Logo

‘युवासंग महालक्ष्मी लाईफ’ अभियान शुरु, बीमाको महत्व बारेमा युवाहरुलाई जानकारी गराउने

‘युवासंग महालक्ष्मी लाईफ’ अभियान शुरु, बीमाको महत्व बारेमा युवाहरुलाई जानकारी गराउने



काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘युवासंग महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियानको औपचारिक रुपमा प्रारम्भ गरेको छ । इन्स्योरेन्सले धुलिखेलको धुलिखेल लज रिसोर्टमा असोज २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे यो कार्यक्रमको उदघटन गरिएको हो ।

laxmi

सम्मेलनमा मेचीदेखि महाकालीसम्मका ९० भन्दा बढी युवा अभिकर्ता र अधिकृत कर्मचारीहरुको उपस्थिति रहेको थियो । ‘काम गरी आय आर्जन गरौं–बीमा गरी सुरक्षित बनौं’ भन्ने मूल नारालाई लिएर बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रममार्फत युवामाझ गई बेरोजगार र कामको खोजीमा रहेका युवालाई आर्थिक रुपमा सक्रिय पार्ने कम्पनीको लक्ष्य रहेको छ ।

मुलुकमा शिक्षा, स्वास्थ्य र बृद्ध अवस्थाको ग्यारेन्टी सरकारले गर्न सकिरहेको छैन । अर्को तिर देशमा स्वरोजगारीका प्रसस्त अवसर हुँदा पनि युवा वर्ग कामको खोजीमा विदेश पलायन भइरहेका छन् । यस्तो विषम परिस्थितिमा उपलब्ध कामको अवसर र बीमाको महत्व बारेमा युवाहरुलाई जानकारी गराउने र उनीहरु मार्फत समाजमा बीमा प्रति जागरण ल्याउने गरी सम्मेलनले कार्यक्रम तर्जुमा गरेको छ ।

दुई दिने उक्त सम्मेलनमा महालक्ष्मी लाईफ इन्स्योरेन्सका संचालक तथा एम्विसन कलेजका प्रमुख सुरेश सापकोटा, प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई तथा बीमा क्षेत्र संग दुई दशक देखि जोडिएका स्वास्थ्य बीमा वोर्डका कार्यकारी निर्देशक, बीमा विज्ञ डा दामोदर बस्यौलाले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

त्यस्तै, बीमा जागरण राष्ट्रिय अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा देशभरीका अभिकर्ता र अधिकृत सम्मिलित केन्द्रिय कमिटी गठन गरिएको छ । जिल्ला स्तरमा पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित जिल्लामा कार्यरत कर्मचारी र अभिकर्तालाई समावेश गरी २०७८ पुस मसान्तभित्र जिल्ला जागरण अभियान समिति गठन गरिने कार्यक्रम रहेको छ ।

आर्थिक वर्ष २०७८÷०७९ भित्र यो कार्यक्रम संचालन गर्न महालक्ष्मी लाईफ इन्स्योरेन्सको संचालक समितिले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको कम्पनीले जानकारी गराएको छ । जुन कार्यक्रम कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL