Logo

मौद्रिक नीतिमा सेयर धितोकर्जा : ४ करोडको सीमा हट्ने, १२ करोड यथावत रहने

मौद्रिक नीतिमा सेयर धितोकर्जा : ४ करोडको सीमा हट्ने, १२ करोड यथावत रहने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९।८० को मौद्रिक नीतिमार्फत सेयर धितोकर्जाको सीमामा केही परिवर्तन गर्ने भएको छ । राष्ट्र बैंक स्रोतका अनुसार आगामी मौद्रिक नीतिले सेयर धितोकर्जामा लाग्दै आएको ४ करोडको सीमालाई हटाउने भएको छ ।

laxmi

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सिङ्गल अब्लिगर लिमिट एउटा बैंकबाट ४ करोड गरेर बढीमा १२ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको थियो । तर, आगामी दिनमा सेयर धितोकर्जाको अधिकतम १२ करोड रुपैयाँको सीमालाई यथावत राख्दै ४ करोड रुपैयाँको सीमालाई भने हटाउने भएको हो ।

‘अहिले लगानीकर्ताले एउटा बैंकबाट ४ करोड र सबैबाट गरी बढीमा १२ करोड रुपैयाँ लिन पाउने सीमा पुरै हटाउन माग गर्दै आएका छन्,’ समाचार स्रोतले भन्यो, ‘तर अहिलेको अवस्थामा १२ करोड रुपैयाँको सीमा घटाउन सकिँदैन, एउटा बैंकबाट ४ करोड रुपैयाँ मात्र लिन पाउने सीमा भने हटाउने विषयमा छलफल भएको छ ।’ जस अनुसार लगानीकर्ताले १२ करोड रुपैयाँसम्मको सेयर धितोकर्जा एउटै बैंकबाट पनि लिन सक्नेछन् ।

पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मालगायतले राष्ट्र बैंककै कारण सेयर बजारमा गिरावट आएको निष्कर्षसहित राष्ट्र बैंकको मौजुदा नीतिमा सुधार गर्नुपर्ने बताउँदै आएका छन् । अर्थमन्त्री शर्माले नेपाल धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सव समारोहमा पनि मौद्रिक नीतिमा देखिएका समस्या सम्बोधन गरेर पुँजीबजारको बिकास गर्नुपर्ने बताएका थिए ।

तर, अहिलेको अवस्थामा सेयर धितोकर्जाको १२ करोडको सीमा हटाउँदा समग्र अर्थतन्त्रमै दबाब पर्ने भएकाले उक्त सीमा भने नहटाईने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । ‘बजारमा लगानीयोग्य रकम नभएर समस्या भएको अवस्थामा सेयर धितोकर्जाको १२ करोडको सीमा हटाउनु कुनै तर्कसंगत हुँदैन,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्
MBL