Logo

ग्लोबल आइएमई बैंक र एनसेलबीच सम्झौता, बैंकमा खाता खोल्दा डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा

ग्लोबल आइएमई बैंक र एनसेलबीच सम्झौता, बैंकमा खाता खोल्दा डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र एनसेल बीच एक सम्झौता भएको छ । मंगलबार बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकहरुलाई ब्यालेन्स र मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउन डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनसेल एक्जियाटा लिमिटेडका कार्यकारी निर्देशक एण्डी चोङले मंगलबार हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने, वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरु एवम् उनीहरुका परिवार र बाह्य रेमिट्यान्समार्फत आय भएका नेपालीहरुले ग्लोबल आइएमई बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोली निशुल्क सहयात्री सिमकार्ड प्राप्त गर्न सक्नेछन् ।

उक्त सहयात्री सिममा ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गर्न २५० एमबी डाटा प्याक निशुल्क उपलब्ध हुनेछ । यसैगरी सहयात्री सिमकार्डमा २० रुपैयाँ मेन ब्यालेन्स, एनसेल नेटवर्कभित्र फोन गर्न २० मिनेटको टकटाइम, २० वटा एसएमएस तथा २०० एमबी डाटा प्राप्त हुनेछ ।
यसका साथै सिम सुचारु गरिएको २ दिनभित्र १ सय रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा १०० मिनेट एनसेल टकटाइम तथा १०० एमबी डाटा पनि पाइनेछ ।
सहयात्री सिमकार्ड प्रयोगकर्ताहरुले १ वर्षसम्म हरेक पटक रिचार्ज गर्दा १० प्रतिशत बोनस तथा भारत, मलेसिया एवम् मध्यपूर्वी राष्ट्रहरुमा कल गर्दा अतिरिक्त छुट पनि प्राप्त गर्नेछन ।

बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजनाहरु ल्याई आफ्ना ग्राहकहरुलाई विस्तारित बैंकिङ्गका साथसाथै अन्य सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL