Logo

स्थायी रुपमै हट्यो एटीएम सेवा शुल्क, सबै डिजिटल पेमेन्टलाई निःशुल्क बनाईने

स्थायी रुपमै हट्यो एटीएम सेवा शुल्क, सबै डिजिटल पेमेन्टलाई निःशुल्क बनाईने



काठमाडौं । एक बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएम मेशिनबाट पैसा निकाल्दा लाग्ने शुल्क हटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी गर्दै त्यसरी एक बैंकको एटीएम अर्को बैंकमा प्रयोग गरेर पैसा निकाल्दा लाग्ने शुल्कलाई स्थायी रुपमै हटाइदिएको हो ।

यस अघि राष्ट्र बैंकले कोभिडको कारण भन्दै बैंक तथा वित्तीय संस्थालाई सो अवधिमा एटीएम प्रयोग गरेवापतको शुल्क नलिन निर्देशन दिएको थियो । तर साउन लागेपनि कतिपय बैंकहरुले एक बैंकको एटीएम अर्को बैंकका प्रयोग गरेवापत आफुखुशी शुल्क लिन थालेको गुनासो आएपछि एकिकृत निर्देशन नै जारी गर्दै स्थायी रुपमा निशुल्क गरेको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्र्देशक भुवन कँडेलले जानकारी दिए ।

उक्त निर्देशनसँगै अबका दिनमा नेपालभित्रका कुनै बैंक तथा वित्तीय संस्थाले जारी गरेको कार्ड प्रयोग गरेर स्वदेशभित्रकोे कुनैपनि एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । यसअघि बैंक तथा वित्तीय संस्थाले एटीएम पायेग गरेवापत आफुखुशी शुल्क उठाउँदै आएका थिए ।

यसैगरी निर्देशनमा राष्ट्र बैंकले एउटा बैंक तथ वित्तीय संस्थाले एउटै ग्राहकको नाममा एकभन्दा बढी कार्ड जारी गर्न नपाउने व्यवस्थासमेत प्रष्ट पारेको छ । साथै अबका दिनमा जारी गरिएको कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अघि नै ग्राहकलाई एसएमएसमार्फत सूचना दिनुपर्ने छ । तर, त्यसरी सूचना दिँदा एटीएम कार्ड नवीकरणवापत लाग्ने शुल्कसमेत उल्लेख छ ।

यसैगरी राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुने कारोबारको सीमामा समेत हेरफेर गरेको छ । जस अनुसार डेबिट कार्डबाट वस्तु तथा सेवा खरिद गरी हुने भुक्तानीका लागि मासिक ४ लाखको सीमा कायम गरिएको छ । यसअघि यस्तो सीमा थिएन । प्रतिकारोबार २५ हजार र प्रतिदिन १ लाखसम्मको यसअघिको सीमालाई भने यथावत राखिएको छ ।

बैंकबाहेक अरु भुक्तानी सेवा प्रदायकले पनि २५ हजारसम्मको प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन् । यसअघि त्यस्ता संस्थालाई प्रिपेड कार्ड जारी गर्ने अनुमति थिएन । तर, बैंक तथा वित्तीय संस्थालाई १ लाखसम्मको कार्ड जारी गर्ने अनुमति दिँदा त्यस्ता संस्थालाई २५ हजारको सीमा कायम गरिएको हो ।

यसैगरी राष्ट्र बैंकले डिजिटल बैंकिङलाई पनि निःशुल्क बनाइने भएको छ । हाललाई एटीएम सेवालाई निशुल्क गरिएको र अबका दिनमा इन्टरनेट वा मोबोइल बैंकिङलाई समेत निशुल्क बनाईने कँडेलले जानकारी दिए ।

‘गभर्नरज्यूले यस अघिनै नेपाल क्लियरिङ हाउसमार्फत हुने भुक्तानीलाई निशुल्क बनाउने उद्घोष गरिसक्नु भएको छ,’ उनले भने, ‘अबको केही समयभित्रै डिजिटल भुक्तानीलाई समेत निशुल्क बनाउने छौं ।’ तत्कालको समस्या समाधान गर्न एटीएम प्रयोगलाई मात्र निशुल्क बनाईए पनि अबका दिनमा सम्पूर्ण डिजिटल भुक्तानीलाई निशुल्क बनाईने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL