काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले लगातार छैटौं पटक क्रेडिट रेटिङ संस्था आइसीआरए नेपाल बाट उच्चतम ‘थ्री ए’ रेटिङ प्राप्त गरेको छ।
यो रेटिङले बैंकको वित्तीय दायित्वहरू समयमै पूरा गर्ने अत्यन्त उच्च क्षमता र न्यूनतम लगानी जोखिमलाई सूचक बनाउँछ। आइसीआरए नेपालले जारी गरेको विश्लेषणअनुसार बैंकको पूँजी स्थिति, जोखिम व्यवस्थापन क्षमता र सम्पत्ति गुणस्तरमा देखिएको मजबुती यसपटक पनि ‘थ्री ए’ रेटिङ कायम राख्ने आधार बनेको हो।
चालु वर्षको मध्य अप्रिलसम्म बैंकको पूँजी पर्याप्तता अनुपात १७.४४ प्रतिशत र टियर–१ पूँजी १५.१५ प्रतिशत रहेको छ, जुन नेपाल राष्ट्र बैंकले निर्धारण गरेको न्यूनतम मापदण्ड (क्रमशः ११ र ८.५ प्रतिशत) भन्दा धेरै उच्च छ।
बैंकको नन–पर्फर्मिङ लोन मात्र १.४४ प्रतिशत रहेको छ, जुन ‘क’ वर्गको बैंकहरूको औसत ५.०५ प्रतिशत भन्दा निकै कम हो। यसले बैंकको कर्जाप्रदान प्रणाली, जोखिम व्यवस्थापन अभ्यास र प्रतिस्पर्धी ब्याजदर प्रस्ताव गर्ने क्षमतामा मजबुती देखाएको विश्लेषणमा उल्लेख गरिएको छ।
बैंकका सीईओ तथा हेड अफ कभरेज गोरख राणाले भने, “छैटौं पटक पनि ‘थ्री ए’ रेटिङ प्राप्त गर्नु हाम्रो सेवामा निरन्तरता, विश्वसनीयता र उच्च मापदण्डप्रतिको प्रतिबद्धताको प्रमाण हो। यस उपलब्धिमा ग्राहक, लगानीकर्ता र समर्पित कर्मचारीहरूको योगदान अत्यन्त महत्वपूर्ण छ।” स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा झण्डै ७० प्रतिशत स्वामित्व स्ट्यान्डर्ड चार्टर्ड ग्रुप को रहेको छ।