Logo

लगानी भित्र्याउन युएईका लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह, भन्छन्-उपयुक्त अवसर छ

लगानी भित्र्याउन युएईका लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह, भन्छन्-उपयुक्त अवसर छ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले युएईका लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्ने उपयुक्त अवसर भएको भन्दै नेपालमा लगानी गर्न आग्रह गरेका छन् । संयुक्त अरब इमिरेट्स (युएई) र नेपालबीच आर्थिक सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबार काठमाडौंमा आयोजित युएई आर्थिक प्रवद्र्धन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उक्त कुरा बताएका हुन् ।

नेपालले पछिल्लो समय व्यापक आर्थिक सुधारहरु गरिरहेको र लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिवद्ध रहेको बताउँदै अध्यक्ष ढकालले ३० भन्दा बढी कानुनहरु संशोधन भइसकेको र द्विपक्षीय लगानी सम्झौता अन्तिम चरणमा रहेको अवस्थामा युएईका लगानीकर्ताहरुका लागि यो समय नेपालमा लगानी गर्ने उपयुक्त अवसर हुने धारणा व्यक्त गरेका छन् ।

‘नेपाल अहिले स्थायित्व र सम्भावनाको चरणमा छ । उर्जा, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधि जस्ता क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको छ’ अध्यक्ष ढकालले भने, ‘त्यसैले युएईका लगानीकर्ताहरुका लागि अहिलेको समय नेपाल प्रवेश गर्न उपयुक्त अवसर हो ।’ उनले जलविद्युत, सौर्य उर्जा, प्रसारण लाइन, रिसोर्ट, साहसिक पर्यटन, कृषि उत्पादन प्रशोधन तथा आइसीटी आउटसोर्सिङमा संयुक्त लगानीको प्रस्ताव पनि राखे ।

युएई नेपालका लागि एक विश्वासिलो मित्र रहेको र लाखौं नेपालीलाई रोजगारीको अवसर प्रदान गर्दै नेपालको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै नेपालको तर्फबाट २ देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाए ।

यस्तै अध्यक्ष ढकालले युएईमा कार्यरत ३ लाखभन्दा बढी नेपालीहरुलाई लक्षित गर्दै वित्तीय सेवाहरु, तालिम केन्द्रहरु र सीप विकासमा लगानी गर्न आग्रह गरे । महासंघ युएईका लगानीकर्ताहरुका लागि आवश्यक सम्पर्क, मार्गदर्शन र सहजीकरण गर्न पूर्ण रुपमा तयार रहेको उल्लेख गर्दै उनले दुबई चेम्बर अफ कमर्ससँगको सहकार्य र भविष्यमा संयुक्त सम्मेलनहरु आयोजना गर्ने योजना रहको बताए ।

प्रतिक्रिया दिनुहोस्