटी खेती गर्न सकेका छैनन् । वन जंगलमा जडिबुटी मासिने क्रम बढेको र किसानले जडिबुटी खेती गर्ने क्रम अझै शुरु नभएका कारण जडिबुटी संकलन र विदेशी निकासी घट्दै गएको हो । करिब १ अर्ब रुपैयाँ बराबरको जडीबुटी भारत निकासी हुँदै आए पनि पछिल्ला वर्षमा घट्दै गएको छ ।

भारत निर्यात गर्न संकलन गरेर ल्याइएको जडिबुटी नेपालगञ्जका व्यापारीको गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताए । ‘नेपालमा उत्पादित जडीबुटी निकासी नखुल्दा व्यवसाय नै ठप्प भएको छ’, उनले भने। रासस

प्रतिक्रिया दिनुहोस्
MBL