Logo

चितवनमा सूर्यमुखीको व्यावसायिक खेती, टिकट काटेर घुम्ने र टिकटक बनाउनेको आकर्षण

चितवनमा सूर्यमुखीको व्यावसायिक खेती, टिकट काटेर घुम्ने र टिकटक बनाउनेको आकर्षण



काठमाडौं । चितवनको भरतपुरमा व्यावसायिकरुपमा सूर्यमुखी खेती गरिएको छ । तेलन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामुहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको हो ।

laxmi

जिल्लामा रहेका चार जना प्राङ्गारिक किसानको अगुवाइमा पौने तीन बिघा जमिनमा सूर्यमुखी खेती गरिएको कृषक चन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार कृषि ज्ञान केन्द्र चितवनसँग साढे चार बिघा जमिनमा तेलन बालीका लागि सहकार्य भएकाले पौने तीन बिघामा सूर्यमुखी र बाँकीमा तोरी खेती गरिएको छ । जसमा ज्ञान केन्द्रले बीउ, मल र सिँचाइमा सहयोग गरेको उनले बताए ।

१० वर्ष पहिले पनि आफूले जिल्लामा सूर्यमुखी खेती गरेको र बीचका केही वर्ष खेती गर्न छाडे पनि यो वर्षबाट पुनः प्राङ्गारिक सूर्यमुखी खेती गरेको उनको भनाइ छ । ‘मैले २०३२ सालमा जिल्लामा ५० ग्राम गाँजर खेतीबाट कृषि सुरु गरेको हो । चितवन पछिल्लो समय गाँजर उत्पादनको व्यापक क्षेत्र पनि भयो तर, हाल यसको उत्पादन धेरै हुँदा बजार मूल्य नपाउने र लगानी पनि धेरै लाग्ने भएकाले मैले गाँजरको विकल्प दिन सक्ने नगदे बालीको रुपमा तेलन बाली लगाएको हुँ’, उनले भने ।

सूर्यमुखी खेती गर्दा धेरै लगानी गर्न नपर्ने भएकाले लगानी गर्न नसक्ने किसानले पनि यो खेती गर्न सकिने उनले बताए । यसरी प्राङ्गारिक सूर्यमुखी खेती गर्नाले किसानले राम्रो मूल्यमा उपभोक्तालाई स्वस्थकर तेल उपलब्ध गराउन सक्ने र मिसावट तेलको बजारलाई यसले नियन्त्रण गर्ने अधिकारीले जानकारी दिए । ‘पछिल्लो समय फूल फुल्न थालेसँगै यहाँ टिकट शुल्क रु एक सय तिरेर दैनिक टिकटक बनाउने, फोटो खिच्ने र घुम्न र खेतीबाली हेर्न पर्यटक आउन थालेका छन् र उनीहरु यहाँ आउँदा आनन्द महसुस गर्छन्’, उनले भने ।

अहिले यहाँ मह उत्पादनको लागि ६०/६५ मौरीको घार पनि राखिएको छ । जसको कारण मह पनि राम्रो उत्पादन हुने उनले बताए । कृषि ज्ञान केन्द्र चितवनकी कृषि अधिकृत सुरुची त्रिपाठीले चितवन र मकवानपुर गरेर दुई क्षेत्रमा सय हेक्टर जमिनमा तेलन बालीका लागि केन्द्रले सहयोग गरेको जानकारी दिए । उनले अरु क्षेत्रमा तेलन बालीअन्तर्गत तोरी खेती गरे पनि यहाँका किसान सूर्यमुखी खोतीमा इच्छुक भएकाले उनीहरुलाई केन्द्रले सहयोग गरेको बताए । यहाँका किसानले सूर्यमुखी खेती गर्दै जाँदा अन्य किसानलाई पनि प्रत्साहन मिल्ने उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL