Logo

कृषि कर्जा २० प्रतिशतले बढेपनि उत्पादन घट्यो, पर्यटक नआएपनि होटलको संख्यामा उल्लेख्य वृद्धि

कृषि कर्जा २० प्रतिशतले बढेपनि उत्पादन घट्यो, पर्यटक नआएपनि होटलको संख्यामा उल्लेख्य वृद्धि



काठमाडौं । लुम्बिनी प्रदेशको कृषि उत्पादनमा ४ दशमलव ३६ प्रतिशतको गिरावट आएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षको पहिलो ६ महिनामा उक्त प्रदेशको प्रमुख खाद्य वाली तथा अन्य बालीको उत्पादनमा गिरावट आएको हो ।

laxmi

नेपाल राष्ट्र बैंकले गरेको उक्त प्रदेशका १२ जिल्लाको सर्वेक्षणमा तरकारी तथा बागवानीको उत्पादनमा ०.८८ प्रतिशत र फलफूल तथा मसलाको उत्पादनमा ०.१७ प्रतिशतले गिरावट आएपछि समग्र खाद्य उत्पादनमा पनिे गिरावट आएको देखिएको हो । राष्ट्र बैंकको सर्वेक्षण प्रतिवेदनअनुसार उक्त अवधिमा दुधको उत्पादन १.१८ प्रतिशत र माछाको उत्पादन २३.४६ प्रतिशतले घटेको छ । यस्तै मासु, अण्डा र दाउराको उत्पादन भने क्रमशः ५, ७ र १६ प्रतिशतले बढेको हो ।

यसरी कृषि उत्पादनमा गिरावट आएपनि कृषि कर्जा विस्तारमा भने अघिल्लो बर्षको तुलनामा २० दशमलव २७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकको प्रतिवेदन अनुसार गत बर्षको पहिलो अर्धबार्षिक अर्थात पुस मसान्तसम्म कृषिकर्जा ३७ अर्ब ६२ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो कर्जा अघिल्लो बर्षको पुस मसान्तको तुलनामा २० प्रतिशतले बढि हो । यसमध्ये सबैभन्दा बढि कृषि कर्जा पश्चिम नवलपरासीमा प्रवाह भएको देखिन्छ । प्रतिवेदन अनुसार नवलपरासीमा उक्त अवधिमा ३ अर्ब १४ करोड २५ लाख रुपैयाँ कृषि क्षेत्रमा कर्जा प्रवाह भएको छ ।

औद्योगिक उत्पादनमा तोरीको तेल अगाडि

लुम्बिनी प्रदेशमा उद्योग क्षेत्रको उत्पादनमा केहीमा वृद्धि भएपनि केहीमा प्राय घटेको देखिन्छ । राष्ट्र बैंकका अनुसार प्रदेशमा सबैभन्दा बढि वृद्धि भएको औद्योगिक उत्पादनमा रोजिन, जिआई तार र तोरीको तेल रहेका छन् । जसमा क्रमशः १३८, ५१ र २५ प्रतिशतको वृद्धि देखिन्छ । यस्तै मदिरा उत्पादन पनि समिक्षा अवधिम अघिल्लो बर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । तर उक्त अवधिमा उक्त प्रदेशबाट उत्पादन हुने चाउचाउ, सिन्थेटिक कपडा र कागजको उत्पादनमा गिरावट आएको छ । लुम्बिनी प्रदेशका उद्योग क्षेत्रका अघिल्लो बर्षको तुलनामा औद्योगित क्षेत्रमा विस्तार हुने कर्जा भने २ दशमलव ८९ प्रतिशतले वृद्धि भई १ खर्ब १४ अर्ब २४ करोड रुपैयाँ प्रवाह भएको देखिन्छ ।

पर्यटक नआएपनि होटलको संख्यामा उल्लेख्य वृद्धि

लुम्बीनी प्रदेशमा गत आवको पहिलो अर्धबार्षिक अवधिमा सेवा क्षेत्रका होटल तथा लजहरुको संख्या १५ दशमलव २७ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो आवको सोही अवधिको तुलना प्रदेशमा पर्यटन आगमन ८४ प्रतिशतले घटेपनि होटल लजको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL