काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्रीलाई राजदूत फेनले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक मित्रता, ऊर्जा क्षेत्रमा सहयोग, पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, तथा जलवायु परिवर्तनका चुनौती न्यूनीकरणका उपायसम्बन्धी विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटका क्रममा मन्त्री घिसिङले जेन–जी आन्दोलनपछि बनेको सरकारको मुख्य प्राथमिकतामा आन्दोलनका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, आगामी आमनिर्वाचन र सुशासनलाई राखिएको जानकारी दिए । उनले बेलायतले नेपालको आर्थिक विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै विद्युतीय सवारीसाधनको प्रयोग विस्तारका लागि चार्जिङ स्टेसन स्थापना गर्न भइरहेको सहयोगलाई प्रभावकारी बताउँदै निरन्तरता दिन आग्रह गरे ।
त्यस्तै, उनले बेलायतमा सफल मानिएको सार्वजनिक–निजी साझेदारी (पीपीए) मोडेललाई नेपालमा पनि लागू गर्ने, ग्रिन हाइड्रोजन प्रवर्द्धन, जलवायु परिवर्तनका कारण सम्भावित हिमताल विस्फोटको जोखिम अध्ययन लगायतका क्षेत्रमा सहयोगको आवश्यकता औंल्याए ।
नेपालको सफलता बेलायतकै सफलता भएको बताउँदै राजदूत फेनले नेपालको आर्थिक रुपान्तरणमा बेलायत सहयोग गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।