Logo

बेलायतसँग ब्यापार सहजीकरण गरीदिन चेम्बरको आग्रह, राजदूतले भने ‘सक्दो पहल गर्नेछु’

बेलायतसँग ब्यापार सहजीकरण गरीदिन चेम्बरको आग्रह, राजदूतले भने ‘सक्दो पहल गर्नेछु’



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बेलायतसँग व्यापार सहजीकरण तथा निर्यात प्रवद्र्धनका लागि भूमिका निभाउन नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्यलाई आग्रह गरेको छ । जमलस्थित चेम्बर भवनमा बेलायतका लागि नवनियुक्त राजदुत आचार्यलाई स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले यस्तो आग्रह गरेका हुन् ।

उनले बेलायतसँग नेपालको कुटनीतिक सम्वन्ध २ सय वर्षभन्दा वढी भएपनि आर्थिक र व्यवसायिक सम्वन्ध फस्टाउन नसकेको भन्दै सहजीकरणका लागि कुटनीतिक पहल गरीदिन आग्रह गरेका थिए ।

मल्लले हालको व्यापार हिस्सा निकै सानो भएकाले निर्यात योग्य थप वस्तुहरुको पहिचान गर्नुपर्नेमा जोड दिए । बेलायतसँग वार्षिक २ अर्व हाराहारीमा मात्रै व्यापार भईरहेको सन्र्दभमा अध्यक्ष मल्लले जडीवुटी, खानिजन्य वस्तुहरु, चियाको ब्रान्डिङ गरेर निर्यात बढाउन बेलायती उद्योगी व्यवसायीसँग सहकार्य गर्न सकिने उल्लेख गरे । यसका लागि दुईपक्षीय उच्चस्तरीय व्यापारिक भेटवार्ताको पहल हुनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । नेपाल र बेलायतका उद्योगी व्यवसायीबीच पछिल्लो १० वर्षदेखि व्यवसायिक उच्चस्तरीय भेटवार्ता हुन नसकेको प्रति अध्यक्ष मल्लले राजदुत आचार्यको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्र बैंकको तथ्याङक अनुसार नेपालले हस्तकलाका सामान, पस्मिना, गार्मेन्ट्स, उलन लगायतका गरि गत वर्ष २ अर्व ३ करोड रुपैयाँको व्यापार गरेको थियो । बेलायतबाट भने सवारी साधन, केमिकल्स, मदिरा लगायत २ अर्व २६ करोड रुपैयाँको वस्तु आयात गरेको छ ।
अध्यक्ष मल्लले पूर्वाधार, जलश्रोत, होटल, पर्यटन क्षेत्रमा लगानीको पहल गर्नका लागि पनि आचार्यलाई आग्रह गरे । सुन चाँदीको तयारी गरगहना, जिन्सको पेन्ट लगायत अन्य तयारी कपडाको पनि बेलायतमा निर्यातको सम्भावना रहेको अध्यक्ष मल्लले बताए ।

नवनियुक्त राजदुत आचार्यसँग चेम्बर पदाधिकारीले बे्रक्जिटबाट अलग भएपछि बेलायतसँग छुट्टै व्यापारिक सम्झौता आवश्यक रहेकोमा जोड दिएका थिए । बेलायतस्थित नेपाली राजदुतावासमा वर्षमा कम्तिमा एक पटक व्यापारिक मेला गर्न पनि चेम्बरका पदाधिकारीले राजदुत आचार्यसँग आग्रह गरे ।

जवाफमा राजदुत आचार्यले ब्रेक्जिटपछि बेलायतसँग छुट्टै व्यापारिक सम्वन्ध कायम गराउने आफ्नो पहिलो कदम हुने बताएका छन् । बेलायतसँगको सवैभन्दा पुरानो कुटनीतिक सम्वन्धलाई उच्चस्तरीय आर्थिक सम्वन्धमा परिणत गर्नका लागि आफुले सक्दो पहल गर्ने आचार्यको भनाई छ ।

उनले आफ्नो कार्यकालको शुरुमै दुई देशका व्यापारी बीचको मिलन गराउने तथा व्यवसायिक भेटवार्ताका लागि पहल गर्ने आश्वासन समेत दिए । बेलायतले पछिल्लो समय जलवायु परिवर्तन विरुद्धको अभियान जारी राखेको तथा ठूलो रकम त्यसैमा खर्च गरिरहेकाले नेपालले पनि यसबाट लाभ लिने सम्भावना रहेको उनले बताए । नेपाल विकासशील राष्ट्रमा गएपनि भुपरिवेष्ठित देशको हैसियतमा पाउने व्यापार सुविधाका लागि आफुले पहल गर्ने आचार्यको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL