Logo

कालोधन शुद्धिकरण छानविनमा राष्ट्र बैंकको एक्शन : एक महिनामै जारी गर्याे ५ नयाँ निर्देशन, शंकामा राजनीतिज्ञ र ठूला व्यापारी

कालोधन शुद्धिकरण छानविनमा राष्ट्र बैंकको एक्शन : एक महिनामै जारी गर्याे ५ नयाँ निर्देशन, शंकामा राजनीतिज्ञ र ठूला व्यापारी



काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिरमा मात्रै सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलाप सम्बन्धी ५ नयाँ सूचना जारी गर्याे । केन्द्रिय बैंकले मंसिरमा पहिलो पटक गत १६ गते एक परिपत्र जारी गर्दै बैंक वित्तीय संस्थाहरुले अवलम्बन गर्नेगरी सम्पत्ती शुद्धिकरण सम्बन्धी एकिकृत निर्देशन २०७८ मा संशोधन गर्याे ।

laxmi

त्यसपश्चात बैंकले मंसिर, १८ गते पुनः कालोधन शुद्धिकरण र आतंकवादी क्रियाकलापमा आर्थिक गतिविधि एसेसमेन्ट गाईडलाइन जारी गर्याे । पुनः त्यसको ३ दिनपछि २१ गते वित्तीय सूचना एकाईको प्रतिवेदन र २३ गते सम्पत्ती शुद्धिकरण निवारण सुपरिवेक्षण महाशाखा नै कार्यान्वयनमा ल्याउने सूचना जारी गर्याे ।

यति मात्रै होईन राष्ट्र बैंकले मंसिर २९ गते अर्थात बिहीबार मात्रै बैंक तथा वित्तीय संस्थाको संचालक र व्यवस्थापक हुने विषयमा पनि कडाई गर्याे । अबका दिनमा आतंकवादी क्रियाकलापमा संलग्न भएको खण्डमा ५ बर्ष नाघेको हुनुपर्नेलगायतका बुँदाहरु राखेर राष्ट्र बैंकले निर्देशिका नै जारी गर्याे । यसमार्फत बैंकको उच्च ओहोदाका कर्मचारीहरुमाथि पनि राष्ट्र बैंकले शंका व्यक्त गरेको बुझ्न सकिन्छ ।

अर्थात नेपाल राष्ट्र बैंकले पछिल्लो एक महिनामै सम्पत्ती शुद्धिकरण र आतंकवादी क्रियाकलापमा आर्थिक गतिविधिसम्बन्धिका ५ नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको यस्ता क्रियाकलापमा बढेको सुपरिवेक्षणीय चासोले देशमा कालोधन बढीरहेको आशंका यत्तिकै पनि उत्पन्न हुन्छ । सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा यसअघि पनि राष्ट्र बैंकले छिटफुट अध्ययन गर्ने, चेतावनी दिनेलगायतका क्रियाकलापहरु गर्दै आएको थियो । तर, पछिल्लो १ महिनामा भने राष्ट्र बैंकले यसमा विशेष चासो दिएको स्विकार्छन राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेल । उनका अनुसार पछिल्लो समय नेपालको कन्ट्री एसेसमेन्ट गर्नुपर्ने भएकाले राष्ट्र बैंकले यस्ता क्रियाकलापलाई न्युनिकरण गर्नका लागि एक महिनाकै अवधिमा यति धेरै एक्शन लिनुपरेको हो ।

यति मात्रै होईन बेलाबेलामा राजनीतिक पृष्ठभूमि भएका केहि प्रसिद्ध व्यक्तित्वहरु तथा ठुला घरानाका व्यवसायीहरु नै हुण्डी, कालोधन ओसारपसारलगायतका क्रियाकलापमा संलग्न हुने गरेको पाईएको छ । त्यसलाई सन्तुलनमा ल्याउन र नियन्त्रण गर्नका लागि पनि पछिल्लो समय यसको सुपरिवेक्षणमा कडा नीति नै अपनाउन थालिएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

उनका अनुसार केहि ठुला व्यवसायीक घरानाहरु नै कालोधन ओसारपसारमा संलग्न रहेको पाईएको छ । ‘विदेशमा छोराछोरीलाई पढ्न पठाउने, कलेज फी उतैबाट तिरेर यता कालोधन भने सम्बन्धित व्यक्तिलाई दिने गरेको पाईएको छ,’ उनले भने, यस्तो रकम कुनै पनि क्रियाकलापमा नदेखिने भएकाले यसलाई कालोधन ओसारपसारको संज्ञा दिने गरिएको छ ।’

यता राष्ट्र बैंकले गत मंसिर २१ गते सार्वजनिक गरेको वित्तीय सूचना एकाईको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा शंकास्पद कारोबारको रिर्पोटिङ गत आर्थिक बर्ष ८१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष १ हजार ५३३ वटा शंकास्पद कारोबारको रिपोर्टिङ केन्द्रिय बैंकमा भएको थियो ।

गत बर्ष उक्त रिपोर्टिङ बढेर २ हजार ३ सय ८० वटा पुगेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा नेपालका ठुला कर्पाेरेट हाउसका संचालक नै यस्तो क्रियाकलापमा संलग्न रहेको उल्ल्ेख गरेको छ । तर, यस्ता शंकास्पद कारोबारहरु उच्च राजनीतिक पहुँचकै कारण गुपचुप पारिनेसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

शंकास्पद कारोबार भएको खण्डमा ३ दिनभित्र बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रिय बैंकमा रिपोर्टिङ गर्ने व्यवस्था गरिएको छ । यस्तो रिपोर्टिङ आफुकहाँ आएपछि केन्द्रिय बैंकले अनुसन्धान विभागमा अनुसन्धानका लागि फाइल पठाउँछ । तर, विडम्बना त्यस्ता फाईल विभागबाटै गायव हुनेगरेको राष्ट्र बैंक सम्बद्ध अधिकारीहरु नै बताउँछन् ।

अबका दिनमा त्यस्ता गतिविधिलाई विशेष चासो दिएर अध्ययन गर्न नेपाल राष्ट्र बैंकले छुट्टै महाशाखा समेत निर्माण गर्नेगरी तयारी थालिसकेको छ । माघ १ गतेदेखि संचालनमा आउने उक्त महाशाखाले सम्पत्ति शुद्धिकरण निवारण तथा आतंकवादी क्रियाकलापको छानविनमा विशेष जोड दिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL