Logo

दशैं बिदामा पढ्न सकिने यी १० पुस्तक, जसले नेपालको आर्थिक क्षेत्र बुझ्न सघाउँछ

दशैं बिदामा पढ्न सकिने यी १० पुस्तक, जसले नेपालको आर्थिक क्षेत्र बुझ्न सघाउँछ



काठमाडौं । नेपालमा अन्यको तुलनामा अलि बढी नै सरकारी विदा हुने समय दशैं र तिहारमै हो । यो समयमा धेरैजसो मानिसहरु आफ्नो कार्यालयको कामलाई थाती राखेर आफन्तलाई भेट्ने, नयाँ ठाउँ घुमघाम गर्ने, नयाँ कितावहरु पढ्नेलगायतका कार्य गर्ने फुर्सद पाईन्छ । हामीले भने यो लेखमा नेपालको अर्थतन्त्र बुझ्नका लागि आवश्यक कितावहरु पढ्न सुझाव दिएका छन् । यो लेखमा हामीले नेपालको अर्थतन्त्र बुझेका लेखकहरुले लेखेका कितावहरुको चर्चा गरेका छौं ।

laxmi

रविन्द्र भट्राईको सेयर मन्त्र

सेयर बजारबारे जानकार रविन्द्र भट्टराईले २०७७ मा यो पुस्तक बजारमा ल्याएका थिए । यो पुस्तकमा उनले सेयर बजारमा पैसा बनाउन अति तीक्ष्ण प्रतिभा वा ज्ञान हुनुपर्छ भन्ने छैन । लोक सेवा आयोगमा प्रथम हुँदैमा सेयर बजारमा सफल भइन्छ भन्ने छैनलगायतका कुरालाई जोड दिएका छन् ।

पुस्तकमा उनले सेयर बजारको भित्रि पाटो र बाहिरी पाटोको राम्रै व्याख्या गरेका छन् । जसमा सेयर बजारमा हात हालिसकेपछि चाँडै आत्तिने र चाँडै मात्तिने प्रवृत्तिलाई लगाम लगाउनुपर्ने कुरामा जोड दिईएको छ । खासगरी सेयर बजारमा चासो राख्नेहरुका लागि यो किताव दशैं विदा कटाउन उपयुक्त हुने देखिन्छ ।

बीएन घर्तीको बैंकिङ अनुशासन

बैंकिङ विज्ञसमेत भनेर कहलिएका बीएन घर्तीले यसै बर्ष आफ्नो नयाँ पुस्तक ‘बैंकिङ अनुशासन, दिगो विकासका लागि’ नामक पुस्तक सार्वजनिक गरेका थिए ।

पुस्तकमा उनले बैंक तथा वित्तीय संस्था किन अनुशासनमा बस्नु पर्दछ, किन अल्पदृष्टिबाट होइन दूरदृष्टिबाट अभिप्रेरित हुनु पर्दछ भन्ने विषयवस्तुमाथि विश्लेषण गरिएको छ ।

बैंक किन ग्राहक केन्द्रित हुनु पर्दछ, उपयुक्त निक्षेपको मिश्रण किन हुनु पर्दछ, कर्मचारीहरुलाई अनावश्यक बिक्री लक्ष्य किन तोक्नु हुँदैन, किन पारिश्रमिक दिनेगरी व्यवसायिक सञ्चालक नियुक्त गर्नु पर्दछ भन्ने विषयवस्तु पनि पुस्तकमा उनले समावेश गरिएको छ ।

भुवन दाहालको ‘रिटायरमेन्ट एट फिप्टी’

नेपाल बैंकर्स संघका पूर्व अध्यक्षसमेत भईसकेका भुवन दाहालले गत बर्षको साउनमो यो पुस्तक सार्वजनिक गरेका थिए । उनले आफ्नो पुस्तकमा विभिन्न बैंकहरुको वित्तीय विवरणको तुलना, बैंकिङ कसुरसँग जोडिएका विभिन्न कसुरहरुलगायतको विश्लेषण गरेका छन् । यतिमात्रै होईन कुन बैंक कसरी, किन र कहिले नाफामा गयो, नाफामा जानुको कारण के हो, कुन बैंक कहिले घाटामा गयो र घाटामा जानुको कारणबारेसमेत प्रष्ट्याएका छन् । खासगरी बैंकिङ क्षेत्रको अत्यन्तै जटिल शब्दावलीलाई सरल रुपमा बुझ्न र बैंकिङ क्षेत्रको भित्री रहस्य बुझ्न यो पुस्तक उपयोगी हुने देखिन्छ ।

डा. बाबुराम भट्टराईको ‘अर्थ राजनीतिक विमर्श’

पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्राईले २०७७ सालमा यो पुस्तक सार्वजनिक गरेका थिए । यसका उनका २२ आलेख समेटिएको छ । जसमा राजनीतिक वाददेखि भौतिक विज्ञान र समसामयिक वैश्विक घटनाक्रमहरु समेटिएका छन्। पुस्तकले सबै खेमाका राजनीतिक अभियन्ता, विकास समृद्धिका आकांक्षी, नीति–निर्माता र बिशेषतः जिज्ञासु युवालाई आवश्यक सन्दर्भ सामग्री र बौद्धिक खुराक मिल्ने देखिन्छ ।

डा. रामशरण महतको ‘ट्रायल्स, ट्रेमर्स एण्ड होपः पोलिटिकल इकोनोमी अफ कन्टेमपोररी नेपाल’

पूर्व अर्थमन्त्रीसमेत रहेका डा. महतले २०७६ सालमा यो पुस्तक सार्वजनिक गरेका थिए । पुस्तक नेपालको अर्थ राजनीतिक अर्थ व्यवस्थाको बारेमा रहेको छ । महतले पुस्तकमा बहुदलीय, उदार र प्रजातान्त्रिक अर्थविकासको बारेमा चर्चा गरेका छन् । पाठकले अबको अर्थतन्त्र कसरी चल्नुपर्छ भनेर थाहा पाउनको लागि पनि यो पुस्तक महत्वपूर्ण हुने देखिन्छ ।

डा. रेवत बहादुर कार्कीको ‘नेपालको अर्थतन्त्रका आयामहरु’

अर्थशास्त्री डा. रेवतबहादुर कार्कीले ‘नेपालको अर्थतन्त्रका आयामहरू’ पुस्तक दुई बर्ष अघि सार्वजनिक गरेका थिए । पुस्तकमा खासगरी तत्कालिन मुलुकको अर्थतन्त्रको वास्तविक चित्र प्रस्तुत हुनुका साथै सार्वजनिक, वित्तीय र बाह्यलगायत सबै क्षेत्रहरूलाई समेटिएको छ । यस्तै यो पुस्तकमा

सुजिव शाक्यकको ‘अर्थात अर्थतन्त्र’

अर्थ मामिलाका लेखक तथा टिप्पणीकार सुजिव शाक्यले आफ्नो पुस्तक ‘अर्थात अर्थतन्त्र’ २०७५ सालमै सार्वजनिक गरेका थिए । उनले आफ्नो उक्त पुस्तकमा नेपालको प्राचिन अर्थतन्त्रदेखि वर्तमान अर्थतन्त्रकोसमेत गहिरो विश्लेषण गरेका छन् । नेपाल र विश्वमा आफ्नो आफ्नो देशको अर्थतन्त्र सबल बनाउन केहि शासकहरुले चालेका कदमलाई पनि उनले विश्लेषण गरेका छन् ।

त्यसपश्चात अर्थतन्त्रले कस्तो बाटो समात्यो, विश्व अर्थतन्त्र कता गयो, अनि नेपालमा इलम र उद्यमको यात्राले के कस्तो मार्ग समात्यो भन्ने तथ्यहरुको उल्लेख र विश्लेषण यो पुस्तकमा गरिएको छ । यस्तै पुस्तकमा विस्तारमा नेपाली अर्थतन्त्रलाई फराकिलो हिसावले विवेचना गरिएको छ ।

डा. चिरञ्जीवी नेपालको ‘वीपी कोईरालाको आर्थिक विचार’

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपालले २०७८ सालमा यो पुस्तक सार्वजनिक गरेका थिए । उनले पुस्तकमा आफूलाई बिपीले भनेका आर्थिक उन्नतिका तथा आर्थिक सोच र विचारहरु उल्लेख गरेका छन् । डा. नेपालले यसअघि सन् २०१० मा ‘बीपीज् इकोनोमिक थट’ नामक पुस्तक प्रकाशन गरेका थिए । उक्त पुस्तककै विस्तृत समीक्षाका रूपमा यो पुस्तक ल्याईएको हो ।

द्वारिकानाथ ढुंगेलको ‘चक्रव्युहमा नेपाली जलस्रोत’

नेपालको जलस्रोत चक्रव्यूहमा फसेको निष्कर्ष निकाल्दै पूर्वजलस्रोत तथा सिँचाइसचिव द्वारिकानाथ ढुंगेलले गत बर्ष यो पुस्तक सार्वजनिक गरेका हुन् । महाकाली सन्धीयताका सबै घटनाक्रममा सहभागि भएका उनले हालसम्मको अनुभवलाई समेटेर उक्त पुस्तक प्रकाशन गरेका छन् । जसमा ढुंगलले विशेष गरी भारतसँग भएको महाकाली सन्धि, विद्युत् ऊर्जा व्यापार सम्झौता, कर्णाली–चिसापानी आयोजनामा अमेरिकी कम्पनी एनरोनको अभिरुचि, पश्चिम सेती जलविद्युत् आयोजनामा अस्ट्रेलियन कम्पनी स्मेकको संलग्नता, विश्व बैंकको सहयोगमा ऊर्जा विकास कोषको स्थापनालगायत मन्त्रालय र मन्त्रालयसँग सम्बन्धित अन्य विषयहरूमा भएका काम कारबाहीको जानकारी यो पुस्तकमा समेटेका छन् ।

डा. स्वर्णिम वाग्लेको ‘अतृप्त अवसर’

अर्थविद् स्वर्णिम वाग्लेले यो पुस्तक गत बर्ष सार्वजनिक गरेका हुन् । पुस्तकमा उनले नेपालको विकासका लागि अपनाउन सकिने मोडल र पद्धतिका विषयलाई समावेश गरेका छन् । बोलीचालीको सरल एवम् सहज भाषामा लेखिएको उक्त पुस्तक सर्वसाधारणले समेत बुझ्ने तहमा प्रस्तुत गरिएको छ । २५ ओटा अर्थशास्त्रीय लेखहरू समेटिएको पुस्तक ‘अतृप्त अवसर’ नेपालको अर्थतन्त्रको बाटो बुझ्न सहयोग पुर्याउँछ ।

प्रतिक्रिया दिनुहोस्
MBL