Logo

बैंकविरुद्धको अराजकताप्रति बैंकर्स संघको निन्दा, दोषीलाई कारबाहीको माग

बैंकविरुद्धको अराजकताप्रति बैंकर्स संघको निन्दा, दोषीलाई कारबाहीको माग



काठमाडौं । नेपाल बैंकर्स संघले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरुद्ध भईरहेका अराजक क्रियाकलापप्रति निन्दा व्यक्त गरेको छ । संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही व्यक्ति÷समूहहरुले बैंक÷वित्तीय तथा लघुवित्त संस्थाहरुका कर्मचारीहरु प्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरु, अराजक व्यवहार र सांघातिक आक्रमणको घोर निन्दा गरेको जानकारी दिएको हो ।

मुलुकमा आईपरेको महा–भूकम्प, कोभिड महामारी जस्ता विषम परिस्थितीमा समेत आफ्नो ज्यानलाई जोखिममा राखेर अग्रपंक्तिमा रही सेवा प्रदान गर्ने वित्तीय क्षेत्रविरुद्धका यस्ता क्रियाकलापले यो क्षेत्रलाई निरुत्साहित पारेको संघको भनाई छ । यस्तै क्रियाकलापका कारण बैंक वित्तीय क्षेत्रका कर्मचारीहरु माथि जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दी प्रति घोर आपत्ती रहेका संघले बताएको छ ।

यस्तै यस्ता घटनामा संलग्न दोषीहरुलाई यथाशिघ्र हदैसम्मको कारवाहीको माग संघले गरेको छ । यस्तै संघले अराजक र उत्तेजित अभिव्यक्ति दिई यस प्रकारका घटनालाई प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानूनी दायरामा ल्याउन माग गरेको छ । बैंक वित्तीय क्षेत्रविरुद्धका यस्ता अप्रिय घटना नरोकिएमा कर्मचारीहरुको सुरक्षा निमित्त बैंकिङ सेवा नै सुचारु हुन नसक्ने सम्भावना रहेको संघले जानकारी दिएको छ ।

बैंकिङ जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको आक्रमणले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको हुंदा यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई भईरहेका अराजक घट्नालाई समयमैै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसंग संघले अनुरोध पनि गरेको छ ।

‘यस प्रकारका क्रियाकलापहरु कसैको हितमा नहुने, यसले असहज वातावरण सृजना गर्ने, सामाजिक सहिष्णुता खलल पुर्याउने, आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्ने र अन्ततः अर्थतन्त्र नै धराशायी हुन सक्ने हुनाले यस प्रति सजग रहन हामी सबैमा आग्रह गर्दछौं ।’, संघको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL