Logo

१ लाख २० हजार व्यवसायीले लिए १ खर्ब ८७ अर्ब सहुलियतपूर्ण कर्जा, महिला कर्जाको संख्या ५० प्रतिशतभन्दा बढि

१ लाख २० हजार व्यवसायीले लिए १ खर्ब ८७ अर्ब सहुलियतपूर्ण कर्जा, महिला कर्जाको संख्या ५० प्रतिशतभन्दा बढि



काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कर्जा लिने व्यवसायीको संख्या बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको भदौ मसान्तसम्मा आईपुग्दा १ लाख २० हजार ७ सय १५ ऋणीले सहुलियतपूर्ण कर्जा लिएका छन् । सरकारले सहुलियतपूर्ण कर्जाको कार्यविधि बनाई कृषि, महिला उद्यम, शैक्षिक कर्जा, वैदेशिक रोजगारीबाट फर्किएका युवा लगायतलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्दै आएको छ । त्यसरी प्रबाह भएको कर्जा हालसम्म १ खर्ब ८७ अर्ब १६ करोड पुगेको छ ।

सोमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५१ हजार २ सय ७२ ऋणीलाई १ खर्ब २१ अर्ब ६ करोड कर्जा रहेको छ । यसैगरी महिला उद्यमशील कर्जा अन्तर्गत ६६ हजार ६ सय ९० महिला उद्यमीले ६२ अर्ब ३७ करोड रुपैयाँ कर्जा लिएका छन् । हाल सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७ सय ५३ ऋणीको रु.३ अर्ब ७३ करोड कर्जा बक्यौता रहेको छ । पछिल्लो समय सहुलियतपूर्ण कर्जामा महिला उद्यमीहरुको सहभागिता उच्च देखिएको छ ।

यस्तै “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा अन्तरगत २०७८ भदौ मसान्तसम्ममा १ अर्ब रुपैयाँ स्वीकृत भएको छ ।

यसैगरी हालसम्म १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ पुनर्कर्जा प्रबाह भएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो २ महिनासम्ममा सहुलियतदरमा उक्त कर्जा प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL