Logo

मुद्रास्फीति ७.८८ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि १२ प्रतिशतमाथि

मुद्रास्फीति ७.८८ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि १२ प्रतिशतमाथि



काठमाडौं । नेपालमा माघ मसान्तसम्म होटल तथा रेष्टुरेन्ट समुहको मूल्यवृद्धिदर १५ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको माघ मसान्तसम्म यो उपसमुहको बार्षिक विन्दुगत मूल्यवृद्धिदर १५.२४ प्रतिशत पुगेको हो । यस्तै यसै अवधिसम्म अर्को उपसमुह खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यवृद्धिद भने १२.३९ प्रतिशत पुगेको छ ।

laxmi

राष्ट्र बैंकका अनुसार माघ महिनामा समग्र वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशत पुगेको छ । गत आर्थिक बर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६।१९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ ।

खाद्य तथा पेय पदार्थ समुह अन्तर्गत सुर्तीजन्य पदार्थ तथा मदिराजन्य पेय पदार्थको मूल्यवृद्धिदर क्रमशः १०.८३ प्रतिशत र ८.७८ प्रतिशत र मरमसलाको ८.०४ प्रतिशतले बढेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १५.५८ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ९ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

माघ महिनामा काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मुद्रास्फीति रहेको छ । गत बर्ष यहि अवधिमा यी क्षेत्रहरुमा क्रमशः ५.४७ प्रतिशत, ६.५० प्रतिशत, ६.७१ प्रतिशत र ५.९७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL