Logo

भेनेजुएलाको तेलमा अमेरिकी प्रतिवन्ध, राष्ट्रपति मदुरोमाथी दवाव सिर्जना

भेनेजुएलाको तेलमा अमेरिकी प्रतिवन्ध, राष्ट्रपति मदुरोमाथी दवाव सिर्जना



काठमाडौं । अमेरिकाले भेनेजुएलाको तेलको निर्यातमा प्रतिवन्ध लगाएको हो । त्यहाँको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागु भएको हो ।

बामपन्थी राष्ट्रपति निकोलास मदुरोको शासन विरुद्ध उभिएको संयुक्तराज्य अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो ।

संयुक्तराज्य अमेरिकाले भेनेजुएलाको राज्य नियन्त्रित पेट्रोलिओस डी भेनेजुएला (पीडीभीएसए) वा भेनेजुएला सरकारको ५० प्रतिशतभन्दा बढी लगानी रहेका कुनै पनि निकायबाट तेल आयात गर्नेहरुमाथि कारबाही गर्नेछ ।

राष्ट्रपति मदुरोलाई विस्थापित गरी विपक्षी नेता हुँवा गुएइदोलाई राष्ट्रपतिमा स्थापित गर्ने अमेरिकी ट्रम्प प्रशासनले स्पष्ट गरिसकेको छ । विपक्षी नेता गुएइदोलाई अमेरिका, युरोपेली मुलुकहरु सहित अधिकांश दक्षिण अमेरिकी देशहरुको समर्थन छ ।

सङ्कट आउनुअघि भेनेजुएलाले प्रतिदिन पाँच लाख ब्यारेल तेल संयुक्तराज्य अमेरिका निकासी गरिरहेको थियो । अमेरिका नै भेनेजुएलाको सबैभन्दा ठूलो तेलको ग्राहक मुलुक हो ।

आइतबारदेखि प्रतिबन्ध लागू हुने भएपनि संयुक्तराज्य अमेरिका र भेनेजुएलाबीचको तेल व्यापारमा केही महिनादेखि तिब्र रुपमा कमी आइसकेको छ, अन्तर्रा्ष्ट्रिय कानुनका विज्ञ मारिआनो डी अल्बाले बताए ।

तर पनि प्रतिबन्धको असर भेनेजुएलाको अर्थतन्त्रमा पर्नेछ । भेनेजुएलासँग तेलको कारोबार गर्ने अरु कम्पनीमाथि पनि अमेरिकाले निगरानी गर्नेछ जसबाट भेनेजुएलामाथि थप दबाब सिर्जना हुनेछ ।

ऊर्जा खपतमा अग्रणी मानिएको भारत सन् २०१७ मा तेस्रो ठूलो आयातकर्ता मुलुक हो । पहिलो र दोस्रो स्थानमा संयुक्तराज्य अमेरिका र चीन रहेका छन् ।

तर भारतीय कम्पनीहरुले अमेरिकी प्रतिबन्धसँगै तेल खरिदमा कमी गर्न थालिसकेका छन् । मदुरोको शासनलाई समर्थन जनाएका चीन र रुसले भेनेजुएलालाई आर्थिक तथा राजनीतिक मद्दत गरिरहेका छन् ।

इरानबाट तेल खरिद गर्न रोकिएसँगै विश्व बजारमा तेलको मूल्यवृद्धि हुन थालिसकेको छ ।

भेनेजुएलाको लडखडाएको अर्थतन्त्रमा तेल नै जीवनरक्षक हो । भेनेजुएलाको कूल निर्यातको झण्डै ९६ प्रतिशत तेल निकासीबाट आम्दानी हुने गर्दछ । राससएएफपी

प्रतिक्रिया दिनुहोस्
MBL