Logo

बैशाख यता  १३० वैदेशिक लगानीका उद्योग दर्ता, आकर्षणमा पर्यटन र सेवा

बैशाख यता  १३० वैदेशिक लगानीका उद्योग दर्ता, आकर्षणमा पर्यटन र सेवा



काठमाडौं । नयाँ बर्षको शुरुवातसँगै प्रत्यक्ष वैदेशिक लगानीका उद्योग दर्ता हुने क्रम बढेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार २०७५ बैसाख १ गतेदेखि हालसम्म १ सय ३० ओटा वैदेशिक लगानीका उद्योग दर्ता भएका छन ।

विभागका अनुसार सो उद्योगमार्फत नेपालमा करिब १८ अर्व २७ लाख रुपैयाँ बराबरको लगानी भित्रिएको छ । सो अबधिमा सबैभन्दा बढि वैदेशिक लगानी पर्यटन तथा सेवा क्षेत्रमा रहेको विभागले जानकारी दिएको छ ।

३ महिनाको अबधिमा कुल १ सय ३० ओटा उद्योग दर्ता भएकोमध्ये ६१ ओटा पर्यटन सम्बन्धी उद्योग रहेका छन् । यसैगरी ३८ ओटा सेवा क्षेत्रका उद्योग रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो ३ महिनामा सेवा क्षेत्रका उद्योगमा होटल तथा लजहरुमा वैदेशिक लगानी भित्रिएको उद्योग विभागका प्रवक्ता दुर्गा भुषालले जानकारी दिए । ‘पर्यटन क्षेत्रको विकाससँगै पर्यटकलाई दिइने सेवा सुविधा क्षेत्रमा पनि विदेशी लगानीकर्ताको आकर्षण रहेको छ ।’ उनले भने, ‘पर्यटन क्षेत्रमा विदेशीको लगानी बढेसँगै सेवा क्षेत्रका होटल तथा रेष्टुराँमा पनि विदेशी लगानीकर्ताले लगानी बढाएका हुन ।’

यसैगरी विदेशी लगानीकर्ताहरुको चासो जलविद्युत क्षेत्रमा पनि देखिएको छ । सो अबधिमा २ ओटा उर्जा कम्पनीमार्फत करिब १४ अर्व १६ करोड लगानीको प्रस्ताव गरेका छन । संख्याको आधारमा पर्यटन क्षेत्रका धेरै उद्योगमा लगानी भित्र्याए पनि लगानीका तुलनामा सो अबधिमा ऊर्जा क्षेत्रमा सबैभन्दा बढि वैदेशिक लगानी भित्रिएको छ ।

पछिल्लो ३ महिनामा विदेशी लगानीकर्ताहरुले सुचना प्रविधिको क्षेत्रमा पनि लगानी गरेका छन । विदेशी लगानीकर्ताहरुले नेपालको सुचना प्रविधि क्षेत्रका ७ ओटा उद्योगमा लगभग २५ करोड लगानी भित्र्याएका हुन । यस्तै निर्माण सम्बन्धी उद्योगमा पनि विदेशी लगानीकर्ताहरुको आकर्षण पनि उत्तिकै रहेको छ । गएको बैशाखदेखि हालसम्म निर्माण सम्बन्धी १७ ओटा उद्योगमा लगभग ५६ करोड ५९ लाख लगानी भित्रिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL