Logo

कोरोना कहरकै बीच चोभार सुक्खा बन्दरगाहको निर्माण सम्पन्न, संचालनको पर्खाइमा

कोरोना कहरकै बीच चोभार सुक्खा बन्दरगाहको निर्माण सम्पन्न, संचालनको पर्खाइमा



काठमाडौं । काठमाडौंको चोभार सुक्खा बन्दरगाहको निर्माण सम्पन्न भएको छ । कोरोना कहरकैबीच पनि २ सय २० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बन्दरगाहा निर्माण सम्पन्न भएको हो । कोरोना महामारीका कारण र स्थानीयवासीको अवरोधका कारण निर्माण अवधिभन्दा १४ महिना धकेलिएको बन्दरगाहको भौतिक संरचना तयार भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । कोरोना कहरकै बीच धेरै निर्माण क्षेत्रहरु बन्द भईरहँदा बन्दरगाहमा भने लगातार काम चलिरहेका कारण चाँडै काम सम्पन्न गर्न सकिएको उनको भनाई छ ।

उनका अनुसार बन्दरगाहको सबै भौतिक संरचना निर्माण सम्पन्न भई संचालनका लागि तयारी गरिएको छ । भन्सार र क्वारेन्टाईन राखेर चाँडै संचालनमा ल्याउन सकिने उनको भनाई छ ।

२०७५ सालको जेठ महिनामै ठेक्का लागेर काम अघि बढेको उक्त बन्दरगाहको शिलान्यास भने ८ महिनापछि अर्थात सोही बर्षको माघमा मात्रै गरिएको थियो । त्यसअघि साउन ३० गते शिलान्यास गर्ने तयारी गरिएपनि स्थानीयको अवरोधका कारण शिलान्यास कार्यक्रम स्थगित गरिएको थियो ।

स्थानीयको विरोधका बीच नेपाली कम्पनी आशिष र चिनियाँ कम्पनी साक्षीको जोईन्ट भेन्चरले शिलान्याससहित २०७५ माघ महिनाबाट काम अघि बढाएका थिए । केही स्थानीयको अवरोधका कारण विकासका कार्यहरु रोकिन नहुने भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले तिव्र रुपमा काम गर्न निर्देशन दिएका थिए ।

हाल निर्माण भएको सुक्खा बन्दरगाह तातोपानीको बन्दरगाहजत्तिकै क्षमताको भएको कार्यकारी निर्देशक गजुरेलले बताए ।
चोभारको बन्दरगाहमा ५ सयओटा कन्टेनर र ५ सय ट्रक पार्किङ गर्न सकिने गरी पार्किङ यार्ड, वेयर हाउस, भन्सार, बैंक तथा वित्तीय संस्थाका लागि र प्रशासनका लागि आवश्यक भवन, कन्टेनरसहितका ट्रकहरु भित्रिने र बाहिरिने ३ ओटा मुख्य द्वारलगायतको निर्माण सम्पन्न भएको छ । यस्तै बन्दरगाहमा अत्याधुनिक प्रविधिसहितको लाईटिङको व्यवस्थासमेत गरिएको छ । उक्त क्षेत्रको निगरानीका लागि विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गरि हाल यसको परिक्षण भईरहेको छ ।

भौतिक संरचना तयार भएपनि यसको संचालनको निर्णय भने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मामा छ । मन्त्रालयले बन्दरगाहमा आवश्यक कर्मचारीको नयाँ दरबन्दी, कामको जिम्मेवारीलगायतका बिषयहरुको टुंगो लगाई संचालनमा ल्याउन सक्ने समितिका निर्देशक युवक डंगोलले बताए । उनका अनुसार स्थानीयका अवरोधका कारण १४ महिना धकेलिएर निर्माण सम्पन्न भएको बन्दरगाहमा स्थानीयका हितका लागि भन्दै ध्वनी प्रदुषण नियन्त्रण संयन्त्र, घाटसम्म जाने बाटो, हरियालीलगायतका बिषयलाई विशेष ध्यान दिईएको छ ।
समितिले उक्त क्षेत्रमा रुखहरु रोपेर हरियाली बनाउने कामलाई पनि तिव्रता दिईरहेको छ ।

सुक्खा बन्दरगाहको लागत अनुमान २ अर्ब १८ करोड ७२ लाख रुपैयाँ गरिएपनि १ अर्ब ८० करोड रुपैयाँमा निर्माण सम्पन्न भएको कार्यकारी निर्देशक गजुरेलको भनाई छ । यसको निर्माण अवधि १८ महिना तोकिएको थियो । बन्दरगाह निर्माणका लागि विश्व बैंकले २ अर्ब ५० करोड ५२ लाख रुपैयाँ बराबरको ऋण सहयोग गरेको छ ।

यो बन्दरगाह संचालनमा आएसँगै काठमाडौंमा विभिन्न नाकाबाट आयात हुने कन्टेनरहरु सिधै काठमाडौं आउन पाउने छन् । कलकत्ता, विशाखापट्नमलगायत सामुद्रिक पोर्टबाट सिधै कन्टेनर काठमाडौं आउने भएपछि काठमाडौंका व्यवसायीलाई मालवस्तु छुटाउन नाकामा गईराख्नुपर्ने समस्याको अन्त्य हुने बताईएको छ । नेपालका नाका प्रवेशद्वारमा भने एक सिल लगाएर बीच बाटोको यात्रालाई विशेष प्रविधिको प्रयोग गरी गाडीको ट्र्याकसँगै काठमाडौं ल्याईपुर्याउने व्यवस्था मिलाईएको निर्देशक डंगोल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL