काठमाडों । नेपाल ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादन तथा बिक्री वितरणमा आगामी सोमबारदेखि एक साताका लागि पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ। संघको शुक्रबार बसेको बैठकले असार २३ गतेदेखि २९ गतेसम्म चल्ला उत्पादन र बिक्री नगर्न सदस्य उद्योगीलाई निर्देशन दिएको हो।
संघका अध्यक्ष लक्ष्मीदास श्रेष्ठका अनुसार हाल ह्याचरी व्यवसाय गम्भीर संकटमा परेको छ। उत्पादन लागत दिनप्रतिदिन बढिरहेको छ तर बजारमा मूल्य भने लागतभन्दा निकै कम रहेको छ। उनका अनुसार अहिले चल्ला बिक्री गर्दा किसानहरूलाई ठूलो घाटा व्यहोर्नु परिरहेको छ र बिक्री नै नहुने अवस्था सिर्जना भएको छ। यसैले एक साताका लागि उत्पादन बन्द गरेर बजार सन्तुलन कायम गर्ने प्रयास गरिएको हो।
श्रेष्ठले बताएअनुसार देशभर अहिले बोइलर कुखुराको फार्मिङ गर्ने करिब ६ सय किसान सक्रिय छन्। तर, ह्याचरी उद्योगमा आबद्ध संख्या भने घट्दै गएको छ। दुई वर्ष अघिसम्म ३५० भन्दा बढी फर्म रहेका थिए भने अहिले त्यो संख्या घटेर एक सयभन्दा कममा झरेको छ। धेरै किसान व्यवसाय छाडेर गइसकेका छन्।
संघले उत्पादनभन्दा बढी आपूर्ति हुँदा बजारमा मूल्य घटेर किसान र व्यवसायी दुबै मर्कामा परेको जनाएको छ। अहिले साप्ताहिक बजार माग २० देखि २२ लाख चल्ला भए पनि उत्पादन भने ३० देखि ३५ लाखको हाराहारीमा छ। मागभन्दा धेरै उत्पादन भएपछि मूल्य निरन्तर घट्दै गएको छ।
किसानहरूलाई बिक्री नहुँदा उत्पादन गरेको चल्ला गाड्नुपर्ने अवस्था आएको छ। दाना खुवाउन नसक्ने र बैंकको ऋणसमेत तिर्न सक्ने स्थिति नरहेको व्यवसायीहरू बताउँछन्। दुई महिनाअघि एउटाको ५५ देखि ६० रुपैयाँ पर्ने चल्ला अहिले २० देखि २५ रुपैयाँमा पनि बिक्री नभएको उनीहरूको भनाइ छ।
पञ्चकन्या बिडिङ फर्मका सञ्चालक रविन पुरीले माग घटेसँगै उत्पादन कटौती गरिएको भए पनि बिक्री नहुँदा चल्ला खाल्डो खनेर गाड्नुपरेको बताए। पहिले साप्ताहिक ८० देखि ९० हजार चल्ला उत्पादन गर्ने क्षमतामा रहे पनि हाल ४० देखि ५० हजार उत्पादन गरिँदा पनि बजारमा उठ्न सकेको छैन। उनका अनुसार अहिलेको अवस्था किसानका लागि अत्यन्तै गाह्रो बनेको छ।
नेपाल पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्रले पनि संघको यो निर्णयलाई किसान हितमा भएको बताएका छन्। बिक्री नभएर घाटा सहनु पर्नेभन्दा केही समय उत्पादन रोकिनु नै ठीक निर्णय भएको उनको भनाइ छ। उनले साउनदेखि कुखुराको मासु खपत झनै कम हुने भएकाले अहिले नै सन्तुलन कायम गर्नु आवश्यक रहेको बताए।
पोल्ट्री क्षेत्रमा हाल १ खर्ब ६० अर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको छ। तर व्यवसायीहरूले सरकारले यो क्षेत्रमा चासो नदिएको भन्दै गुनासो गरेका छन्। उनीहरूका अनुसार आयात प्रतिस्थापन, रोजगारी र आत्मनिर्भरता प्रवर्द्धनमा ठूलो भूमिका खेलेको यो व्यवसाय यथास्थितिमा जान दिने हो भने धरासायी बन्ने खतरा देखिएको छ।
संघले सबै उद्यमीबीच आपसी सहमति कायम गर्दै एक साता चल्ला उत्पादन तथा बिक्री रोकेपछि बजारमा सुधार हुने र किसानले उचित मूल्य पाउने आशा व्यक्त गरेको छ