काठमाडौं । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को ११ औं संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । यो प्रतिष्ठित कार्यक्रमले नेपालका किशोर किशोरीहरूलाई उनीहरूको असाधारण योगदान र नेतृत्वका लागि सम्मान गर्ने लक्ष्य राखेको छ ।
ग्लोकल टीन हिरो, ग्लोकल प्रा.लि. को एक महत्वपूर्ण पहल हो । जुन केवल अवार्ड वा पुरस्कार मात्र नभई परिवर्तनकारी भावना भएका युवा/किशोर किशोरीहरूलाई उचित मूल्यांकन गर्दै नयाँ पुस्ता माझ आभारी पुर्वक पहिचान दिलाउँछ ।
ग्लोकल प्रा.लि. प्रशिक्षण, शिक्षा, र सीप विकासका क्षेत्रमा कार्यरत एक अग्रणी संस्था हो। यस कार्यक्रमले किशोरकिशोरीहरूलाई उनीहरूको प्रतिभा, सिर्जनशीलता र सामाजिक कार्यहरू प्रस्तुत गर्ने अद्वितीय अवसर प्रदान गर्दछ । यसले शैक्षिक गतिविधि र व्यक्तिगत सिमा रेखाभन्दा बाहिर रहेर आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने सक्रिय युवाहरूलाई विशेष रूपमा चिनाउँछ ।
पृष्ठभूमि र विस्तारः ग्लोकल टीन हिरोको सुरुवात सन् २०१५ मा काठमाडौं उपत्यकाका प्रतिभावान किशोरकिशोरीहरूलाई सम्मान गर्ने उद्देश्यले भएको थियो । सन् २०१६ देखि यस कार्यक्रमलाई देशभर विस्तार गरियो, जसले गर्दा सम्पूर्ण नेपालका किशोरकिशोरीहरूले यो उत्कृष्ट मञ्चबाट लाभान्वित हुन सकेका छन् ।
यसको पहुँचलाई दक्षिण एसियाका अन्य देशहरूमा समेत विस्तार गर्ने लक्ष्यका साथ सन् २०१९, २०२० र २०२२ मा भारत, श्रीलंका र बंगलादेशमा पनि ग्लोकल टीन हिरो प्रारम्भ गरिएको थियो । नेपालको शुद्द धरातल बाट सुरुवात हुँदै निरन्तर विकसित हुँदै विश्वभरका उत्कृष्ट किशोरकिशोरीहरूको योगदानलाई प्रकाश पारिरहेको छ ।
नेपालमा नै परिकल्पना गरिएको यो कार्यक्रमको ११ औं वर्षमा, ग्लोकल टीन हिरोले नेपालका समर्पित, उत्साही र नवप्रवर्तनशील किशोरकिशोरीहरूलाई सशक्तिकरण र पहिचान प्रदान गर्न आवेदन आह्वान गरेको छ ।
आवेदन कसले दिने ?
ग्लोकल टिन हिरो नेपाल २०२५ का लागि देशभरका १३ देखि १९ वर्ष उमेर समूहका सबै उत्साही, लगनशील, दूरदर्शी र परिवर्तनकारी भावना बोकेका किशोरकिशोरीहरूले आवेदन दिन सक्नेछन ्। यदि तपाईंले आफ्नो समुदाय, समाज वा कुनै विशेष क्षेत्रमा उल्लेखनीय र प्रभावकारी कार्य गरिरहेका छन् , शैक्षिक गतिविधिभन्दा माथि उक्लिएर आफ्नो प्रतिभा र सेवाकारी रुप प्रदर्शन गरिरहेका छन्, वा सकारात्मक परिवर्तन ल्याउन सक्रिय छन् भने, यो मञ्च तपाईंको लागि नै हो। तपाईंको पहल, प्रभाव र उपलब्धिलाई सम्मान गर्न हामी आतुर छौं ।
आवेदन प्रक्रिया र समय सीमा
यस वर्ष ग्लोकल टीन हिरोले नेपालभरका ६० भन्दा माथिका शहरहरूमा पुग्ने र किशोरकिशोरीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने योजना बनाएको छ । यो पूर्णतःनिःशुल्क कार्यक्रम हो, जहाँ नेपालका १३ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरूले https://glocalteenhero.com/nepal. मार्फत अनलाइन आवेदन दिन सक्ने छन्।
साथै, आफ्नो समुदायका परिवर्तनशील किशोर/किशोरीहरूलाई मनोनयन गर्ने सुविधा पनि उपलब्ध छ । आवेदन आजबाट खुल्ला गरिएको छ र आवेदन पेस गर्ने अन्तिम मिति जुलाई ३०, २०२५ तोकिएको छ। दुवै सहभागिता र मनोनयन आवेदन अनलाइन उपलब्ध छन्।
छनोट प्रक्रिया
आवेदन र कागजातको समीक्षा पछि, ग्लोकलको २०अण्डर२० को छनोट गरिनेछ । यस छनोट प्रक्रियामा सहभागीहरूको पहल, प्रभाव र उपलब्धिलाई गहन रूपमा मूल्यांकन गरिनेछ । तत्पश्चात्, शीर्ष ६ फाइनलिस्टहरू छनोट गरिनेछन् जसले गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को अन्तिम चरणमा भाग लिने अवसर पाउनेछन्। उनीहरूको दूरदृष्टि, आचरण र कार्यको दिगोपनका आधारमा अन्तिम मूल्यांकन गरिनेछ ।
विशिष्ट निर्णायक मण्डल
ग्लोकल टीन हिरो नेपाल २०२५ को ग्रान्ड फिनालेमा असाधारण दिग्गज, अग्रगामी र परिवर्तनकारी व्यक्तित्वहरूको एक प्रतिष्ठित निर्णायक मण्डलले फाइनलिस्टहरूको अन्तर्वार्ता र मूल्यांकन गर्नेछ । यस वर्ष जूरीमा कोका–कोला नेपालकी राष्ट्रिय निर्देशक चन्द्रिका कालिया, डब्लुडब्लुएफ नेपालका राष्ट्रिय निर्देशक डा.घन श्याम.गुरुङ, गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छा, सुरज वैद्य, अध्यक्ष वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेस, र नेपालका लागि युरोपेली संघका कार्यवाहक प्रमुख थोमस मिलर छन् । उनीहरूको नेतृत्व, विश्वव्यापी दृष्टिकोण र युवा सशक्तिकरणप्रतिको अटुट प्रतिबद्धताले नेपाल र विश्वका भविष्यका उज्ज्वल प्रतिभाहरूलाई पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।