Logo

ग्राहकको घरसम्मै भूमिगत तारबाट बिजुली, काठमाडौं महानगर र प्राधिकरणको समन्वयले फुटपाथ पनि दिगो

ग्राहकको घरसम्मै भूमिगत तारबाट बिजुली, काठमाडौं महानगर र प्राधिकरणको समन्वयले फुटपाथ पनि दिगो



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हालसम्म बिजुलीको मुख्य लाईनमात्रै भूमिगत गरिरहेकोमा अब सबै ग्राहकको घरसम्मै भूमिगत तार पुर्याउन सुरु गरेको छ । प्राधिकरणले काठमाडौं उपत्यकाभित्र मुख्य सडक क्षेत्रबाहेक सबै क्षेत्रमा भूमिगत लाईन विस्तार गरेसँगै अब घरघरमा त्यस्तो लाईन पुर्याउने काम सुरु गरेको हो ।

laxmi

यो काम भने काठमाडौं महानगरपालिकाको समन्वयमा अघि बढिरहेको प्राधिकरणले जानकारी दिएको छ । हाल काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा फुटफाथ निर्माण कार्य अघि बढाएको छ । फुटपाथ सुधार गरिरहेको स्थानमा पछि पुनः खन्नुपर्ने अवस्था आउनसक्ने भन्दै काठमाडौं महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणलाई पहिले फुटपाथमा तार बिछ्याउन आग्रह गरेको थियो । सोही अनुसार हाल काठमाडौंको लैनचौर–महाराजगंज सडक क्षेत्रमा प्राधिकरणले प्रत्येक घरमा यस्तो भूमिगत लाईन जडान कार्य अघि बढाएको हो ।

हाल प्राधिकरणले सडकका फुटपाथमा गाडिएका बिजुलीका तारसँगै जोडिएको डिस्ट्रीब्युटर प्यानलहरुबाट ग्राहकको घरघरसम्म तार पुर्याउन लागेको हो । यसअघि किर्तिपुरमा सम्पन्न गरिसकेको यस्तो काका लागि भारतीय कम्पनी एल एण्ड टी –लार्सेन एण्ड टब्रो) ईन्डिया कम्पनीले काम गरिरहेकोछ । कम्पनीले डिस्ट्रीब्युटर प्यानलहरुबाट तार छुट्याएर पाईपभित्र तार घुसाई ग्राहकको घरसम्मै ३० र ६० एम्पियर क्षमताको तार पुर्याईदिन्छ । यस्तो तार भन ग्राहकको घरमा विद्युतीय सामग्रीको प्रयोग र खपतको अनुमानलाई आधार मानेर पुर्याउने गरिएको विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक तारा प्रधान बताउँछन् ।

‘हामीले हाल लैनचौरदेखि चक्रपथसम्म काठमाडौं महानगरपालिकाको समन्वयमा घरसम्म तार पुर्याउने काम गरिरहेका छौं,’ उनले भने, ‘यसपश्चात हामी भूमिगत तारबाटै ग्राहकलाई विद्युत वितरण प्रक्रिया अघि बढाउनेछौं ।’

ग्राहकको घरसम्म पुगेको यस्तो तारबाट ग्राहकले आवश्यकता अनुसार बिजुलीको उपयोग गर्न सक्नेछन् । यसरी ग्राहकको घरसम्मै विद्युत तार पुगेसँगै प्राधिकरणले पहिलो चरणमा महाराजगंज क्षेत्रमा विद्युत वितरण पनि भूमिगत प्रणालीबाटै गर्ने तयारीसमेत गरेको छ ।

यसरी प्राधिकरणले मुख्य लाईनबाट ग्राहकको घरसम्मै विद्युत तार पुर्याएपनि काठमाडौं महानगरपालिकाले भने फुटफाथमा टायल विछ्याउने गरेको छ । यसअघि एक निकायले सडक वा फुटफाथको काम गरिसकेपछि अर्काे निकाय आएर खन्ने प्रवृत्ति थियो । यसपल्टदेखि भने काठमाडौं महानगरपालिकाले फुटपाथमा टायल हाल्नुपूर्व प्राधिकरणलाई तार बिछ्याउन आग्रह गरेको थियो । यसरी काम हुँदा फुटपाथको काम पनि दिगो भएको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौंलगायत देशभरका शहरहरुमा असरल्ल भई सहरको सौन्दर्य विगारेका तार व्यवस्थापन गर्न २०७६ सालमा सुरु गरेको थियो । त्यसयता प्राधिकरणले काठमाडौं उपत्यकामा करिव सबैजसो क्षेत्रमा र चितवन, पोखरालगायतका सहरमा यो सुरु गरिसकेको छ ।

प्राधिकरणले हाल काठमाडौं उपत्यकाका धेरैजसो स्थानमा र सहायक सडकमार्गहरुमा तार भूमिगत गर्ने कार्य सम्पन्न गरिसकेको छ । तर, रत्नपार्क वरीपरी, माईतिघरदेखि तिनकुनेसम्म, एयरपोर्ट नजिक र सिंहदरबार आसपास सडक खन्ने अनुमति सडक विभागले दिएको छैन ।

तार भूमिगत गर्नु अघि नै होरीजेन्टल मेसिनको प्रयोग गरी तार भूमिगत गर्ने, सडक खनेको १० दिनमै पुरेर सफा गरिदिने, चाँडै मर्मत गर्नेलगायतका कुराहरुमा दुई निकायबीच सहमति भएपनि प्राधिकरणले त्यसो नगरेपछि सडक विभागले काठमाडौंकै मुख्य सडकमा अझै भूमिगत तार विछ्याउन दिएको छैन ।

नेपाल विद्युत प्राधिकरणले २०७६ फागुन ५ गतेदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने कार्य अघि बढाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यको शिलान्यास गरेका थिए । सो कार्य शिलान्यास गर्नेबेला सडक विभागले सबै सडकमा प्राधिकरणलाई तार भूमिगत गर्न सहमति दिएपनि बीचमा मुख्य सडकहरुमा भने पहिलेको सहमतिले काम नगर्ने र पुनः सहमति लिनुपर्ने विभागको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL