काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली.बीच बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।
सम्झौताअनुसार अब एनआईसी एसिया बैंकका ग्राहकले ओम हस्पिटलमा उपचार गर्दा डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशत छुट पाउनेछन् । छुट प्राप्त गर्नका लागि ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक मोबाइल एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम विभाग प्रमुख बिमल लम्साल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरेका हुन् ।
बैंकले यस सहकार्यलाई ग्राहक सेवा विस्तारसँगै मुलुकभर डिजिटल भुक्तानी प्रवद्र्धनको दृष्टिले महत्वपूर्ण कदमको रूपमा लिएको छ। एनआईसी एसिया बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै डिजिटल पेमेन्टको पहुँचलाई अझ सशक्त बनाउँदै लग्ने जनाएको छ। बैंकले विश्वास व्यक्त गरेअनुसार, यस प्रकारको सहकार्यले ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्नुका साथै नेपालमा डिजिटल वित्तीय समावेशीतालाई नयाँ उचाइमा पुर्याउनेछ।