Logo

बैकिङ सेवामा प्रविधिगत रुपान्तरण गर्दै नबिल बैंक, सेवा अब कम्प्युटराइज्डबाट डिजिटलाइज्डमा

बैकिङ सेवामा प्रविधिगत रुपान्तरण गर्दै नबिल बैंक, सेवा अब कम्प्युटराइज्डबाट डिजिटलाइज्डमा



काठमाडौं । नबिल बैंकले आफ्ना सबै सेवाहरुलाई डिजिटलाइज्ड गर्ने उद्देश्यले ‘नबिल डिजीबैंक’ पोर्टल बिहीबार सार्वजनिक गरेको छ । बैंकले खाता खोल्नेदेखि ‘कर्पाेरेट पे’ समेत गर्न मिल्नेगरी उक्त पोर्टल सार्वजनिक गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले सार्वजनिक गरेको उक्त पोर्टलमार्फत बैंकका ग्राहकले धेरैथरी सेवासुविधा अनलाईनबाटै लिन सक्छन् ।

बैंकले आफ्ना सेवाहरुलाई पूर्ण रुपमा डिजिटलाईज्डमाध्यमबाट प्रदान गर्नेगरि र हरेक बैंकिङ क्रियाकलापलाई मोबाईलबाटै गर्न सकिने गरी सेवा उपलब्ध बताएको छ । पोर्टल सार्वजनिक भएपछि अब बैंक कम्प्युटराइज्डबाट डिजिटलाईज्ड प्रविधिमा रुपान्तरण भएको सीईओ शाह बताउँछन् । उनका अनुसार बैंकले पछिल्लो ३७ बर्षको अन्तरालमा विभिन्न कोशेढुंगा पार गरेको छ ।

बैंकले आफुलाई जहिले पनि डिजिटलाईन्ड प्रविधिमा केन्द्रित भएर सेवा दिँदै आएको सीईओ शाह बताउँछन् । ‘हामी स्थापना कालदेखि नै कम्प्युटराइज्डलाई पछ्याउँदै आएका छौं,’ उनले भने, ‘अब हामी पूर्ण रुपमा डिजिटलाइज्ड हुन चाहान्छौं, अब किन घरबाटै हुने कामका लागि बैंकसम्म धाउनु ?’ उनका अनुसार नबिल बैंकले अनलाईनमार्फत बैंक खाता खोल्ने प्रणाली १३ बर्षअघि नै ल्याईसकेको थियो । इन्टरनेट र अनलाईनसँग नै ग्राहकहरु त्यति जानकार नभईसकेको बेलामा ल्याईएको उक्त प्रोडक्टले हालसालै मात्रै तीव्रता पाएको छ ।

बैंकले सार्वजनिक गरेको नबिल डिजिबैंक पोर्टलमार्फत बैंकले आफ्ना प्रोडक्टहरुलाई एकद्धार प्रणालीअन्तर्गत ग्राहकसम्म पुर्याउनेछ । अर्थात ग्राहकहरुले बैंकसम्मै गएर लिनुपर्ने सबै किसिमका बैंकिङ सेवासुविधा आफ्नो मोबाईलबाटै लिन सक्नेछन् । जसका लागि बैंकले बजारमा भएका मोबाईल वालेटहरु, भुक्तानी सेवाप्रदायक, कर्पाेरेट सेक्टरलगायतसँगको सहकार्य तीव्रका साथ अघि बढाएको छ । बृहत डिजिटल भिजन र रणनीति निर्माण गर्न अगस्ट २०२० मा बैंकले उक्त परियोजना स्थापना गरी काम अघि बढाएको थियो ।

anil_shah_nabil_digibank

नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट डेबिट क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल एसएमई लोन आवेदन लगायत अनलाइन सेवा उपलब्ध छन । यसका साथै बैंकले आगामी दिनमा अन्य धेरै अनलाइन सेवाहरु थप गर्दै जाने योजना बनाएको छ । यसमा ईकमर्समा वस्तु खरिदका लागि बैंकको पोर्टलबाटै गर्न सकिने व्यवस्थासमेत यसमा हुनेछ । बैंकले यसलाई पेमेन्ट ईकोसिस्टमनै नाम राखेर ल्याएको छ । जसमार्फत हरेक क्षेत्रका हरेक बैंकिङ र भुक्तानी क्रियाकलापहरु गर्न सकिनेछ । यसका लागि फुडमाण्डु, फुडगंज, भोजलगायतका डेलिभरी प्ल्याटफर्म र अनलाईनमार्फत सेवा दिने अन्य निकायहरुलाई पनि आफ्नो डिजी बैंकमा जोडिन सीईओ शाहले आग्रहसमेत गरेका छन् । डिजी बैंक सार्वजनिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भिकेवाइसी) र भर्चुअल आईकार्डसमेत सार्वजनिक गरेका छन् ।

के हो भि केवाईसी ?

भिकेवाईसी भनेको भिडियोमार्फत नै ग्राहक पहिचान र प्रमाणीकरण गरी खाता खोल्न सकिने व्यवस्था हो । यसमार्फत नबिल बैंकले बैंकमा खाता खोल्न चाहने ग्राहकका लागि घरमै बसेर भिकेवाईसीमार्फत डकुमेन्ट र पर्सन भेरिफाई गरी खाता खोल्न सक्नेछन् । यसका लागि ग्राहकहरुले आफ्नो सबै डकुमेन्टहरु अनलाईनमार्फत पेश गर्ने र त्यसपश्चात बैंकमा भिडियोमार्फत भेरिफाई गर्न सक्नेछन् ।
यसले बैंकका शाखाहरुलाई घटाउन र डिजिटल बैंकिङलाईसमेत सहजीकरण गर्न ठुलो सहयोग गर्ने बैंकका सीईओ अनिल शाहले बताए । ‘विश्व नै डिजिटलाईज्डमा गईरहेको छे, अब को बैंकसम्मै गएर लाईन लागेर खाता खोल्ने कष्ट गर्छ ?’, उनले प्रश्न गरे, ‘यसकै विकल्पका लागि हामीले भिकेवाईसी सुविधा सार्वजनिक गरेका छौं ।’ भीकेवाइसी छनोटमार्फत ग्राहकले क्यामेराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्व निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचानसम्बन्धी कार्य पुरा गर्नुपर्ने हुन्छ ।

भर्चुअल आईकार्ड

बैंकले यतिमात्रै नभई बिहीबार भर्चुअल आईकार्डसमेत सार्वजनिक गरेको छ । बैंकको नबिल स्मार्ट नामक एपभित्र हुने उक्त कार्ड भौतिक नभई भर्चुअल हो । यसबाट क्रेडिट, डेबिट, एटिएमलगायत कार्डबाट गरिने बैकिङ क्रियाकलापहरु गर्न सकिनेछ । यसका लागि ग्राहकले आफ्नो प्यान नम्बर राखेर आवेदन दिन सक्नेछन् ।

त्यसपछि यसमा ब्यालेन्स टपअप गरी आफ्नो भुक्तानीहरु सुचारु गर्न सक्ने बैंकले जानकारी दिएको छ । साथै, व्यालेन्स टप–अप पनि गर्न सकिन्छ । ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्ती मिति, सीभीभी) सहित मोबाइल बैंक एपभित्र भर्चुअल कार्ड तुरन्तै जारी हुन्छ । भर्चुअल आईकार्ड (भारतीय रुपैयाँबाहेका) ई–कारोबारका लागि पनि प्रयोग गर्न सकिने बैंकले जानकारी दरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL