Logo

३.३९ प्रतिशतमा झर्यो मुद्रास्फीति, घ्युतेलको मूल्यवृद्धि भने ११ प्रतिशतले बढ्यो

३.३९ प्रतिशतमा झर्यो मुद्रास्फीति, घ्युतेलको मूल्यवृद्धि भने ११ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को चैत महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशतमा झरेको छ । गत आर्थिक बर्षको सोही महिनामा ४.६१ प्रतिशत रहेको यस्तो मुद्रास्फीति चालु आवमा घटेको हो ।

चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.२२ प्रतिशत र ४.२० प्रतिशत रहेको थियो ।

चैतमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशत, फलफूलको ९.०७ प्रतिशत, दाल तथा गेडागुडीको ६.५८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.१६ प्रतिशतले बढेको छ भने तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२४ प्रतिशत, मरमसलाको २.३२ प्रतिशत र माछा तथा मासुको ०.८९ प्रतिशतले घटेको छ ।

यता गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.६९ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ७.०१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.०७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ प्रतिशत र सुर्तिजन्य पदार्थको ४.८३ प्रतिशतले बढेको छ ।

चैतमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.७८ प्रतिशतले र शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.२५ प्रतिशतले बढेको छ ।

प्रदेशगत रुपमा चालु आवको चैतमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९१ प्रतिशत, मधेश प्रदेशको ३.५९ प्रतिशत, बागमती प्रदेशको २.८० प्रतिशत, गण्डकी प्रदेशको २.८३ प्रतिशत, लुम्बिनी प्रदेशको ३.११ प्रतिशत, कर्णाली प्रदेशको ३.११ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.५१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्