Logo

वैदेशिक रोजगारीमा जाने १८ प्रतिशत नेपालीले कमाउँछन् वार्षिक १० लाखमाथि, यस्तो छ राष्ट्र बैंककाे प्रतिवेदन

वैदेशिक रोजगारीमा जाने १८ प्रतिशत नेपालीले कमाउँछन् वार्षिक १० लाखमाथि, यस्तो छ राष्ट्र बैंककाे प्रतिवेदन



काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीमा गएका १८ प्रतिशत नेपालीले बार्षिक १० लाख माथि कमाउने गरेको पाईएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ ।

laxmi

राष्ट्र बैंकले सोमबार मात्रै लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

जसमा वैदेशिक रोजगारीबाट वार्षिक ५ लाखसम्म, ५ देखि १० लाखसम्म र १० लाख भन्दा माथि आय—आर्जन गर्नेहरु क्रमशः ४२.३० प्रतिशत, ३९.६९ प्रतिशत र १८.०१ प्रतिशत रहेका छन् । राष्ट्र बैंकका अनुसार नेपालबाट वैदेशिक रोजगारीमा जाने धेरैजसो अर्थात ४२ प्रतिशत नेपालीहरुले बार्षिक ५ लाख रुपैयाँसम्म मात्रै आर्जन गर्ने गरेका छन् ।

७६ प्रतिशत नेपाली श्रमिक अयोग्य

प्रतिवेदनलाई नै आधार मान्दा नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये सीपमूलक तालिम नलिई जाने ७६.० प्रतिशत रहेका छन् भने तालिम लिएर जाने २४ प्रतिशत रहेका छन् । त्यस्तै वैदेशिक रोजगारीमा जानुपूर्व स्वदेशमा कुनै पेशामा आबद्ध रहेका र आबद्ध नरहेका व्यक्तिहरु क्रमशः ४० प्रतिशत र ६० प्रतिशत रहेका छन् ।

बार्षिक ११ प्रतिशतले बढ्दै रेमिट्यान्स आप्रवाह

यस्तै राष्ट्र बैंकले पछिल्लो १० बर्षमा मात्रै नेपालमा रेमिट्यान्स आप्रवाह करिव साढे ६ खर्बले बढेको बताएको छ । यसरी हेर्दा नेपालमा आप्रवाह हुने रेमिट्यान्सको वृद्धिदर बार्षिक ओसतमा ११.१३ प्रतिशत छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७९/८०को वार्षिक तथ्याङ्क अनुसार विगत दश वर्षको विप्रेषण आप्रवाह विश्लेषण गर्दा आर्थिक वर्ष २०७०/७१ मा ५ खर्ब ४३ अर्ब २९ करोड विप्रेषण रकम नेपाल भित्रिएकोमा यो रकम वार्षिक औसत ११.१३ प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०७९/८० सम्म आईपुग्दा १२ खर्ब २० अर्ब ५५ करोड पुगेको देखिन्छ जुन सोही वर्षको कुल गार्हस्थ्य उत्पादनमा २२.७० प्रतिशत हुन आउँछ ।

नेपाल राष्ट्र बैंकले अध्ययनमा लुम्बिनी प्रदेश अन्तर्गतका ५ वटा जिल्लाहरु (गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही र रोल्पा) बाट वैदेशिक रोजगारीमा गएका ३ सय ८३ परिवारहरुको स्थलगत सर्वेक्षण गरेको थियो ।

जसमध्ये वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकहरुमध्ये सबैभन्दा बढी यूएईमा २४.२८ प्रतिशत र सबैभन्दा कम ओमन तथा बहराइन दुवैमा १.८३ प्रतिशत वैदेशिक रोजगारीका लागि गएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL