Logo

२० प्रतिशतले बढ्यो ईकमर्श व्यापार, ११ महिनामा साढे ५ अर्बको कारोबार

२० प्रतिशतले बढ्यो ईकमर्श व्यापार, ११ महिनामा साढे ५ अर्बको कारोबार



काठमाडौं । चालु आर्थिक बर्षको ११ महिनामा नेपालमा साढे ५ अर्ब रुपैयाँ बढीको इकमर्श कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार गत बर्षको साउनयता जेठसम्म नेपालीहरुले अनलाईनमार्फत वस्तु खरिद गरेर ५ अर्ब ५७ करोड ८० लाख रुपैयाँ खर्च गरेका हुन् ।

laxmi

विश्वभर कोरोना महामारी फैलिएपछि अनलाईनमार्फत हुने कारोबारहरु बढेका थिए। जसको असर नेपाली इकमर्श कम्पनीहरुमा पनि देखिन्छ । यसैका कारण पछिल्लो समय अनलाईनमार्फत वस्तु तथा सेवा खरिद गर्ने नेपालीहरुको संख्या पनि बढिरहेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनामा ८ लाख ९५ हजार ६ सय २५ पटक इकमर्श कारोबार भएको छ । यो गत आर्थिक बर्षको यहि अवधिवको तुलनामा ४ लाख पटकले बढी हो । यस्तै यस अवधिमा भएको इकमर्श कारोबार पनि गत बर्षको यहि अवधिको तुलनामा २० प्रतिशत अर्थात १ अर्बले बढी हो ।

गत बर्षको यहि अवधिमा ४ लाख ७१ हजार पटक ४ अर्ब ४५ करोड रुपैयाँ बराबरको इकमर्श कारोबार भएको थियो ।
चालु आर्थिक बर्षको मासिक तथ्यांक अुनसार पनि पछिल्लो महिना अर्थात जेठमा भने इकमर्श कारोबार बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठमा मात्रै ६० करोड ९० लाख रुपैयाँ बराबरको इकमर्श कारोबार भएको छ । तर, त्यसकै अघिल्लो महिना बैशाखमा ५२ करोड १० लाख रुपैयाँ बराबरको इकमर्श कारोबार भएको थियो ।

पछिल्लो समय नेपालमा बढ्दै गएका इकमर्श कम्पनी र डिजिटल भुक्तानीको ट्रेन्डलाई यसका प्रयोगकर्ताले पनि पछ्याउन थालेको देखिन्छ । बैंक वित्तीय संस्था र भुक्तानी सेवाप्रदायकहरुले बढाएको क्युआर कोडमार्फत हुने भुक्तानी, मोबाईल बैंकिङलगायतका माध्यमबाट हुने भुक्तानी बढेपछि पनि इकमर्श कारोबार बढिरहेको देखिन्छ ।

चालु आवको ११ महिनामा क्युआर पेमेन्टमार्फत मात्रै २ खर्ब १५ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ । यस्तै यसै अवधिमा मोबाईल बैंकिङमार्फत १९ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको भुक्तानी हुँदा कनेक्ट आइपीएसमार्फत ३६ खर्ब १६ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ ।

यसरी उपभोक्ताको मोबाईलबाटै वस्तु खरिद गरेको भुक्तानी गर्न सक्ने अवस्था भएपछि इकमर्श कारोबारमा पनि आकर्षण बढेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL