Logo

बैकिङ कसुर तथा सजाय ऐन संशोधन हुँदै, विशेष अनुसन्धान टोली गठन गरिने

बैकिङ कसुर तथा सजाय ऐन संशोधन हुँदै, विशेष अनुसन्धान टोली गठन गरिने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

११ वैशाख, काठमाडौं । सरकारले बैंकिङ कसुरको अनुसन्धान गर्न बेग्लै अनुसन्धान टोली गठन गर्न सक्नेगरी बैंकिङ कसुर तथा सजाय ऐनको संशोधन विधेयक संसदमा दर्ता गराएको छ । अर्थमन्त्री डा रामशरण महतले हालै व्यवस्थापिका संसदमा टेबूल गराएको उक्त विधेयकमा बैंकिङ कसुरको अनुसन्धान विशेष प्रकृतिको हुने भएकाले अनुसन्धान प्रभावकारी बनाउन यस्तो व्यवस्था गर्न लागिएको उल्लेख छ ।

यसका लागि सरकारले महान्यायाधिवक्ता, प्रहरी महानिरिक्षक र नेपाल राष्ट्र बैंकसँग परामर्श गरेर टोली गठन गर्नसक्ने व्यवस्था गरेको छ । टोलीको संरचनाबारे अहिले नै टुंगो नलागेको भए पनि राष्ट्र बैंक सहित बैंकिङ क्षेत्रका विज्ञ, प्रहरी र कानुनविदहरुको संयन्त्र बनाउने सोचका साथ उक्त प्रस्ताव गरिएको राष्ट्र बैंकका एक अधिकारीले बताएका छन् । यस्तो टोलीलाई बैंकिङ कसुरसम्बन्धी अनुसन्धान गर्न पुर्ण अधिकार प्रत्यायोजन गरिने प्रस्ताव मस्यौदामा छ ।

प्रस्तावित मस्यौदामा अनुसन्धान टोली वा अनुसन्धान अधिकृतले दुई महिना (६० दिन)सम्म आरोपीलाई अदालतमा नबुझाइ थुनामा राखेर अनुसन्धान गर्न सक्ने व्यवस्था गरिएको छ । यो व्यवस्था जस्ताको तस्तै पारित भए बैंकिङ कसुरको आरोपमा पक्राउ पर्ने व्यक्ति ६० दिनसम्म हिरासतमा बस्नुपर्ने छ । हाल अनुसन्धानका लागि ३५ दिन मात्रै हिरासतमा राख्नसक्ने नियम छ । तर, एक पटकमा ७ दिनभन्दा बढी म्याद थप गर्न नपाउने व्यवस्थाको प्रस्ताव गरिएको छ । अहिले एक पटकमा १० दिनको म्याद थप्न सक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, ढुकुटीको कारोबार गर्न प्रतिबन्ध लगाउने प्रस्ताव मस्यौदामा छ । सहकारी संस्थाले पनि राष्ट्र बैंकको अनुमति बिना बैंकिङ कारोबार गरेमा ‘गैर कानूनी’ हुने र त्यस्तो कारोबारलाई बैंकिङ कसुर अन्तरगत कारबाही गर्ने प्रस्ताव गरिएको छ । ढुकुटी खेललाई निरुत्साहित गर्न र संहकारी संघसंस्थाबाट सर्वसाधारणको रकम हिनामिना गर्न नदिन यस्तो व्यवस्था गरिएको मस्यौदामा भनिएको छ ।

प्रस्तावित ऐनले ढुकुटी वा गैरकानूनी बैंकिङ कारोबार गरेको पाइएमा ५० लाख रुपैयाँसम्म विगो भएमा १ वर्षदेखि ३ वर्षसम्म कैद सजाय दिने व्यवस्था गरेको छ । ५० लाखदेखि ५ करोडसम्म बिगो भएका मुद्दामा ३ देखि ५ वर्ष, ५ करोडदेखि ५० करोड बिगो भएमा ५ देखि ७ वर्ष र ५० करोडभन्दा बढी बिगो भएमा ७ देखि ९ वर्ष कैद सजाय हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL