Logo

अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माण सुरु, लागत १ अर्ब ३० करोड लाग्ने

अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माण सुरु, लागत १ अर्ब ३० करोड लाग्ने



काठमाडौं । विहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । दोस्रो चरणको कार्यअन्तर्गत आइओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह (ट्याङ्क) निर्माण सुरु भएको हो ।

laxmi

मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आयात गर्ने पहिलो चरणको परियोजना सम्पन्न भएपछि पाइपलाइनबाट पेट्रोल आयात गर्न दोस्रो चरणको कार्य सुरु भएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोले जनाएको छ । मोतिहारीदेखि अमलेखगञ्ज ७६ किमीको दूरी रहेको छ । नेपाल र भारतबीच भएको सम्झौताअनुसार दोस्रो चरणको कार्य इन्डियन आयल कर्पोरेशन (आइओसी)ले गर्ने बताइएको छ ।

उक्त पूर्वाधार निर्माण गर्न १ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान रहेको डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिए । भण्डारण गृह निर्माण नभएका कारण पाइपलाइनबाट पेट्रोल ल्याउन नसकिएको उनले बताए । उक्त परियोजनाअन्तर्गत पहिलो चरणको २०७६ भदौ २४ गते सम्पन्न कार्यबाट पाइपलाइनबाट डिजेल आयात गर्न सुरु भएको बताइएको छ ।

दोस्रो चरणअन्तर्गत अमलेखगञ्जमा पेट्रोल भण्डारण गर्न ४ हजार १ सय किलोलिटर क्षमताका दुई ट्याङ्की निर्माण भइरहेको छ । साथै डिजेल र पेट्रोलको गुणस्तर परीक्षण गर्न प्रयोगशाला र आधुनिक प्रविधिसहित ट्याङ्कर लोड र अनलोड गर्न २४ वटा लोडिङ फिलिङसेट निर्माण गर्न लागिएको हो ।

यो प्रणालीबाट लोड अनलोड गर्दा आगलागीको जोखिम कम हुन्छ । पेट्रोल चोरी र ढुवानीको समस्या हट्ने विश्वास लिइएको छ । त्यस्तै मोतिहारीमा पनि पेट्रोल भण्डारणगृह निर्माण भइरहेको छ । विगतमा रक्सौलबाट अमलेखगञ्जसम्म ३५ किमीको दूरीमा ट्याङ्करमार्फत पेट्रोलियम पदार्थअन्तर्गत पेट्रोल र डिजल आयात भइरहेको थियो । हाल पाइपलाइनबाट प्रतिघण्टा २ सय ५० किलोलिटरका दरले डिजेल आयात भइरहेको बताइएको छ ।

पहिलो चरणको परियोजनामा पाइपलाइनमार्फत डिजल आयात गर्न नेपाल आयल निगम र आइओसीको संयुक्त लगानीमा मोतिहारीदेखि अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निमार्णको काम २ अर्ब ७५ करोड भारतीय रुपैयाँमा सम्पन्न भएको थियो । अमलेखगजञ्मा हाल १९ हजार किलोलिटर क्षमताको डिजेल र २ हजार १ सय किलोलिटर पेट्रोल भण्डारण गर्ने क्षमता छ । बजारको मागअनुसार पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ । उक्त पाइपलाइनबाट आयात गरिएको डिजेल वीरगञ्ज, जनकपुर अमलेखगञ्ज, काठमाडौँ, पोखरा, चितवनलगायत जिल्लामा बिक्री वितरणका लागि पठाउने गरिएको छ ।

नेपालका तर्फबाट तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतका तर्फबाट प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच २०७२ साल भदौ ७ गते पेटोलियम पाइपलाइन परियोजना निर्माण गर्नका लागि सम्झौता भएको थियो । आगामी सन् २०२४ जनवरीमा पूर्वाधार निर्माण सकेर पाइपलाइनबाट पेट्रोल आयात गर्ने आयल निगमको लक्ष्य रहेको अमलेखगञ्ज डिपोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL