Logo

समस्याग्रस्त क्यापिटल मर्चेण्ट नयाँ समुहले संचालन गर्न नसकेपछि लगानीकर्ता खोज्दै राष्ट्र बैंक, ल्यायो ३ अप्सन

समस्याग्रस्त क्यापिटल मर्चेण्ट नयाँ समुहले संचालन गर्न नसकेपछि लगानीकर्ता खोज्दै राष्ट्र बैंक, ल्यायो ३ अप्सन



काठमाडौं । लामो समयदेखि समस्याग्रस्त रहेको क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स लिमिटेड सञ्चालनको लागि राष्ट्र बैंकले नयाँ लगानीकर्ता खोज्ने भएको छ । राष्ट्र बैंकले २०६९ साल माघ ९ गते समस्याग्रस्त घोषणा गरेको उक्त फाइनान्स सञ्चालनका लागि २०७५ सालमा नयाँ लगानीकर्ता भित्रिएको थियो । सोही अनुरूप राष्ट्र बैंककै निर्देशनमा सेयर कारोबार फुकुवा गर्दै २०७५ साल असोज ४ गते नेप्सेमा संस्थापक सेयर कारोबार हुँदै नयाँ लगानीकर्ता भित्रिएका थिए ।

laxmi

तत्कालीन समयमा समस्याग्रस्त उक्त फाइनान्स नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य प्रबलजङ्ग पाण्डे, चिरञ्जीवी थापालगायतको समुहले खरिद गरेको थियो । सो समुहले उक्त फाइनान्सको संस्थापक समुहको ७० प्रतिशत हिस्सा सेयर प्रतिकित्ता मूल्य २२ रुपैयाँमा खरिद गरेको थियो । उक्त समुहले ६ महिनाभित्रै सञ्चालनमा ल्याउनेगरी उक्त फाइनान्समा प्रवेश गरेपनि हालसम्म चुक्ता पूँजीनै जुटाउन नसकेपछि राष्ट्र बैंकले कुनै बैंक तथा वित्तीय संस्थासँग एक्विजिशन गराउने वा नयाँ लगानीकर्ता खोजेर जिम्मा लगाउने लागेको हो । उक्त समुहले तत्कालीन समयमै चुक्ता पूँजी राखेर सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएपनि हालसम्म उक्त रकम जुटाउन सकेका छैनन् ।

वित्तीय अवस्था बिग्रिएपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको सो फाइनान्सको नेटवोर्थ नेगेटिभ छ । राष्ट्र बैंककै पहलमा निक्षेपकर्ताको बचत फिर्ता गरेको सो फाइनान्समा सर्वसाधारण लगानीकर्ताले सेयरमा गरेको लगानी भने डुविरहेको छ । ‘हामीले उक्त फाइनान्सलाई जसरी पनि बचाउनु थियो, सोही अनुरूप तत्कालीन समयमा नयाँ लगानीकर्ता भित्र्याउन बाटो खुला गरिदियौं,’ राष्ट्र बैंकका वित्त कम्पनी नियमन विभागका प्रमुख पिताम्बर भण्डारीले भने, ‘तर आजका मितिसम्म पनि नयाँ लगानीकर्ताले आवश्यक चुक्ता पूँजी जुटाउन सक्नु भएको छैन ।’

हाल सो कम्पनीको चुक्ता पूँजी ९३ करोड ५० लाख रुपैयाँ रहेको छ । नयाँ समुहले उक्त कम्पनी खरिदगरेसँगै नयाँ समुहको तर्फबाट चिरञ्जीवी थापा सो कम्पनीको अध्यक्ष भएका थिए । तर अहिले उनले पनि सो कम्पनीको अध्यक्षबाट छाडेर अर्कै व्यक्तिलाई अध्यक्षको जिम्मेवारी दिइएको छ । साथै सो कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा राष्ट्र बैंककै पूर्व कर्मचारी रविन्द्र खनाल रहेका छन् ।

नयाँ समुहले पनि लामो समयसम्म उक्त कम्पनी सञ्चालन गर्न नसकेपछि अब कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा छलफल सुरु गरिएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले जानकारी दिए । ‘म डेपुटी गभर्नर भएर आएपछि पनि उक्त कम्पनीको सञ्चालनका लागि नयाँ लगानीकर्ताहरूको समुहसँग छलफल गरिसकेको छु,’ उनले भने, ‘तर उहाँहरूमा उक्त कम्पनी सञ्चालन गर्न सक्ने क्षमता देखिएको छैन ।’

उनका अनुसार अझै पनि २०७५ सालमा प्रवेश गरेका लगानीकर्ताका नयाँ समुहलाई उक्त कम्पनी चाडो संचानल गर्न निर्देशन दिईएको छ । तर, अहिलेसम्मको अवस्था हेर्दा उहाँहरुले सञ्चालन गर्न तदारुपकता नदेखाएकाले दोस्रो र तेस्रो अप्सनमा गएर उक्त कम्पनी बचाउनतर्फ राष्ट्र बैंक केन्द्रित भएको समेत उनले जानकारी दिए । ‘उक्त कम्पनी भनेको हाम्रो बच्चा हो तसर्थ हामीले जसरी पनि बचाउनु पर्छ,’ उनले भने, ‘अहिले प्रवेश भएका लगानीकर्ता समुहले सञ्चालन गर्न सक्ने अवस्था नदेखिएकाले अबका दिनम उक्त कम्पनीलाई अन्य बैंक तथा वित्तीय संस्थासँग एक्विजिशन गराउने वा नयाँ लगानीकर्ता खोज्ने भन्नेतर्फ पनि छलफल अघि बढाएका छौं ।’

यसैगरी कम्पनीका पूर्व अध्यक्ष चिरञ्जीवी थापा भने राष्ट्र बैंककै असहयोगका कारण आफुहरुले उक्त कम्पनी सञ्चालनमा ल्याउन नसकिएको बताउँछन् । ‘हामीले सो कम्पनी सञ्चालनमा ल्याउनका लागि ४ बर्षसम्म राष्ट्र बैंक समक्ष धायौं तर राष्ट्र बैंकले सहजीकरण नगरिदिँदा न हामी अघि बढ्न सक्यौ न पछाडि फर्कननै,’ उनले भने, ‘तर अहिले भने हामीहरु कम्पनीको खराब कर्जाहरु उठौतीमा केन्द्रित भएका छौं ।’

साथै अबको ३ देखि ४ महिनामा उक्त फाईनान्सलाई कसरी सञ्चालनमा ल्याउने भन्नेबारे उपयुक्त सोलुसनमा पुगिने समेत उनको दावी थियो । साथै काममा सहजीकरणभन्दा पनि खुट्टा तान्ने प्रवित्तिको हावी हुँदा आफुहरुले काम गर्न नसकिएको समेत उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL