Logo

के अन्य देशमा जस्तै नेपालमा पनि बैंक डुब्ने सम्भावना छ ? यस्तो छ विज्ञको बुझाई र तथ्यांकको विश्लेषण

के अन्य देशमा जस्तै नेपालमा पनि बैंक डुब्ने सम्भावना छ ? यस्तो छ विज्ञको बुझाई र तथ्यांकको विश्लेषण



काठमाडौं । पछिल्लो केही समययता बैंकिङ क्षेत्रको बारेमा एउटा अफवाह फैलिरहेको छ, अन्य देशमा जस्तै नेपालका बैंकहरु पनि डुब्दैछन् । केही दिन अघिमात्रै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एनआईसी एसिया बैंक डुब्दै छ भनेर आफ्नो सामाजिक सञ्जालजमा एउटा पोष्ट गरे । त्यसपछि कतिपय व्यक्ति तथा संस्थाले समेत उक्त बैंकसहित नेपालका बैंकहरु संकटपूर्ण अवस्थामा रहेको र डुब्न लागेको भन्दै हल्ला फैलाए ।

laxmi

उक्त हल्लासँगै अहिले नेपालका बैंक पनि अन्य देशको बैंकहरु जस्तै डुब्न वा टाट पल्टिन लागेको भनेर आम मानिसमा त्रास फैलिएको छ । केही समय अगाडि मात्रै अमेरिकाको १४औं ठूलो फस्र्ट रिपब्लिक बैंक डुबेको थियो । सन् १९८५ मा स्थापना भएको उक्त बैंक नियामक निकायले स्वामित्व नियन्त्रणमा लिएर जेपी मोर्गन चेजलाई बिक्री गरेको गरेको थियो । उक्त बैंकलाई अमेरिकाको नियामकीय निकाय फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले नियन्त्रणमा लिएको थियो । यो बैंकसँगै सोही समयमा अमेरिकामा अन्य दुई बैंक पनि डुबे । अमेरिका जस्तो ठूलो अर्थतन्त्र भएको देशको बैंक डुबेको भन्दै नेपालमा पनि बैंक डुब्न सक्ने भन्दै त्रास फैलाइएको छ । तर, अमेरिकी घटनालाई हेरेर नेपालको बैंक डुब्छन् भन्ने अवधारणा राख्नु गलत भएको अर्थविद्हरु बताउँछन ।

अहिले बैंकिङ क्षेत्रको बारेमा नकारात्मक सन्देश फैलाउन केही व्यक्ति लागिपरेका कारण पनि यस्तो अवस्था आएको पूर्व गभर्नर डा. दीपेन्द्र बहादुर क्षेत्री बताउँछन । ‘अहिले केहि व्यक्तिले राजनीतिक आडमा बसेर बैंकको ऋण नतिर्ने र अरुलाई पनि तिर्न नपर्ने भन्दै आम नागरिकलाई उस्काईरहेका छन् ।’ उनी भन्छन, ‘एकातर्फ राजनीतिक प्रेरित भएर बैंकिङ क्षेत्रमा आक्रमण भइरहेको छ भने अर्कोतर्फ बैंक मारवाडीले लुटेर डुबाउन खोजेका छन भन्ने धारणाको विकास गरिएको छ ।’ यसरी बैंक तथा वित्तीय क्षेत्र जस्तो देशको संवेदनशील संस्था माथि खुला रुपमा आक्रमण भइरहदा पनि त्यसको कानुनी उपचार खोज्न नसक्दा यस क्षेत्रको बारेमा गतल धारणा विकास भएको क्षेत्री बताउँछन ।

‘कतिपय अवस्थामा बैंकहरुको आफ्नो क्रियाकलापले गर्दा पनि पछिल्लो समय केहि बैंकको नाम नै तोकेर यो बैंक डुब्दै छ भन्ने अफवाह विकास भएको छ,’ क्षेत्री भन्छन, ‘बैंकिङ क्षेत्रमा यस्तो परिस्थिति आउनुको पछाडि बैंक स्वयं पनि केही दोषी हाेलान ।’ अहिले बैंकिङ क्षेत्रमा समस्या देखिनुको कारणमा बैंकहरु पनि जिम्मेवार रहेको उनी बताउँछन । साथै पछिल्लो समय केही स्वार्थ समुहले बैंकलाई कुनै व्यवसायीक घरनासँग जाेडेर अफवाह फैल्याउदा आम जनताकाे विश्वास गुम्न पुगेकाे र त्यसले बैंकिङ क्षेत्रको बारेमा जनताको धारणा नै परिवर्तन गरिदिएकाे उनकाे तर्क छ ।

अहिले बैंकहरुको निष्कृय कर्जा बढेको कारण बैंकहरु डुब्न लागेको भनेर हल्ला फैलिएको हो । यसभन्दा अगाडि आर्थिक वर्ष २०५६–५७ मा नबिल बैंकको खराब कर्जा १६ प्रतिशत रहेको थियो । तर, १६ प्रतिशतसम्म खराब कर्जा हुँदा पनि त्यो बेला नबिल बैंकले आफ्नो वित्तीय अवस्था सुधार गर्यो । यसैगरी, केही वर्ष अगाडीे किष्ट बैंक र ग्राण्ड बैंकमा समस्या देखिएको थियो । त्यो बेला यी दुई बैंकको जोखिम बहन गर्नसक्ने क्षमता एकदमै कम भएको कारण उक्त बैंकमा समस्या देखिएको नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर चिरञ्जीवी नेपाल बताउँछन । ‘ग्राण्ड र किष्ट बैंक चुक्ता पुँजीलगायत जोखिम व्यवस्थापनमा कमजोर थियो, जसको कारण यी बैंकमा समस्या देखियो,’ नेपाल भन्छन, ‘तर, अहिलेका बैंकसँग जोखिम बहन गर्ने क्षमता एकदमै उच्च रहेको छ, जसको कारण नेपालको बैंक डुब्छ भनेर त्यसको पछि लाग्नु मुर्खता हो ।’

किष्ट र ग्राण्ड बैंकले त्यो समयमा जथाभावी रुपमा अत्यधिक लगानी गरेका थिए जसका कारण बैंकको लगानी रिकभर हुने सम्भावना न्यून थियो । यता बैंकसँग जोखिम व्यवस्थापन गर्न सक्ने क्षमता पनि कम हुँदा तत्कालिन अवस्थामा ती दुई बैंक समस्यामा परेको नेपालको बुझाई छ । यी दुई बैंक समस्या पर्दा राष्ट्र बैंकले साबिक प्रभु बैंकसँग मर्जर गराएर बैंकमा निक्षप कर्ताको निक्षेप सुरक्षित गराएको नेपाल बताउँछन । ‘किष्ट र ग्राण्ड बैंकमा समस्या देखिएपछि राष्ट्र बैंकले कन्ट्रोलमा लिएर समस्याको समाधान गरेको थियो,’ उनी भन्छन, ‘अहिले पनि बैंकमा समस्या देखिने वित्तिकै राष्ट्र बैंकले त्यसलाई कन्ट्रोल गर्छ तर बाहिर हल्लामा भनिए जस्तो बैंक डुब्ने अवस्था नै आउँदैन ।’

यदि कुनै बैंकमा केहि गरि समस्या आइहाल्यो भने त्यस बैंकमा रहेको ५ लाख रुपैयाँसम्मको निक्षेपको बीमा हुन्छ । बीमाबाट ५ लाख रुपैयाँसम्म निक्षेपकर्ताले फिर्ता पाउने व्यवस्था रहेको नेपाल बताउँछन । विश्वव्यापी रुपमा आएको कोरोना र त्यसपछिको आर्थिक मन्दीका कारण अहिलेको अवस्था अन्य मूलुकहरुमा नेपालको भन्दा पनि धेरै खराब कर्जा रहेको बताए । ‘अन्य देशको तुलनमा नेपालको खराब कर्जाको अनुपात कम छ,’ उनी भन्छन, ‘तर, खराब कर्जा कम भएपनि राष्ट्र बैंकले बैंकहरुलाई सुक्ष्मरुपमा निगरानी गर्दै आएको छ, त्यसकारण पनि नेपालको बैंक डुब्छ भनेर आत्तिनु पर्ने अवस्था आउँदैन ।’ एसियाका केहि मूलुकमा अहिले खराब कर्जा १५ प्रतिशतसम्म रहेको छ । तर, नेपालमा पनि पछिल्लो समय खराब कर्जा बढ्दै गएको कारण केही सजगता भने अपनाउनुपर्ने समय आएको उनको बुझाई छ ।

यसकारण डुब्दैनन् नेपालका बैंक

पहिलो विषय त नेपालको बैंकिङ क्षेत्रमा जोखिम व्यवस्थापन गर्न सक्ने क्षमता उच्च छ । नेपालमा बैंकहरुले धितोको आधारमा कर्जा लगानी गरेका छन् । धितोको आधारमा रहेर कर्जा लगानी गर्नुलाई नेपालमा सुरक्षित लगानी भनिएको छ । बैंकहरुले कर्जा उठाउन नसकेमा सोही धितो लिलामीबाट आफ्नो कर्जा असुली गर्न सक्छन । यसैगरी, नेपाल राष्ट्र बैंकले बैंकहरुलाई पूँजी कोष, कर्जा निक्षेप अनुपात (सिडि रेसियो), जोखिम भारित सम्पत्तिलगायतका कुराहरु पनि सुक्ष्मरुपमा व्यवस्थापन गर्न लगाएको छ । जसका कारण नेपालका बैंक डुब्ने अवस्थामा नरहेको पूर्व बैंकर भुवन दाहाल बताउँछन । पछिल्लो समय समग्र अर्थतन्त्र सुस्तताको कारण बैंकहरुको खराब ऋण बढेपनि निक्षेपकर्ताको पैसा फिर्ता गर्न सक्ने अवस्थामा नेपाली बैंक रहेको उनले जानकारी दिए ।

बैंकले खराब कर्जा व्यवस्थापन गर्नको लागि प्रोभिजन गरेका हुन्छ । बैंकहरुले भविष्यमा हुन सक्ने अनपेक्षित नोक्सानीको व्यवस्थापन गर्न चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आउँदा ठूलो रकम छुट्टयाएका छन । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वाणिज्य बैंकले २७ अर्ब ३७ करोड रुपैयाँ इम्पियरमेन्ट चार्जको लागि छुट्याएका छन भने, ब्याज सस्पेन्समा (इन्ट्रेस्ट सस्पेन्स) १६ अर्ब १८ रुपैयाँ लाख रुपैयाँ छुट्याएका छन् ।

यसैगरी, नेपालका बैंकहरु नडुब्ने अर्को मुख्य कारण बैंकहरुको पुँजी कोष पनि हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकको प्राथमिक पुँजी ८.५ प्रतिशत त्यसमा २.५ प्रतिशत थप गरि पुरक पुँजी (क्यापिटल एडुकेसि रेसियो) ११ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था रहेको छ । हाल वाणिज्य बैंकको औसत पुँजी कोष १२.६७ प्रतिशत रहेको छ ।

बैंकमा किन समस्या देखियो ?

पछिल्लो केहि महिनायता बैंकहरुको कर्जा लगानी घट्दो छ । बैंकहरुले कर्जा लगानी बढाउन नसक्दा उच्च तरलताको अवस्था रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.२४ प्रतिशतको हाराहारीमा रहेको छ । बैंकहरुले यस्तो सीडी रेसियो ९० प्रतिशतसम्म पुर्याएर कर्जा लगानी गर्न सक्छन । तर, कर्जाको माग नभएकै कारण पछिल्लो समय बैंकहरुको सीडी रेसियो ८० प्रतिशतको हाराहारीमा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । कुनै समय बैंकहरुको सीडी अनुपात ९५ प्रतिशतसम्म पुगेको थियो । यसरी बैकिङ क्षेत्रमा तरलता बढी हुँदा बैंकहरुले उच्च ब्याज तिरेर निक्षेप संकलन गरि सस्तो ब्याजमा राष्ट्र बैंकमा पैसा राख्नुपर्ने अवस्था एक बैंकर बताउँछन । ‘बजारमा भएको तरलतालाई महँगो ब्याज तिरेर बैंकमा तान्नुपरेको छ,’ ती बैंकर भन्छन, ‘त्यही पैसालाई सस्तोमा राष्ट्र बैंकका थन्काएर राख्नुपर्ने अवस्था छ ।’ यसरी बैंकले महँगो ब्याज तिर्नुपर्दा बैंकलाई ठूलो नोक्सान भएको ती बैंकरको बुझाई छ ।

पछिल्लो समय बैंकहरुको आम्दानी खस्किँदो अवस्थामा रहेको छ भने बैंकहरुको सञ्चालन खर्च भने उल्लेखनीय रुपमा बढेको छ । पछिल्लो समय बैंकहरुको कर्जा असुली पनि नियमित हुन सकेको छैन । यस्ता विभिन्न समस्याको कारण पछिल्लो समय बैंकिङ क्षेत्रमा खराब कर्जाको अनुपात उल्लेखनीय रुपमा बढेको बैंकर दाहाल बताउँछन । अहिले बैंकिङ क्षेत्रको मुख्य समस्या नै निष्कृय कर्जा रहेको दाहालको बुझाई छ ।

यसैगरी, राष्ट्र बैंकले लिएको केहि नीतिको कारण पनि बैंकिङ क्षेत्रमा समस्या देखिएको सम्बन्धित क्षेत्रका जानकारहरु बताउँछन । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै कर्जा नोक्सानी व्यवस्थालाई ‘न्यूनतम कर्जा नोक्सानी व्यवस्था’ कार्यान्वयनमा ल्याएको छ । जुन व्यवस्थाअनुसार बैंकहरुले असल कर्जाको लागि समेत १.२५ प्रतिशत प्रोभिजन गर्नुपर्ने हुन्छ । यदि कुनै ऋणीले ९० दिनसम्म कर्जाको नियमित व्याज नतिरेमा सुक्ष्म निगरानी अन्तरगत ५ प्रतिशत प्रोभिजन गर्नुपर्ने हुन्छ भने अहिलेको अवस्थामा राष्ट्र बैंकले नै दिएको सुविधा अन्तरगत कर्जाको पुनर्तालीकीकरण वा पुनर्संरचना गर्दा १२.५ प्रतिशत प्रोभिगजन गर्नुपर्ने बाध्यकारी व्यवस्था छ ।

यसैगरी कमसल कर्जाको लागि २५ प्रतिशत, शंकास्पद कर्जाको लागि ५० प्रतिशत र खराब कर्जाको लागि १०० प्रतिशत कर्जा नोक्शानि गर्नुपर्ने व्यवस्था रहेको छ । यस व्यवस्थाले पनि बैंकहरुको निष्कृय कर्जाको आकार ह्वात्तै बढेको देखिन्छ । यदि असल गर्दा र पुनर्तालिकरण वा पुनर्संरचना गरेको कर्जाको यदि धेरै मात्रामा प्रोभिनको व्यवस्था नगरिदिने हो भने अहिलेको खराब कर्जाको अनुरुप उच्च रुपमा घट्नेसमेत सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL