काठमाडौं । नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरूको जिम्मेवारी फेरबदल गरिएको छ। गभर्नर विश्वनाथ पौडेलले कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।
यस अन्तर्गत, आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर कार्यालयमा सरुवा गरिएको छ। गभर्नर पदका आकांक्षी रहेका भट्टले दिएको राजीनामा अस्वीकार गर्दै उनलाई सो कार्यालयमा जिम्मेवारी दिइएको हो।
भट्टको स्थानमा जनशक्ति व्यवस्थापन विभागमा कार्यरत रामशरण खरेललाई आर्थिक अनुसन्धान विभागको कार्यकारी निर्देशक बनाइएको छ। खरेलको सरुवापछि मानव संसाधन विभागको जिम्मेवारी विश्रुत थापालाई दिइएको छ। थापा यसअघि बैंकिङ विभागमा कार्यरत थिए।
गत शनिबार कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको गभर्नर कार्यालयमा नयाँ व्यवस्थापन आवश्यक परेको थियो। अब बैंकिङ विभागको कार्यकारी निर्देशकको पद भने खाली रहेको छ। श्रेष्ठको अवकाशपछि उक्त पदमा वरिष्ठ निर्देशकहरूबाट बढुवा गर्ने प्रक्रिया अघि बढ्नेछ, जसमा डिल्लीराम पोखरेल प्रमुख दावेदारका रूपमा रहेका छन्।
यसअघि बिहीबार मात्र डेपुटी गभर्नरहरूको जिम्मेवारी पुनः बाँडफाँड गरिएको थियो भने अहिले कार्यकारी निर्देशकहरूको जिम्मेवारीमा फेरबदल गरिएको हो। अन्य कार्यकारी निर्देशकहरूको जिम्मेवारी भने यथावत् राखिएको छ।