काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकले ७१ अर्ब ५१ करोड ८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा ४३.३९ प्रतिशतले बढी हो । अघिल्लो आवमा वाणिज्य बैंकहरुले ४९ अर्ब ८७ करोड १४ लाख २१ ह्जार रुपैयाँ नाफा कमाएका थिए ।
गत आवमा सबैभन्दा धेरै खुद नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यसको नाफा १५.०१ प्रतिशतले बढेर ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा नबिलले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ नाफा कमाएको थियो । दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । यसले ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, धेरै नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ६ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ । एक वर्षको अवधिमा सञ्चालनमा रहेका २० बैंकमध्ये ३ को नाफा घटेको छ भने अरु सबै बैंकको बढेको छ ।
प्रतिसेयर लाभांश वितरण क्षमतामा को अगाडि ?
यता, सबैभन्दा धेरै प्रतिसेयर लाभांश वितरणको क्षमता एभरेष्ट बैंक अगाडि रहेको छ । यस बैंकको प्रतिसेयर लाभांश वितरण क्षमता ३८.२७ प्रतिशत रहेको छ । यस बैंकको लाभांश क्षमता अघिल्लो वर्षको भन्दा १०.२१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यसको लाभांश वितरण क्षमता २८.०६ प्रतिशत थियो ।
दोस्रोमा सानिमा बैंक रहेको छ । यसको लाभांश वितरण क्षमता २०.४७ प्रतिशत छ । स्ट्याण्र्डड चाटर्डको प्रतिसेयर लाभांश वितरण गर्ने क्षमता १९.८५ प्रतिशत छ । कृषि विकास बैंकको लाभांश वितरण क्षमता १८.४२ प्रतिशत छ । यसअवधिमा ४ वटा बैंकको प्रतिसेयर लाभांश वितरण क्षमता ऋणात्मक छ भने अरुको सकारात्मक छ ।
