काठमाडौं । महालक्ष्मी विकास बैंकले वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई लक्षित गर्दै ‘नव उद्यम कर्जा’ योजना सञ्चालनमा ल्याएको छ ।
विदेशबाट फर्किएका तर पर्याप्त लगानीको अभावले आफ्ना सीप र अनुभवलाई व्यवसायमा परिणत गर्न नसकेका युवालाई उद्यमशील बनाउन यो कर्जा योजना सार्वजनिक गरिएको हो । कृषि, व्यापार, सेवा तथा उत्पादनमा आधारित विभिन्न व्यवसाय सञ्चालन गर्न सकिने यस योजनाअन्तर्गत आकर्षक तथा प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।
बैंकले नव उद्यम कर्जामा न्यूनतम १० लाखदेखि अधिकतम १ करोड रुपैयाँसम्मको सीमा तोकेको छ । कर्जाको अवधि न्यूनतम २ वर्षदेखि अधिकतम १५ वर्षसम्म रहने व्यवस्था गरिएको छ ।
यस योजनाबाट फर्किएका युवालाई आत्मनिर्भर बनाउन, स्वदेशमै रोजगारी सिर्जना गर्न, उद्यमशीलता विकास गर्न तथा विप्रेषण रकमको सही सदुपयोग गर्न सकिने विश्वास बैंकले लिएको छ । साथै, नेपालमै रहेका अन्य व्यक्तिहरुले पनि साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालन तथा विस्तार गर्न यो सुविधा लिन सक्नेछन् ।
‘सबल बैंक, सफल सहकार्य” भन्ने नारासहित विगत ३१ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका देशभर करिब ८ लाखभन्दा बढी ग्राहक रहेका छन् ।